तिनाउमा बन्ने आकर्षक सिग्नेचर पुलको डिजाइन तयार 

समाज बैशाख २२ 2079 ekhabarnepal
Signature bridge

बुटवल २२ बैशाख । 
मुलुकको प्रमुख आर्थिक केन्द्रका रुपमा स्थापित बुटवलको तिनाउ नदीमा बन्ने आकर्षक सिग्नेचर पुलको आर्किटेक डिजाइन तयार भएको छ । आधुनिक पुलको डिजाइन तयार पारेर त्यसलाई मूर्त रुप दिन नेपाली र विदेशी इन्जिनियरहरुले अहिले धमाधम काम गरिरहेका छन् । 
बिश्व बैंकको ऋण सहयोगमा बुटवलसहित मुलुकका विभिन्न १० स्थानमा आकर्षक सिग्नेचर पुल डिजाइनका लागि केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट विनियोजन गर्नुभएको थियो । तर देउवा नेतृत्वको गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्माले ८ वटा पुलका लागि विनियोजन भएको पैसा काटेर एउटा पुलको लागि मात्र रकम विनियोजन गरेका थिए । तर अर्थमन्त्रालयका सचिवहरुले पूर्व अर्थमन्त्री पौडेलकै परिकल्पना अनुसार सिग्नेचर ब्रिजको बजेट ब्यवस्था गरिएकाले बुटवलको पुल नकाट्न आग्रह गरेपछि मन्त्री शर्मा सहमत भएका हुन् । सरकारले अहिले चितवनको नारायणी नदी र बुटवलको तिनाउ नदीमा गरि जम्मा २ वटा पुल बनाउने तयारी गरेको छ । 
चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन करिव सम्पन्न भएको छ । पहिलो चरणमा सार्वजनिक गरिएको आर्किटेक डिजाइनलाई अन्तिम रुप दिन पुल विज्ञहरु र बिश्व बैंकका प्रतिनिधिले केही महिना अघि बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि र सरोकारवालासँग समेत परामर्श गरेका थिए । 
नेता पौडेलले अहिलेको पुल विस्थापित गरेर तिनाउमा सिग्नेचर पुल निर्माण गर्ने,पुलको दुवै मुखबाट तिनाउ र दानव नदी करिडोर निर्माण गरेर भारतीय सिमानासम्म जोड्ने घोषणा अघिल्लो निर्वाचनमा गरेका थिए । घोषणा अनुसार तिनाउ–दानव नदी करिडोर निर्माण शुरु भइसकेको छ । तिनाउको सिग्नेचर ब्रिजपनि केही महिनापछि शुरु हुने अपेक्षा छ । 
‘बर्तमान सरकारले विष्ण्ुा पौडेलको कार्यक्रम भनेर यसलाई रोक्न खोजिरहेको छ, हामी रोक्न दिन्नौं, कथं यो सरकारले सिग्नेचर ब्रिज निर्माण रोकि हाल्यो भने हामी सरकारमा गएपछि शुरु गछौं’— नेता पौडेलले विहीवार उद्योगी ब्यवसायिको भेलालाई सम्वोधन गर्र्दै भन्नुभयो । 

अहिले भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टीङले यो पुलको आर्किटेक डिजाइन तयार पारेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरिरहेको छ ।
यी दुवै कामको समन्वय नेपाल सरकार सडक विभागको पुल महाशाखाले गरिरहेको छ । उक्त महाशाखाका प्रमुख इन्जिनियर उमेशविन्दु श्रेष्ठले सिग्नेचर पुल बनाउन प्रस्ताव गरिएकामध्ये बुटवलबाटै पहिलो काम सुरु भएको र कन्सेप्ट डिजाइन पनि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । 
ओली नेतृत्वको सरकारले २०७५ मा नयाँ किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने पुलहरु बनाउन बिश्व बैंकलाई ऋण उपलब्ध गराउन प्रस्ताव गरेको थियो । बिश्व बैंकले सिग्नेचर पुल निर्माणका लागि सहुलियत ब्याजदरको ऋण दिन सहमति जनाएको थियो ।

के हो सिग्नेचर  पुल?
सिग्नेचर पुल सामान्य पुल जस्तै मोटरेबल नै भएपनि नयाँ प्रविधिबाट निर्माण हुने पुल महाशाखाले जनाएको छ । झट्ट देख्दा नेटवर्क आर्क व्रिज जस्तै देखिने भएपनि यो आर्क व्रिजभन्दा अझ आकर्षक हुन्छ । मानिसले सिग्नेचर गर्दा जसरी अक्षरहरुलाई घुमाएर बाङ्गोटिङ्गो बनाउंछन् सिग्नेचर व्रिजको डिजाइन पनि त्यही प्रकृतिले गरिन्छ । 
पुल चार लेनको बनाउने योजना रहेको पुल महाशाखाले जनाएको छ प्रत्येक लेनको बीचमा डिभाइडर रहनेछ भने हिड्नका लागि फराकिलो फुटपाथ समेत रहने महाशाखाले जनाएको छ ।
पुलहरुमा रातको समयमा लाइट जोड्ने योजना छ । जसले शहरी सौन्दर्यता बढाउनुका साथै पर्यटकहरुका लागि आकर्षणको केन्द्र हुनेछ । महाशाखाका अनुसार यस्ता पुलहरुले नेपाल आर्थिक समृद्धिमा अघि बढिरहेको भन्ने झल्को दिनेछ । युरोपका धेरै देशहरुमा यस्ता पुलहरु बनेको र त्यहाँ लोकप्रिय भएकाले नेपालमा पहिलो पटक निर्माण गर्न लागिएको हो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top