झण्डै १० अरव आयात विस्थापित गर्दै आधुनिक आलु उद्योग 

अर्थ असार १४ 2079 ekhabarnepal
1.1

 

डी.आर.घिमिरे 
नेपालको सवैभन्दा ठूलो आलु उद्योग अर्थात्े फ्रेन्च फ्राई उत्पादन गर्ने उद्योगले अबको ४ महिनामा उत्पादन सुरु गर्दैछ । नेपालमै मासुलाई आधुनिकीकरण गरेर नमुना उद्योगी बनेका बुटवलका कृष्ण पौडेलले नयाँ उद्योगको रुपमा FCF( फर्स्ट च्वाइस फुड्स) उद्योग शुरु गर्दैछन् । गत वर्ष देखिनै यो ठाउँलाई हेर्ने इच्छा लागेको थियो । उद्योगपति पौडेलले २०५८ मा बुटवलको सुखानगरमा मासु उद्योग शुरु गर्दा नयाँ प्रकारकै थियो र सम्भवतः पहिलोपटक मैले समाचार लेखेको थिएँ । म उपभोक्ता हित संरक्षण मञ्चमा आबद्व भएका कारणले वजारमा मासु बिक्री गर्नेहरुले असाध्यै फोहोर मासु बिक्री गर्दथे । यिनले नयाँ तरिकाले व्यवसाय शुरु गरे । स्व. नर्वु लामा, तेजप्रसाद पाठक, श्याम पाठक र मसमेतले अवलोकन गरेपछि प्रभावित भयौं र मैले एउटा फिचर लेखेंको थिएँ ।
आज तिनै कृष्ण पौडेलले फेरि नयाँ चमत्कार गर्न थालेका छन् । समृद्विका लागि कुरा हैन काम गर्नुपर्ने छ । जुन काम रुपन्देही जिल्लाको शुद्वोधन गाउँपालिका मैनिहवामा शुरुवात हुँदैछ । करीब २ अरबको लागतमा शुरु हुन थालेको नेपालको पहिलो पूर्ण स्वचालित र वातानुकुलित यो उद्योगको अवलोकन गर्ने अवसर जुर्यो ।   


अबको ४ महिनामा जर्मन प्रविधिमा आधारित यो उद्योगले उत्पादन सुरु गर्ने छ । यस उद्योगको उत्पादन क्षमता प्रति घण्टा २००० केजी रहेको र  प्रत्यक्ष १५० जनाभन्दा बढीलाई रोजगारी दिने छ भने आ.ब.०७६÷०७७ लाई आधार मान्दा नेपालको वार्षिक करिब रु ६ देखि ७ अर्बको आयातलाई घटाउने छ । यो संख्या वढेर अहिले १० अरव पुगेको अनुमान छ । अनौपचारिक अर्थात् विना भन्सार आउनेलाई हिसाव गर्दा १५ अरब हुनसक्छ । उनलाई चिन्ता के छ भने जव उत्पादन हुन शुरु गर्छ अहिले जुन भन्सार दरमा फ्रेन्च फ्राईको आयात भएको छ कतै यो दरमा घटाउने खेल त हुँदैन ? भरसक भन्सार दर बढाइयोस् नभए यथास्थितिमा राख्नुपर्यो ।


नेपालमा नयाँ काम गर्न सहज छैन । फ्रेन्च फ्राईको लागि आलुको साइज ठूलो हुनुपर्छ । यसका लागि उनले टर्कीमा गएर अध्ययन गरे र जर्मनबाट मेसिन आयात गरे । ठूलो आलुको साइज हल्याण्ड र भारतमा पाउँदो रहेछ । सो बीउ ल्याउन कानुनी हिसावले नपाइने रहेछ । नार्कले अनुसन्धान गरेर प्रक्रिया पूरा गर्दा ५ वर्ष लाग्ने रहेछ । त्यतिवेला सम्म उनको उत्साह सकिन्छ । त्यसैले लुम्विनी प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेलसंग उनले गुहार मागे । यसलाई उनले असाध्यै सकारात्मक ढंगले लिए र भने—भन्सारसम्म ल्याउनुस् त्यसपछि उपाय निकालौंला । पौडेलले त्यही गरे र गत वर्ष करिव १ शय टन बिउ ल्याएर परीक्षण गरे ।
नेपालमा धेरै राम्रो भयो । हल्याण्डबाट आएका प्राविधिकहरु छक्क परे । हाम्रोमा भन्दा राम्रो लाग्यो भन्दै नेपाली विशेषज्ञहरुको प्रशंसा गरेर फर्के । नेपालमा हाल १ क्वीन्टल बिउबाट १२ देखि १४ क्वीन्टल फल्ने गरेकोमा यो बिउ १८ क्वीन्टल फल्यो । अर्थात् डेढ गुणा वढीसम्म । वजार मूल्य भन्दा वढीमा खरिद गर्ने ग्यारेन्टी उद्योगले लिन्छ । यसबाट किसानहरु खुशी हुनेनै भए । त्यसमा पनि बिउ,मल र प्राविधिक सहयोग सवै उद्योगले गर्ने भयो । 
गतवर्ष रुपन्देही लगायत् काभ्रे, चितवन, वर्दिया, पाल्पा,र राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रम खुमलटारमा यसको परीक्षण भइसकेको छ । यो वर्ष अन्य जिल्लासमेत गरी ६ शय टनभन्दा वढी बिउवाट उत्पादन गरिने छ । अर्थात् गत वर्ष ५ शय किसानले उत्पादन गरे भने यो वर्ष ४ देखि ५ हजार किसानले ७ देखि ८ शय विगाहामा खेती गर्दैछन् । 


माघबाट उत्पादन गर्ने लक्ष्य अनुरुप उद्योग स्थापनाको तयारी भएको छ । माघबाटै उत्पादन गर्दा पनि यो वर्ष ५ हजार टन उत्पादन गर्ने आलु विशेषज्ञ डा.श्यामप्रसाद ढकालको अनुमान छ । आगामी वर्षदेखि १० हजार टन उत्पादन हुनेछ र क्रमिक रुपमा बृद्वि हुँदै जाने छ ।
यो उद्योगले फ्रेन्च फ्राई मात्र हैन आलुका फ्रोजन फुडमध्ये नुडल्स, चिप्स, स्टार्च, आलुपरौठा, समौसा लगायत तीन दर्जन उपभोग्य वस्तु उत्पादन गर्ने छ । अचम्म के छ भने यहाँ उत्पादित आलुमा सुगर हुनेछैन । अर्थात् सुगर रोगीलाई समेत खानयोग्य हुनेछ ।
यो उद्योगको अवलोकन पश्चात् पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगलाई अफ्टेरो परेका विषयमा सहजीकरण गर्ने मात्र हैन आफु यस उद्योगको एम्वेशडर भएर काम गर्ने प्रतिवद्वता ब्यक्त गर्नुृभयो । कुनै वेला मासुवाला कृष्ण भनेर पहिचान वनाएका कृष्ण अहिले ६०,००० बर्गफिटमा फैलिएको निर्यातजन्य उद्योगी भनेर पहिचान बनाउँदैछन् ।

 

प्राप्त प्रतिकृयाहरू

To Top