ट्रान्सपोर्ट भिलेज र बजारको मनोविज्ञान

अर्थ चैत्र ७ 2078 ekhabarnepal
Dr ghimire

डी.आर. घिमिरे
ट्रान्सपोर्ट भिलेजका बारेमा सामाजिक सञ्जालमा ब्यापक बहस शुरु भएको छ । अन्तरक्रिया गर्ने यो उपयुक्त माध्यम पनि हो । यसरी उठ्ने विवादलाई समाधानको विन्दुमा पुर्याउन सकियो भने धेरै समस्याको समाधान हुने देखिन्छ । केही दिन अघि यो लेखकले आफ्नो धारणा सार्वजनिक गरेपछि धेरैतिरबाट क्रिया–प्रतिक्रियाहरु आए । जसको सारसंक्षेप सहित थप धारणा वनाउनु जरुरी देखेर यो  आलेख तयार गरेको छु । 
 “बुटवलको वडा नं. १२ ढवाहमा सरेपछि सामाजिक सञ्जालमा आएका अभिब्यक्तिले केही ब्यवसायीलाई चिन्ता लाग्न थालेको छ । मेरो विचारमा उपमहानगरपालिकाले उनीहरुसंग छलफल गरी सहमतिमै सारिएको हो । बजारमा ट्रान्सपोर्टका ठूला ट्रकहरुबाट सामान लोड अनलोड गर्न असाध्यै दुःख थियो । अफिस अघि गाडी जान आउन र लोड अनलोड गर्दा छिमेकीहरुवाट गाली खानुपर्ने अवस्था थियो । जतिवेला त्यो समस्या थियो त्यतिवेला ट्रान्सपोर्टवालाको भनाई हुन्थ्यो—नगरपालिकाले अलग्गै ब्यवस्था गरे हुन्थ्यो । जब अलग्गै ब्यवस्था भयो फेरि केही ब्यावसायीहरुले भन्न थाले—बुटवलको ब्यापारमा असहज भयो । बुटवलबाट बुटवलमै सार्दा के असहज हुन्छ ? 
सामाजिक सञ्जालमा विभिन्न कुरा आएपछि म एकदिन ट्रान्सपोर्ट भिलेजमा गएर केही ब्यावसायीसंग कुरा गरें । उनीहरु खुशी थिए । सुखी थिए । पार्किङ्गको पर्याप्त ब्यवस्था थियो । सामान राख्ने ठाउँ पर्याप्त थियो । एक अर्थमा बुटवल बजारको लागि सुःखद पक्ष थियो । भिडभाड र पार्किङ्गको समस्याबाट ग्रस्त बजार मुक्त भएको थियो । यसले बुटवलको शान वढाएको थियो । तर, गुनासो किन आए होला ? ठूला वजार यसरीनै ब्यवस्थित गरिनुपर्छ । हिजो बुटवल सानो थियो । सवै कुरा नजिकै हुँदा फरक पर्दैनथ्यो । अब समय अवस्था वदलिदै गएको छ । त्यसैले समयानुकुल हुन सिकौं । बुटवल भनेको संगमपथ र अमरपथ मात्र हैन । 
पुरानो बजारलाई सफा, सुन्दर, फैन्सी सामान (यसको अर्थ लत्ता कपडामात्र हैन) को बजार बनाएर चिटिक्क पार्नुपर्छ । सकिन्छ भने १०÷२० वटा घरलाई अथवा ब्लक ब्लकलाई मर्ज गरेर आनुपातिक हिसावले कसैलाई घाटा नपर्ने गरी आकर्षक बहुतले ब्यावसायिक घर वनाउनुपर्छ । घर भाडालाई ठिक्क बनाउनुपर्छ । ब्यवसायीले कमाए भने मात्र भाडा उठ्ने हो अन्यथा एकआध वर्ष चलेपनि दीर्घकालि रुपले चल्न सक्दैन” ।
मरो यो धारणालाई लिएर केही सकारात्मक र केही नकारात्मक प्रतिक्रिया आए । जस्तो कि बुटवल उपमहानगरका पूर्व कार्यकारी अधिकृत चक्रपाणी शर्माको भनाई छ– 
