भौतिक विकास र मानवीय विकास परिपूरक हुन् 

राजनीति भाद्र २८ 2079 ekhabarnepal
Dr ghimire


डी.आर. घिमिरे
राष्ट्रिय जनगणना २०७८ अनुसार गत दश वर्षको अवधिमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १३.८९ प्रतिशत जनसंख्या थप भएको छ । यो प्रदेशभित्र रुपन्देही जिल्लामै सवैभन्दा वढी देखिन्छ । किनकि सबैभन्दा धेरै वार्षिक वृद्धिदर हुने जिल्लामा भक्तपुर पछि  रूपन्देही  जिल्ला आउँछ । 
 आखिरी यस्तो किन ? एकातिर रुपन्देहीको विकास पटक्कै भएन भनेर यहाँका केही राजनीतिकर्मी र वुद्घिजीविहरुले भनिरहेका छन् । बुटवलका मेयर खेलराज पाण्डेले त चुनावताक बुटवललाई बस्नयोग्य सहर बनाउने भनेर चुनावी नारा पनि बनाए । के साँच्चै बुटवल बस्नयोग्य नभएकै हो त ? अथवा चुनावमा खपत गर्ने नारा बनाएका हुन् ? 
बुटवललाई र समग्रमा रुपन्देहीलाई बाहिरी दुनियाले असाध्यै विकसित भन्छ । निर्माणका सन्दर्भमा दुःख भए होला । कतिपय काममा ढिला ढाला पनि भए होला । तर, यहाँका भौतिक संरचनाको विकास हेर्दा राजधानी बाहिर नेपालको कुनै पनि ठाउँसंग तुलना गर्न सकिदैन । यद्यपि यहाँ बसोबास गर्नेले खासै केही भएजस्तो देख्दैन, तर बाहिरबाट आउने जो कोही रुपन्देहीमा बस्नुलाई गौरबकै विषय सम्झन्छ । हो हरेक ठाउँ समस्यारहित हुँदैन । एकपछि अर्को समस्या आइनै रहन्छन् । अरु सवै हुँदा पनि प्राकृतिक प्रकोपले मानिसलाई अस्तब्यस्त पार्न सक्छ । जस्तो कि चुरेको पहिरो, तिनाउ दानव नदीको किनार क्षेत्र आदि आदि । सहरको  आसपासमा प्रायः सुकुम्वासी वस्ती हुने गर्छ । उनीहरुका समस्या थपिदै गएका हुन्छन् । वस्ती वढ्दै जाँदा खानेपानी, सञ्चार, विद्युतीकरण, रोजगारीजस्ता समस्याहरु आउँछन् र तिनको समाधान गर्दै जानुपर्छ । यसको अर्थ कुनै पनि ठाउँले पूर्णता पाउँदैन ।  
अर्कोतर्फ गरिवले विकासको अनुभूति पाएनन् भनेर पनि प्रश्न उठ्ने गरेको छ । गरिवले अनुभूति नगरेको भए किन यहाँ बसोवासका लागि आकर्षण छ त ? के धनी मात्रको बसोवास भएको हो ? यो पनि हैन । धनी, गरीव, सुकुम्वासी सवैका लागि आकर्षण हुनुको कारण जीविकोपार्जनका सम्भावनाले नै हो । ठूला आयोजनाहरुले समग्रतामा रोजगारी सृजना गर्दछ । जस्तो कि गौतमबुद्घ एयरपोर्ट । यसले धनीलाई ब्यावसाय गर्ने ढोका खोलेको छ । अर्थात् लगानीको वातावरण मनग्गे वनाएको छ । देशका जुनसुकै भागबाट विभिन्न ब्यक्तिहरु आएर तारे होटलमात्र  खोल्दै छैनन्, आवास गृह समेत् बनाउँदैछन् । उद्योग स्थापना गर्दैछन् । ब्यापार र सेवामूलक ब्यवसायको पनि आकर्षण वढेको छ । विभिन्न मुलुकबाट पर्यटकहरु सोझै सिद्घार्थनगरमा आउने भएका छन् । बुटवलमा एकै पटक दुईवटा केवलकार वन्दैछन् ।
भन्नेले भन्न सक्छ केवलकार धनीमानीका लागि मात्र हो । तर, यसले विभिन्न अवसर सृजना गर्ने भएकोले यो गरिबका लागि पनि हो । आधारभुत वर्गका लागि पनि हो ।
