बजेटको प्राथमिकतामा कृषि क्षेत्र, किसानलाई पेन्सन, बाँझो जमिन ‘लिज’मा   ‘कृषि उत्पादनको वर्ष’ मनाइने

अर्थ जेठ १५ 2079 ekhabarnepal
Janardan sharma

काठमाडौं ,जेठ १५ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरिरहेका छन् । उनले आफ्नो बजेटको पहिलो प्राथमिकता कृषि क्षेत्रको रुपान्तरण रहेको बताए ।

शर्माले बजेटका विभिन्न प्राथमिकताहरु प्रस्तुत गर्दा कृषिलाई पहिलो नम्बरमा राखेका हुन् ।

उनले भने, ‘कृषि क्षेत्रको रुपान्तरण सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कामलाई पहिलो प्राथमिकतामा राखेको छु ।’
सरकारले आगामी वर्षलाई ‘कृषि उत्पादनको वर्ष’ का रूपमा मनाउने भएको छ । नेपालमा नै कृषि उत्पादन वृद्धि गर्नका लागि सरकारले कृषि उत्पादन वर्ष मनाउन लागेको हो ।

अब किसानलाई पनि पेन्सन 

सरकारले किसानको पेन्सनका लागि बजेट छुट्याएको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वाचनका क्रममा १ अर्ब रुपैयाँ छुट्याइएको बताएका छन्। 
उनले यो रकममा हरेक वर्ष १० प्रतिशत थप गर्दै जाने पनि जानकारी दिएका छन्।  सरकारले पहिलो पटक किसान पेन्सनका लागि बजेट विनियोजन गरेको हो। 
किसान हित कोषमा किसानले जम्मा गर्ने रकमको १० प्रतिशत रकम थप दिने पनि शर्माले बताएका छन्। 

कृषि उत्पादन कार्यक्रम लागू गर्न १० अर्ब विनियोजन

सरकारले कृषि उत्पादन कार्यक्रम गर्न लागू गर्न १० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले संघ, प्रदेश र स्थानीय तहमा कृषि उत्पादन कार्यक्रम लागु गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । साथै उनले कृषि उत्पादनको समर्थन मूल्य तोकिने पनि जानकारी दिए ।

 बाँझो जमिन ‘लिज’मा उपलब्ध गराइने

 सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेको छ ।
बजेटले बाँझो जमिनलाई स्थानीय तहको संयोजनमा कृषि सहकारीलाई ‘लिज’मा उपलब्ध गराउने व्यवस्था उल्लेख छ । कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेटले सबै स्थानीय तहमा स्नातक गरेका कृषि प्राविधिक र सबै वडामा प्राविधिकको व्यवस्था गर्ने जनाइएको छ ।

यसका लागि कृषिमा अध्ययनरत विद्यार्थीलाई सहभागी गराइने छ । गुणस्तर बीउबिजनमा आत्मनिर्भर बनाउने कार्यक्रमसमेत बजेटमा उल्लेख छ ।

कुखुरालगायत पशपक्षीको खोप आयातमा सहजीकरण गर्ने व्यवस्था गरिने अर्थमन्त्री शर्माले बताए । कृषि खाद्य प्रविधि र पशुपक्षी रोग प्रयोगशालालाई पूर्वाधारयुक्त, गुणस्तरीय र नगदेबाली खेती गर्न किसानलाई पेरित गरिने बजेटमा उल्लेख छ ।

आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top