बुटवल, असार १७
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्सवादी लेनिनवादी) प्रदेश संगठन कमिटी, लुम्बिनीको विहीवार वसेको सचिवालयको बैठकले ९ बूदे प्रस्ताव पारित गर्दै सत्ता, शक्ति र सरकारी साधन स्रोत समेतको चरम दुरुपयोग तथा चौतर्फी घेराबन्दीका बाबजुद स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई विजय हासिल गर्न जनताले दिएको लोकप्रिय मतले नेपालको राजनीतिक रंगमञ्चमा नेकपा (एमाले) प्रमुख शक्तिको रुपमा स्थापित हुनुका साथै सिट संख्याका हिसावले दोस्रो शक्तिको रुपमा स्थापित गरेकोमा बैठकले आम मतदाता तथा नेता कार्यकर्ताप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
निर्वाचनका क्रममा थवाङ्ग गाउँपालिका रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले प्रदेश कमिटी सदस्य बिनोद रोक्का मगर समेतलाई आक्रमण गरेको घटनाप्रति भने वैठकले खेद प्रकट गर्दै घाइतेहरुको शिघ्रस्वास्थ्य लाभको कामना गरेको छ ।
प्रचार विभाग प्रमुख डी.आर. घिमिरेका अनुसार पार्टी केन्द्रीय कमिटी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज कमरेड छविलाल बिश्वकर्माको प्रमुख आतिथ्यता र कमिटीका अध्यक्ष कमरेड राधाकृष्ण कडेलको अध्यक्षतामा बुटवलमा सम्पन्न बैठकले दलाल पुँजिपतीहरुको घेराबन्दीमा परेको यो सरकारले आगामी वर्षको बजेट योजना तयारीमा आवश्यक गोपनीयता र संवेदनशलिता समेतलाई किन्चित ख्याल नगरी खुलमखुला अनाधिकृत ब्यक्तिहरुलाई बजेट निर्माणमा संलग्न गर्ने र ऊनीहरुकै इशारामा बजेट, नीति र कार्यक्रम प्रस्तुत गर्ने गैरजिम्मेवार अर्थमन्त्रीको राजिनामा माग गरेको छ ।
त्यस्तै प्राकृतिक प्रकोपबाट हुने क्षति रोकथामका लागि सडकदेखि सदनसम्म पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकारको असक्षमता, जनताप्रतिको गैरजिम्मेवार नीति र ब्यवहारका कारण प्राकृतिक प्रकोपबाट धेरै जनधनको क्षति हुन गएकोमा बैठकले सरकारको नालायकिपन र अक्षमताको घोर निन्दा भत्र्सना गर्दै प्राकृतिक प्रकोपबाट आहत नागरिकहरुको अविलम्ब उद्धार, राहत र उचित क्षतिपूर्ति दिन जोडदार माग गरेको छ ।
वैठकले लुम्बिनी प्रदेश सरकारको जनविरोधी क्रियाकलापको भण्डाफोर गर्दै प्रदेश संसदमा नीति, बजेट र कार्यक्रम बनाउँदा देखिएको गैरजिम्मेवारी ब्यवहार र पूर्ववर्ती सरकारले अगाडि बढाएका कार्यक्रमहरु कटौती गरिएकोमा भत्र्सना गरिएको छ ।
त्यस्तै किसानहरुलाई अत्यावश्यक मलखाद उपलब्ध गराउने काममा सरकारले बेवास्ता र शैक्षिकसत्र सुरु भइसक्दा समेत विद्यार्थीहरुलाइ पाठ्यपुस्तक उपलब्ध गराउन नसकेकोमा सरकारको घोर निन्दा र भत्र्सना गर्दै अविलम्ब आवश्यक मल तथा बिउ बिजन उपलब्ध सहज रुपमा उपलब्ध गराउन माग गर्दै पेट्रोलियम पदार्थमा भएको चर्काे मुल्यवृद्धिको रोक्न र घटाउन पनि जोडदार माग गरिउको छ ।
त्यस्तै नेकपा (एमाले) र यस क्षेत्रका जनप्रतिनिधिहरुको सक्रियता, लुम्बिनी प्रदेशका जनताको सहभागितामा करिव सम्पन्न हुन गइरहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रदर्शनी स्थल निर्माण भइरहेको बुटवल मण्डपलाई जनताको भावना विपरित अमुक नेताको नामबाट बुटवल मण्डपको पुनः नामाकरण गर्ने कार्यकोे घोर निन्दा भत्र्सना गर्र्दै जनताको भावनात्मक सम्बन्ध स्थापित भएको बुटवल मण्डपलाई नै निरन्तरता दिन बैठकले माग गरेको छ ।
बैठकमा पार्टी पोलिटब्युरो सदस्य तथा प्रदेशका सहइन्चार्ज दलबहादुर राना, बैजनाथ चौधरी, लिला गिरी, खिमलाल भट्टराई, खेममान खड्का, बिमला घिमिरे, पोलिटब्युरो सदस्य ठाकुर गैरे, सूर्य थापा, केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज लक्ष्मण ज्ञवाली, केन्द्रीय कमिटी सदस्य तथा इन्चार्ज इन्चार्ज र सहइन्चार्जहरुको उपस्थिति थियो ।
बैठकले पार्टीको सांगठनिक कामलाई चुस्त दुरुस्त वनाउनका लागि महत्वपूर्ण निर्णय गरेको छ । जस अनुसार श्रावण मसान्तभित्र सम्पन्न गर्ने गरी पार्टी सदस्यता नविकरण, डिजिटल अपडेट तथा नयाँ सदस्यता प्रदान गर्नका लागि प्रदेश र जिल्ला कमिटीहरुलाई निर्देशन गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश स्तरको मोर्चा संगठनको बैठक श्रावणको पहिलो हप्ताभित्र र जिल्ला स्तरका मोर्चा संगठनहरुको बैठक श्रावण महिनाको दोस्रो हप्ताभित्र गर्न विभागहरु र सल्लाहकार परिषदको बैठक श्रावण महिनाको तेस्रो हप्ताभित्र सम्पन्न गराउने निर्णय गरेको छ । निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु गरेको हुँदा सबै जिल्लाहरुले आवश्यक योजना बनाई पालिका, वडा र टोललाई क्रियाशिल बनाई असार मसान्तभित्र प्रभावकारी ढंगले मतदाता नामावली थप गर्ने, सच्चाउने र स्थानान्तरण गर्ने काम गर्न वैठकले निर्देशन गरेको छ ।
बैठकले निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्दै पालिका स्तरमा स्थानीय तह दल निर्माण गरी दलको नेता र उपनेता चयन गर्ने, कम्तिमा बर्षको २ पटक अनिवार्य दलको बैठक आयोजना गर्ने र सम्बन्धित पालिकाको समस्याका बारेमा आवश्यक छलफल गर्न गराउन निर्देशन गरेको छ ।
त्यस्तै जिल्ला स्तरमा पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुलाई सहभागी गराई आगामी श्रावण २० गतेभित्र अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकले लुम्बिनी सन्देश प्रकाशित गर्ने निर्णय गर्दै आश्विन मसान्तभित्र लुम्बिनी सन्देश प्रकाशन गर्न प्रदेशको प्रचार विभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
प्राप्त प्रतिकृयाहरू