‘साइनो अनुसारको ढोग तथानमस्ते’ लेखेको बाबुरामको हाते चिठ्ठी घरघरमा

राजनीति बैशाख २६ 2079 ekhabarnepal
Lett

बुटवल २६ बैशाख । ‘प्रिय.......कुशल छु ,सपरिवार कुशल हुनुहुन्छ भन्ने कामना गर्दछु’ । बुटवल उपमहानगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार बाबुराम भट्टराईको चिठ्ठी पढेर दीपनगरका कमलबहादुर थापा भावुक भए । २०४६ साल अघिदेखि संगै राजनीति गरेका सहकर्मी बाबुरामका हस्त लिखित अक्षर उनले सजिलै चिने । ‘चिठ्ठीमा लेखिएको सम्बोधन र ब्यहोराले बाबुरामप्रति माया र सम्मानमात्रै बढेन भूमिगत कालको स्मरण भयो’ —थापाले भने । 
‘हामी पुराना जमानाका मान्छे, भूमिगत कालमा यसरी पत्र पठाउने र जवाफ कुरेर बस्ने प्रचलन थियो,यस्ता चिठ्ठी देखेपछि त्यही बेलाको याद आउंछ’—उनले भने । 
भूमिगत कालमा विशेष राजनीतिक योगदान पुर्याएका बाबुराम भट्टराइले आफ्नै हातले लेखेको पत्र अहिले चर्चामा छ । उनले लेखेको यो पत्र आम मतदाताले मन पराएका छन् । भट्टराइले सहकर्मी र आफन्तलाई अलग–अलग सम्वोधन गरेको पत्र पठाएका छन् । उनले सहकर्मीहरुलाई ‘प्रिय...’र आफन्त तथा आम मतदातालाई ‘श्री...साइनो अनुसारको ढोग तथा नमस्ते’ लेखेका छन् । 
उनले आफ्नो पत्रमा ‘हाम्रो बटौलीलाई तपाई हामीले सोंचे जस्तो सुन्दर,शान्त,हराभरा र ब्यवस्थित शहर बनाउने तपाई र हाम्रो चाहना पुरा गर्न यसपटक सूर्य चिन्ह लिएर उम्मेदवारी दिएको छु’ भन्ने ब्यहोरा उल्लेख गरेका छन् । बच्चै देखि बुटवलको मुटुमा बसेर यो शहरलाई राम्रोसंग चिनेका कारण केही गर्न सक्छु भन्ने लागेको उल्लेख गर्दै यो छोटो अवधिमा राम्रोसंग भेटघाट र कुराकानी हुन नपाएकाले यही चिठ्ठीमार्फत साइनो गांस्दै म र मेरो सम्पूर्ण टिमलाई अमूल्य मत दिनुहुन अनुरोध गर्दछु भनेका छन् । 
भट्टराइले लेखेको उक्त चिठ्ठी नेकपा एमाले नगर कमिटीले प्रत्येक मतदाताका घरमा पुर्याउंदै छ । मंगलवार सांझ सम्म सवै मतदाताका घरमापत्र पठाइसक्ने योजना रहेको एमाले बुटवल नगर अध्यक्ष किशन ज्ञवालीले बताउनुभयो । 
‘आधुनिक जमानामा पनि उम्मेदवारले आफ्नै हातले लेखेको चिठ्ठी पाएपछि मतदातालाई मन छोएको महसुस गरेका छौं’—अध्यक्ष ज्ञवालीले भने । बुटवलका पुराना ब्यवसायी भट्टराईले ३२ सालदेखि औषधि ब्यवसाय गर्दै आएका थिए । उनी स्वास्थ्यकर्मी समेत थिए । भूमिगत कालमा उनका घरमा मदन भण्डारी,जीवराज आश्रित, केपी शर्मा ओली,बामदेव गौतम लगायतका नेताहरुले आश्रय लिन्थे । बिपन्न, गरिब तथा असहायहरुको उपचारमा सहयोग गर्दै आएका भट्टराइलाई बुटवलका ब्यवसायीले सहयोग गर्ने प्रतिबद्धता जनाउंदै आएका छन् । 
 

प्राप्त प्रतिकृयाहरू

To Top