“कसै कसैको चिन्तन नै नकारात्मक हुने गर्छ ! आम रूपमा धेरै ब्यवसायि र नागरिक खुशी भएको हुनुपर्छ ! विश्लेषण सहि छ ! ट्रान्सपोर्ट व्यवसायी त धेरै खुशी छन् ! सबै कुरा साघुरिदै गएको बजारमा व्यवस्थापन सम्भव नै छैन” ।
युवा ब्यवसायी उमेश कुँवर यसलाई अवसरको रुपमा लिनुपर्ने धारणा राख्दै आफ्नो विचार यसरी राख्छन्– यो समस्या होइन अवसर पनि हो । अब लोकल ट्रान्सपोर्ट चल्छ मज्जाले । व्यावसायिक प्रतिष्ठानहरु गोलपार्कदेखि मणिग्राम सम्म फैलिएको हुँदा कालिकानगर रामनगर साइड राम्रो हुन्थ्यो कि भन्ने मात्र हो । 
रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले भनेका छन्–सबैको सहमति सहकार्य बाट बजारलाइ ब्यावसायिक सुन्दरकरण गर्ने गरि उक्त कार्य अगाडि बढेको हो । पुरानो बाट नयाँमा जाँदा केहि समस्या केही समयको लागि आउँछन् । यस्ता समस्याहरु आपसी छलफलबाट समाधान खोज्दै अघि बड्ने हो ।
स्थानीय युवा कमल अधिकारीले सडक सानो भएकोले केही समस्या भएको तर्क गर्दै भनेका छन्–समस्याकोवारे ट्रान्सपोर्ट भिलेज बुटवलको कुनैपनि क्षेत्रमा रहदा ब्यवसायीहरुको आपत्ती हुनु असान्दर्भिक कुरो हो तर यो संचालन गर्नु अगाबै भौतिक पूर्बाधार,बाटोको व्यवस्थापन जस्ता काम पूरा  नगर्दा गाउँ बस्तीमा धुलो प्रदुषणको सास्ती ब्यहोेर्नु परेको छ । 
एकजना युवा ब्यवसायी गोपाल घिमिरे अलि आक्रोस ब्यक्त गर्दै भन्छन्–
ट्रान्सपोर्ट भिलेज जसले परिकल्पना गरेको भएपनि अत्यन्तै गलत ठाँउमा छ भन्नु पर्दा कुनै अप्ठ्यारो मान्नुपर्दैन । किनकि ट्रान्सपोर्ट भिलेज कहिल्यै गाउँको बीचमा राख्नु हुँदैन । गाउँ वा वस्तीको बाटो तुलनात्मक रुपमा कमजोर हुन्छ र वस्तीलाई गाडीको कोलाहल राम्रो हुँदैन । अर्कोतिर लागत बढी पर्ने भएकोले हाईवे देखि र मुख्य बजार देखि धेरै टाढा हुनु हुदैन । 
मुख्य सडकबाट वढीमा २ शय मिटर भित्रको सो ठाउँलाई भित्र मान्ने हो भने त्यसको जवाफनै के हुन सक्ला ? बुटवलको प्रदर्शनीस्थल अहिलेका मन्त्रालयहरू रहेको ठाउँ तत्कालिन सडक डिभिजन कार्यालय रहेको ठाउँबाट हाल बन्दै गरेको रामनगर जाँदा धेरै टाढा भयो भनेर ठूलै हलचल भएको थियो । उद्योगी ब्यावसायीहरुले आफुहरु घाटामा जाने निष्कर्ष सुनाउँदै थिए । अझ यो लेखकले मैनावगरस्थित हाल अटो भिलेज रहेको ठाउँ उचित हुन्छ भन्दा कैयौंले असहमति प्रकट गरेका थिए । कालान्तरमा मणिग्राम, भैरहवा, मुर्गिया जताततै प्रदर्शनीस्थल वने । सवै चलेकै छन् । रामनगरमा त अन्तरर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल र सोही अनुसारको सम्मेलन केन्द्र बन्दैछ ।