रोजगारीको कुरा गर्दा अहिले रुपन्देहीमा ६ वटा तारे होटल सञ्चालनमा छन् । ५ वटा निर्माणधीन छन् भने साना ठूला गर्दा ३ शय होटल छन् । अझै थपिने सम्भावना पनि छ । सामान्यतः एउटा तारे होटलले १२५ भन्दा धेरै ब्यक्तिलाई प्रत्यक्ष रोजगारी सृजना गर्दछ । अप्रत्यक्षको कुरा गर्दा किसानले खाद्यान्न, तरकारी, दुध दही, मासु, अण्डा विक्री गर्ने अवसर पाएको छ । होटलमा खपत हुने सावुन, टुथपेष्ट, ब्रस, हर्पिक, कपडा, जुत्ता, विद्युतीय सामाग्री लगायत् अनेक वस्तु खपत भएका छन् । तिनको उद्योग र ब्यापार दुवै चल्दा शयौं जनाले रोजगारी पाएका हुन्छन् । अहिले बुटवलमा होटललाई मात्र सामान उपलब्ध गराउने कैयौं पसल चलेका छन् ।  
बुटवलमा बनेको सभागृहलाई कसै कसैले राजधानीसंग जोडेर अब त्यसको के काम भनेर पनि तर्क गर्दै छन् । पहिलो कुरा त राजधानीको अवधारणा नआउँदै यसको आबश्यकता महसूस गरिएको हो । दोश्रो यो सभाहलका कारण ठूला कार्यक्रम गर्न बुटवल आउनै पर्ने बाध्यता सृजना भएको छ । तेश्रो अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र पनि बन्ने भएकोले हरेक महिना त्यस प्रकारका मेला प्रदर्शनी हुने छन् । जसबाट मनग्गे रोजगारी सृजना हुनेछ । सिद्घबाबामा बन्ने सुरुङ्ग मार्गले यात्रुको सुरक्षा मात्र गर्ने छैन, त्यसलाई अबलोकन गर्ने स्थानसमेत बनाउने छ । बेलवास–बेथरी अथवा वेलवास–नुवाकोट सडक पनि त्यस्तै सम्भावनायुक्त भएका सडक हुन् । बुटवलको सेमलारमा स्थापना हुने कृषि वजारको स्थापनाले देशका विभिन्न भागबाट कृषि उपज ल्याएर अन्तर्राष्ट्रिय वजारमा पुर्याउने अवस्था ल्याउँदा धेरै ठूलो रोजगारी सृजना गर्नेवाला छ ।  
तिनाउ– दानवमा वनेका पुलहरुलाई एकपटक हेरौं । यसले के प्रभाब पार्यो ? पहिलो बुटवल भनेको गोलपार्कदेखि चौराहासम्म मात्र हैन भन्ने कुरालाई साँचो अर्थमा स्थापित गर्यो । जग्गा भोगचलन गरेर निर्वाहमुखी खेती गरेर बसेका किसानको जीवनस्तर एकाएक वढ्यो । कनेक्टिभिटीले स्वतः जग्गाको मूल्य बढ्यो । कुनै वेला फर्साटिकर, अमवा, लुम्बिनी कति टाढा हुन्थे, अहिले नजदिक भएका छन् ।   वाहिरी क्षेत्रबाट आउनेले महंगो मूल्यमा जग्गा खरिद गर्दा स–साना उद्योग वा ब्यावसाय गर्न आबश्यक लगानीको श्रोत स्थानीय नागरिक आफैले जुटाउन सक्ने अवस्था सृजना भयो । पूँजीको अभावमा उद्यमशील हुन नसकेकाहरुले उद्यमशील वन्ने अबसर पाए । कुरा यति मात्र हैन सामान्य आर्थिक अवस्थाको ब्यक्तिले पनि छोराछोरीलाई डाक्टर इन्जिनियर पढाउन सक्ने भए । अरु प्रविधिक र गुणस्तरयि शिक्षा प्रदान गर्ने अवस्था पनि सृजना भयो । शिक्षा, स्वास्थ्य सवै कुरामा यही नियम लागु हुन्छ । यी सवै कुराले ब्यापक रोजगारी सृजना गर्छन् र गरिवहरुले रोजगारी पाउने अवस्था सृजना हुन्छ ।  
मोतिपुर औद्योगिक क्षेत्र बन्दा हजारौको रोजगारी सृजना हुनेछ । कुरा यति हो कि जनताका आवाजलाई सम्वोधन गरेर यथाशीघ्र वनाउनु जरुरी छ । जव देशी विदेशी ठूला उद्योग आउने छन् तिनले शयौंको संख्यामा रोजगारी सृजना गर्नेछन् । छिमेकी मुलुक चिनले यसरीनै रोजगारी सृजना गरेको हो । व्यापार वाणिज्य, उद्योगधन्दा, बिजुली, बाटोघाटो, खेतीपाती आदिमा चीनले भयानक परिवर्तन ल्याउन सक्यो । यसको अर्थ यो मात्र पर्याप्त हुँदैन तर, यो महत्वपूर्ण पक्ष अवश्यै हो । 
कल्पना गर्नुस् यी र यस्ता भौतिक संरचना नवनेको भए वसाई सराईको अवस्था यो तहसम्म हुने थिएन । यो तहसम्मको जनसंख्या वृद्घि नभएको भए त्यति विधि अवसर सृजना हुने थिएनन् । त्यसैले कतिपयले भनेजस्तै ठूला आयोजनाहरुले गरिवलाई के गर्यो भनेर नकारात्मक प्रश्न जसरी उठाएका छन् तिनमा तथ्यले साथ दिदैन । 
