मुक्तिनाथ मन्दिरमा पञ्चजन्य शंख वन्दै

समाज असार २९ 2079 ekhabarnepal
Muktinathdham shankha

डी. आर. घिमिरे
आज गुरुपूर्णिमाको दिन नयाँगाउँस्थित मुक्तिनाथ मन्दिरमा पञ्चजन्य शंख जसलाई नारायण भगवानको पृय आभुषण भनिन्छ को बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले शिलान्यास गर्नुभएको छ । २०७५ सालमा हामी चिनको भ्रमण गर्दा शंखबाट पनि पर्यटक आकर्षण गर्न सकिने रहेछ भन्ने मलाई लागेको थियो र त्यतिवेलै देखि नेपालमा पनि यो काम कसैले गरे हुने थियो जस्तो लागेको थियो, संयोग आज बुटवल–१२ नयाँगाउँस्थित मुक्तिनाथ मन्दिरमानै शिलान्यास भयो ।


चिनको गान्सु प्रदेशमा पर्यटकलाई आकर्षण गर्ने एउटा माध्यम शंखलाई वनाइएको रहेछ । गान्सु प्रदेश  चीन र मध्य एशियाको बीचको तत्कालिन अवस्थामा महत्वपूर्ण कोरिडोर थियो । यही क्षेत्रमा रेशम सडकको १६०० किलोमिटर खण्ड पर्दछ । भनिन्छ यो प्रान्तलाई त्यस अन्तर्राष्ट्रिय मार्गको “सुन क्षेत्र“ मानिन्थ्यो । यसै प्रदेशको पर्यटकीय क्षेत्रमा एक दिन हामीहरू घुम्यौं । भेंँडा–चौरी पाल्ने ठाउँ अर्थात् करिव ४ हजार उचाइको क्षेत्रमा घुमघाम गरियो । असाध्यै सुन्दर घाँसेमैदान थियो । त्यस्तो पहाडी क्षेत्रमा कसरी घाँस उम्रने रहेछ भन्ने जिज्ञासा मनमा लागिरह्यो । त्यो क्षेत्रमा मौरी पालन गरेको पनि देखियो । र त्यहाँको एउटा टापुमा शंख पनि थियो । जहाँ हामीहरु गयौं र फोटो खिच्यौं ।