भन्दाभन्दै वस्ती नभएको ठाउँ खोज्नुपर्ने भनिदैछ । वस्ती नभएको क्षेत्र खोज्ने हो भने अझै दुर्गम जानुपर्छ । एकातिर घना बस्तीमा भएन भनेर चिन्ता गर्ने अर्कोतिर वस्तीमा भयो भन्ने ? यो आफैमा विरोधाभास भएन र ? फेरि गाउँहरू पनि शहरमा रूपान्तरण हुनु पर्ला । गाउँलाई गाउँनै रहन दिने हो भने कसरी विकास हुन्छ ? कुनैवेला गोलपार्क, जोगिकुटी, मणिग्राम, कालिकानगर,सुख्खानगर राम्रा वस्ती थिए । तर, अहिले के भयो ? फेरि बजारका घरमा डोजर लगाएर पनि बनाउन सकिदैन होला ? यो कुरा अर्कै हो कि माथि कमल अधिकारीले भनेजस्तै कमजोर भए बलियो बनाउनुपर्छ । तदनुसारका सडक चौडा वनाउँदै जानुपर्छ । धुलो धुवाँ र प्रदुषण नहोस् भनेर सडक चिल्ला बनाउनु पनि पर्छ । 
एकजना टिप्पणीकर्तालाई हदैसम्म रिस उठेछ । उहाँले अरु तर्क गर्न नसकेर हजुरको घरजग्गा जता छ त्यतै लैजानुस् भन्नुभएछ । विचरो म बबुरो । मैले भनेर के हुन्छ के हुन्न मलाइनै थाहा छैन । मैले त मात्र वजारमा आएका प्रतिक्रियाका आधारमा साझा दृष्टि वनाउँ भनेको न हो । बरु म सम्झन्छु  बिमलवहादुर शाक्य उपप्रमुख हुँदाको कुरा हो, बुटवल नगरपालिकाले पुल्चोक क्षेत्र अर्थात् हाटवजारदेखि १ शय मिटर उत्तरतर्फ आलुप्याजको थोक पसल लैजाँदा उहाँमाथि आफ्नो घरलाई भाडामा लगाउन पसलहरु लग्यो भनेर एक प्रकारको आरोप लागेको थियो । जवकि त्यो आबश्यकतानै थियो । एक शय मिटर पर सार्दा त आरोप लगाउनेहरु छन् भने तिनाउ नदीनै पार गरेर जाँदा रिसको पारो उठ्नु स्वभाविक हो ।
मेरो बिचारमा सवै आवाजको यथोचित सम्वोधन गर्नुपर्छ । जसअनुसार ट्रान्सपोर्ट भिलेजका सन्दर्भमा  उपमहानगर, यहाँका ब्यावसायिक सस्थाहरु र नागरिक समाजको निम्न कुरामा विशेष ध्यान जान आवश्यक छ ।
१. ट्रान्सपोर्ट भिलेजले केही अवसरहरु सृजना गरेको छ । खासगरी स्थानीय ढुवानीको अवसर जो स–साना ब्यावसायीले गर्न सक्छ । सुपथ मूल्यमा पाइने साधन खरिद गरेर बजार मात्र हैन गाउँ गाउँमा सामान ओसारपसार गर्ने नयाँ रोजगारी सृजना भएको छ । यसलाई अत्यन्तै सुपथ मूल्यमा कसरी ब्यवस्थापन हुन सक्छ त्यसवारे सोँच विचार गरियोस् । अन्यथा प्रतिष्पर्धात्मक वजारलाई नोक्सानी हुन सक्छ । महंगी यसमा मात्र हैन बुटवलका होटल पनि महंगा छन् । भाडा असाध्यै धेरै भएकोले पनि सो अवस्था आएको हो कि ? यहाँभन्दा सस्तो पोखरा, काठमाण्डौमा छ । त्यसैले बुटवल महंगो बजार भएको छ । यसलाई सवै ब्यावसायी संगै वसेर पुनर्मूल्यांकन गर्ने अवस्था छ ।