ठूला आयोजनाहरु वन्न ढिला हुँदो रहेछ । सडक चौडा गर्ने काममा एक दशक लाग्यो । सभाहल बन्न आधा लशक लाग्यो । कृषि उपजको तयारी विगत पाँच वर्षदेखि भएको छ, तर शुरु हुननै सकेको छैन । आयोजनाका लागि भन्न र वजेटमा लेख्न सहज हुन्छ तर श्रोतको सुनिश्चितता सवैभन्दा महत्वपूर्ण विषय रहेछ । यी सवै काम नेपथ्यमा भइरहेका हुन्छन् र पनि आम नागरिकले बुझ्न सकेको हुँदैन ।
के हो मानवीय विकास ?
 शिक्षा, स्वास्थ्य, सरसफाईमा हुने विकास मानव विकास हो । अर्थात् औसत आयु, साक्षरता तथा प्रतिव्यक्ति आयमा आधारित सूचकांकहरुको प्रयोगद्धारा निकालिने मानव विकास सूचकांकले मानिसको जीवनको गुणस्तरलाई देखाउँछ । 
यस अर्थमा ती क्षेत्रमा लगानी गर्नु भनेको मानव विकासमा लगानी गर्नु हो । यी मध्ये पनि मानव विकासका लागि सबभन्दा महत्वपूर्ण  भनेको शिक्षा क्षेत्र हो । यसको दीर्घकालिक प्रभाव हुन्छ । यस वीचमा लुम्विनी वौद्य बिश्वबिद्यालयलाई फराकिलो बनाइएको छ । यसले आफ्ना फ्याकल्टीहरु वढाएको छ । बुटवलमै बीटीटीएम, बीए एल एल वी, विकास अध्ययन, एग्रो फरेष्ट्री, वातावरण विज्ञान आदिको अध्ययन हुनु, शिक्षण अस्पतालको प्रक्रिया अगाडि वढ्नु, सरकारी विद्यालयहरु श्रोत साधन सम्पन्न हुदै जानु, प्राविधिक विषयको अध्ययन हुने ब्यवस्था हुनु, लुम्विनी प्रादेशिक अस्पतालको स्तरोन्नति हुने प्रक्रियामा हुनु (ठेक्का प्रक्रियामा अनियमितता नभएको भए यतिवेला शुरु हुने थियो), खानेपानी, सरसफाईजस्ता काम पालिकास्तरमा अगाडि वढ्नु मानवीय विकासका सूचक हुन् । शायद यसैले त होला मानवीय सूचकांको हिसावले रुपन्देही जिल्ला अब्वल नै मानिन्छ । 
मानव विकास सूचकांक अनुसार नेपाल अहिले विश्वमा मध्यम मानव विकासको स्तरमा छ र २०२२ मा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने सम्भावना देखिएको थियो । जसका लागि प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचक र आर्थिक जोखिम सूचकमा तोकिएको मापदण्ड पार गरेको हुनुपर्छ । 
नेपालले औसत आयु र साक्षरतामा राम्रो सुधार गरेको तथ्यहरुले प्रमाणि गरेकै छन् । लैंगिक विकास सूचकांक र लैंगिक असमानता सूचकांकमा नेपाल दक्षिण एसियाका केही देशभन्दा अगाडि छ । बरु नेपालको समस्या ग्रामिण र शहरी क्षेत्र तथा प्रदेशहरुबीचको मानव विकासको स्तरमा असमानता हुनु हो । जसका लागि अबका दिनमा उत्पादन, उत्पादकत्व बढाउन ध्यान दिने, उद्यमशिलता क्षमता र उत्पादनसँग सम्बन्धसहित संस्थागत क्षमता सुदृढिकरणमा जोड दिन जरुरी छ । प्रति ब्यक्ति आम्दानी वढाउन र आयातलाई प्रतिस्थापन गर्न उपर्युक्त कार्यले सहयोग पुग्नेछ । शिक्षामा मध्यमस्तरको प्राविधिक जनशक्ति उत्पादनमा जोड दिन सक्दा उत्पादनमा वृद्घि हुन सक्छ । भौतिक पूर्वाधारले उत्पादनका साधन छिटो र सरलतासाथ उपलब्ध हुन जान्छन् । उत्पादन क्षमतामा वृद्धि हुन जान्छ र प्रति ब्यक्ति आम्दानी वढाउन पनि यो अत्यावश्यक छ । त्यसैले साधनको रुपमा भौतिक पूर्वाधारमा लगानी गर्दा साध्य प्राप्त हुने तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन ।
२०७९ भदौ २६ 


 

प्राप्त प्रतिकृयाहरू

To Top