अहिले नेपालको सल्यान स्थित छत्रेश्वरी गाउँपालिकाको शंखमुलमा पनि नेपालको सबै भन्दा ठूलो आकृतिको शंखको निर्माण पूरा भई यही चैत ६ गते उद्घाटन गरिएको छ । जसको नाम शंखपार्क राखिएको छ । यद्यपि यस पार्कमा अन्य चिजहरु पनि वनाइएको छन् । १ करोड ६० लाख रुपैयाँमा निर्माण गरिएको शंख पार्कमा शिव पार्वतीको मूर्ति, पानीको फोहोरा, पौराणिक कालको झल्को दिने झुपडी, चौतारा लगायतका पूर्वाधार निर्माण गरिएको छ । जुन पार्क राप्ती लोकमार्गदेखि करिव चार सय मिटर उत्तर पश्चिममा अवस्थित छ । 
शंखमुलमा रहेको कुण्डमा महादेव नुहाएर कैलाश जाँदा कुण्डमा शंख बिर्सेका कारण उक्त कुण्ड शंखमुल रहन गएको धार्मिक विश्वास रहेको छ । कुण्ड र मन्दिर पुरानै जीर्ण अवस्थामा रहेकाले फेरि मर्मत सम्भार गरी राम्रो वनाइएको छ । यहाँ आउनेहरु विशेष गरेर शंख र कुण्डमा पूजा गर्ने गर्दछन् ।  
हिन्दुधर्ममा शंख वा शंखध्वनीको निकै महत्व छ । बिहानको पूजापाठ होस् वा कुनै धार्मिक कार्यक्रम शंखध्वनीबाट शुरु हुन्छ । शुभ कार्यमा मात्र होइन, मानिस मरिसकेपछि एकोहोरो शंख बजाउँदै घाटमा लैजाँदै गरिन्छ । शास्त्र अनुसार समुन्द्र मन्थनका बेला चौध रत्न प्राप्त भएको थियो । जसमध्ये शंख एक थियो ।
सोही बेलाबाट हिन्दु धर्ममा शंखको खास महत्व रहन गयो । शंखलाई माता लक्ष्मी र भगवान विष्णुले धारण गरेको विश्वास गरिन्छ । शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने तथा धर्तीलाई जागृत गराउँने मान्यता पनि छ ।
महाभारत तथा धार्मिक ग्रन्थहरुका अनुसार कृष्णसँग पाञ्चजन्य नामको शंख थियो । त्यसैगरी अर्जुनसँग देवदत्त,युधिष्ठिरसँग अनन्तविजय, भीमसँग पौंड्रक,नकुलसँग सुघोष तथा सहदेवसँग मणिपुष्पक नामका शंख थिए ।
यी पात्रबाहेक अरू सबैजसो योद्धाहरूसँग आआफ्नै शंख हुन्थे । ती सबै शंखको महत्व एवं शक्ति फरक–फरक रहेको भनिन्छ । शंखलाई विजय, समृद्धि, सुख, शान्ति, यश, कीर्ति एवं लक्ष्मीको प्रतीक मानिएको छ ।
शंख समुन्द्रमा पाईने जलचर (शंखेकिरा)ले बनाएको कडा आवरण हो । हिन्दु धर्ममा अति पवित्र मानिने शंख धर्मको प्रतिक हो ।
शुभ कार्य गर्दा बजाईने शंखले ध्वनी तथा वरिपरीको वातावरण शुद्ध पार्दछ भने वातावरणमा भएका किटाणुहरुको विनाश गरि अत्याधिक मात्रामा सकारात्मक उर्जा प्रवाह गर्दछ भन्ने कुरा ऋग्वेदमा उल्लेख गरिएको छ ।
मलामी जाँदा “एकोहोरो” शङ्ख बजाइन्छ जसले शरीरमा भएका किटाणु वातावरणमा नफैलियोस् र वातावरणमा भएका किटाणुहरुबाट मृत शरीरमा आक्रमण हुन नदिनको लागि शङ्ख बजाइन्छ । अझ शङ्खको एकोहोरो ध्वनिले धेरै मात्रामा प्रभाव गर्ने भएकोले एकोहोरो शङ्ख बजाइन्छ । शङ्ख बजाउनाले मुटु, श्वास–प्रश्वास, दम तथा पेटसम्बन्धी रोगहरु लाग्दैन र घरको वास्तु दोष ठीक गर्छ भनेर पनि भनिन्छ ।
चिना तथा कुण्डलीमा बृहस्पती ग्रह निष्कृय वा कमजोर छ भने दैनिक पूजा गरि शंख बजाउनाले बलियो हुने विश्वास गरिन्छ ।
स्वास्थ्यका हिसावले शंखमा पानी संचित गरेर त्यसलाई पिएमा शरीरमा क्याल्शियम, फस्फोरस प्राप्त हुने, शंखबाट प्राप्त हुने तत्वले हड्डी तथा दाँतमा लाभ पुर्याउने, कब्जियत हुनेहरुले शंखमा पानी भरेर बिहान खाली पेटमा सेवन गरे कब्जियत निको हुने, एक रात शंखमा राखेको पानीले आँखा धोएमा आँखाको रोगबाट मुक्ति मिल्ने, शंखमा राखिएको पानीले अनुहारमा मसाज गर्दा प्राकृतिक चमक आउने, शंखमा राखिएको पानीमा गुलाबजल मिसाएर कपाल धोएमा बलियो, मुलायम र बाक्लो हुने यसका अन्य फाइदा हुन् ।
 

प्राप्त प्रतिकृयाहरू

To Top