२. बुटवल बजार ट्राफिक समस्याका कारण प्रताडित भएकै छ । ठूला ट्रकमात्र हैन अरु सवारी साधनको बाक्लो आवतजावत अहिले ट्रान्सपोर्ट भिलेजतर्फ हुन थालेको छ । यसका राम्रा नराम्रा दुवै पक्ष छन् । तर, उपमहानगरले सकभर स्थानीय वासिन्दासंग मिलेर सडकलाई कम्तिमा ३० फुट बनाउने प्रयत्न गरोस् । मेरो विचारमा यो कसरी सम्भब हुन्छ भने भुकम्प पश्चात् हरेक घर निर्माण गर्दा ५ फुट छाडेर घर बनाउने नियम चलेकै छ । दुवैतर्फ १० फुट जग्गा रहेकै हुन्छ भने त्यसलाई सडक मानेर नक्सा पास गरिदिने नीति वनाइदिने हो भने यसको सहज समाधान हुनसक्छ ।
३. ठूला गाडी ओहोर दोहोर गर्दा सडकको आयु कम हुन्छ । त्यसैले केही निश्चित सडकलाई विशेष ढंगले पिच गर्ने नीति वनाइयोस् र सडकको पूरै भाग पिच गर्ने तर्फ जोड दिइयोस् । 
४.सडकको किनारमा तत्काल हरियाली हुने बिरुवा रोप्न बाध्य पारिनुपर्छ । यसो गर्दा धुलो धुवाँमा थोरै भएपनि कमी आउन सक्छ र सौन्दर्यीकरण पनि हुन्छ ।
५. बुटवल बजारलाई अबश्यै अफ्टेरो छ । यसका कारण के होलान् ? रिसराग द्वेष नराखी मसिनो गरी छलफल चलाउँ । यो वजारलाई कसरी आधुनिक, सभ्य र अवसरको केन्द्र बनाउन सकिन्छ । अवसर भनेको परम्परागत ढंगले मात्र हुँदैन, नयाँ ढंगले पनि प्राप्त गर्न सकिन्छ । आजसम्म जे ब्यापार गरिएको छ, त्यही मात्र गर्नुपर्छ भन्ने हैन नयाँ आलोकबाट सम्भावनाको खोजी गरौं । यो वजार कसरी आधुनिक र अन्तर्राष्ट्रियस्तरको हुन सक्छ ? बेलाबेला तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेलले भनेजस्तै ठूला ब्यावसायिक मल वनाउने उपाय के हुन सक्छन् ? त्यसो गर्दा वजारभन्दा बाहिर गएर आवास बनाउनु पो पर्ने हो कि ?
मेरो विचारमा अमरपथ र संगमपथमा ८÷१० वटा विशाल महल कसरी वन्न सक्छन् ? सवैलाई एकीकृत गर्ने प्रस्थानविन्दु के हुन सक्ला ? हामी अलि पर गएर सोंचौ त । लुम्विनीको विकास गर्न प्रो. टाँगेले गुरु योजना वनाएजस्तै बुटवलको गुरु योजना पनि संसारका उत्कृष्ट आर्किटेक्टहरुलाई आमन्त्रण गरी नयाँ बुटवल बनाउन पहल पो गर्ने हो कि ? के नपालमै पहिलोपटक यस्तो उदाहरण बुटवलले दिन सक्दैन ? यो पनि एउटा अवसर बुटवलले पाएको छ ।
६.ट्रान्सपोर्ट भिलेजको प्रस्थानवीन्दु वेलवासदेखि नयाँगाउँतर्फ जाने भानुपथ ३२ फिटको सडक भएपनि धेरै ठाउँमा मिचिएको छ । त्यसैले सो सडकको पूरै भाग कायम गराउन जरुरी छ । उता निकास आरम्भ पथको हालत बेहाल छ । सडकमाथि तारहरु लत्रिएका छन्, तिनको यथोचित व्यवस्थापन हुनुपर्यो ।
७. ट्रान्सपोर्ट भिलेजलाई नमुना वनाउने भनिएको छ । एकै ठाउँमा हुनुनै नमुनाको मापदण्ड हैन । सरसफाई, हरियालीयुक्त, धुलो नउड्ने, खानेपानीदेखि आवश्यक सवै कुरा वनाएर जाने ब्यवस्था ब्यवसायी र उपमहानगरपालिका दुवैले गर्नु आवश्यक हुन्छ ।
८. भित्री सडकमा स्पिड कन्ट्रोल गर्नका लागि वीच वीचमा जानकारीमुलक वोर्डको ब्यवस्था गरिनुपर्छ ।
  २०७८ चैत्र २
 

प्राप्त प्रतिकृयाहरू

To Top