बुटवलको प्रमुखमा गठबन्धनबाट खेलराज पाण्डे, उपप्रमुखमा एमालेकी सावित्रा अर्याल

राजनीति जेठ ७ 2079 ekhabarnepal
Btl

बुटवल, जेष्ठ ७  । बुटवल उपमहानगरपालिकाको  प्रमुख पदमा ५ दलीय गठबन्धनको प्रतिनिधित्प गर्दे नेपाली काँग्रेसका खेलराज पाण्डे विजयी भएका छन् ।  
 यसअघि २०७४ सालको निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २३ सय मत अन्तरले पराजित पाण्डेले यसपटक जित हात पार्न सफल भएका हुन् ।
 पाण्डेले ३० हजार १३० मत प्राप्त गरेका छन् भने एमालेका भट्टराईले २२ हजार ५९६ मत प्राप्त गरे । पाण्डेले निकटतम प्रतिद्वन्दिभन्दा ७ हजार ५३३ मत बढी लिएका छन् ।  यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट प्रमुख पदका उम्मेद्वार मृगेन्द्र शेरचनले ४ हजार २९७ मत प्राप्त गरे ।

बुटवलको उपप्रमुख पदमा भने गठबन्धनलाई पराजित गर्दै एमालेकी सावित्रा अर्यालले भारी मतान्तरले जित हासिल गरिन । अर्यालले २४ हजार ९०४ मत प्राप्त गर्दा गठबन्धन दलको तर्फबाट नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले १६ हजार ९८० मत प्राप्त गरे । अर्यालले गठबन्धनका उम्मेदवारभन्दा ७ हजार ९२४ मत बढी प्राप्त गरेकी छन् । यसैगरी राप्रपाको तर्फबाट उपमेयर पदकी उम्मेद्वार भगवती पाण्डेले ६ हजार ५२९ मत प्राप्त गरिन् ।
१९ वडा रहेको बुटवलमा ११ वटा वडा काँग्रेसले जितेको छ भने ५ वटा वडा एमालेले जितेको छ। बुटवलमा माओवादी केन्द्रले १, नेकपा एकीकृत समाजवादीले १ र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेका छन्। वडा नं.४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ काँग्रेसले जितेको छ। जसमध्ये ४ मा नरिश्वर शर्मा, ५ मा हरिप्रसाद श्रेष्ठ, ६ मा लोकनाथ न्यौपाने, ७ मा पदमराज गाहा, ८ मा यज्ञप्रसाद पंगेनी, ९ मा प्रदिपकुमार श्रेष्ठ, १२ मा डिल्लीप्रसाद शर्मा उपाध्याय, १३ मा नारायणप्रसाद पुन, १५ मा शिव राना, १६ मा कृष्णप्रसाद पौडेल र १७ मा ज्ञानबहादुर रेश्मी विजयी भएका छन्। 

त्यस्तै एमालेले १०, ११, १४, १८ र १९ वडा जितेको छ। एमालेले जितेको वडा नं.१० को अध्यक्षमा बलबहादुर पुन, ११ को अध्यक्षमा रामचन्द्र क्षेत्री, १४ मा दधिराम न्यौपाने, १८ मा गुरुप्रसाद पंगेनी र वडा नं. १९ को अध्यक्षमा चन्द्रसिंह थापा मगर निर्वाचित भएका छन। वडा नं. १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी भए। उनले काँग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए। 

वडा नं.२ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य र वडा नं ३ मा पनि गठबन्धनबाट माओवादी केन्द्रका विष्णु ढकाल विजयी भएका छन्। ढकाल रुख चिन्हबाट निर्वाचित भए।

प्राप्त प्रतिकृयाहरू

To Top