सत्ता गठबन्धनलाई विकासका काममा राजनीति नगर्न विष्णु पौडेलको आग्रह

राजनीति माघ ५ 2078 ekhabarnepal
271952842 3121863848085838 3482321098416247669 n

बुटवलमा बन्यो आधा अरबको प्रशासविक भवन
बुटवल,माघ ५  । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका मुद्दामा राजनीति नगर्न सत्तारुढ दलहरुलाई आग्रह गर्नुभएको छ ।  रुपन्देहीमा सुरु भएका केही विशेष योजना रोक्नेगरी भएका आन्दोलनप्रति संकेत गर्दै पौडेलले विकासका कामले कुनै दल विशेषलाई भन्दा पनि सबैलाई फाइदा हुने बुझेर अगाडि बढ्न आग्रह गर्नुभएको छ । 

बुटवल उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै पौडेलले तिनाउ–दानव करिडोर क्षेत्रमा सत्तारुढ दलहरुकै अगुवाइमा योजनै प्रभावित बन्ने गरी भएका आन्दोलनले आफूलाई चिन्तित बनाएको विचार ब्यक्त गर्नुभयो । 
२०७५ साल असार ८ गते पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले शिलान्यास गरेको उक्त भवनको बुधबार पौडेलले नै भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो।

भर्चुअल माध्यमबाट भवनको उद्घाटन गर्दै पूर्वअर्थमन्त्री पौडेलले सेवाग्राहीका कामलाई पहिलो प्राथमिकता राखेर अगाडि बढ्न सुझाव दिनुभयो।

सो अवसरमा ‘सबै दललाई र सामाजिक संघसंस्थालाई आग्रह गर्दै उहाँले भन्नुभयो, तिनाउ दानव करिडोरमा अर्बौंको बजेट व्यवस्थापन भएको छ, यो सडक मात्रै होइन, यो नदी नियन्त्रणको लागि पनि विशेष योजना हो, यो आयोजनाको सफल कार्यान्वयनले नदीको क्षति रोक्ने छ यसले कसैलाई घाटा बनाउने छैन’।

रुपन्देहीमा बन्दै गरेको विमानस्थल, सबैतिरका ६ लेन सडक, अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल, पोखरा–नारायणगढ जाने तथा पश्चिम जाने सडकको स्तरोन्नति, खानेपानी आयोजना, सिद्धबाबा सुरुङ मार्ग, नुवाकोट र वसन्तरपुरका दुई केबलकारका आयोजनाले केही वर्षमा यस क्षेत्रलाई नमूना बनाउने विश्वास उहाँको छ  ।
यो भवन निर्माण गर्दा ५४ करोड ७८ लाख ४५ हजार ३ सय ८१ रुपैयाँ अनुमानित लागत राखिएकोमा विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार ५ सय ७२ रुपैयाँ ८४ पैसामा भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो।

उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठका अनुसार असार ६ गतेभित्रै निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौताको म्याद राखिएको भए पनि कोभिड महामारीका कारण सात महिना ढिलोगरी निर्माण सकिएको हो।

हाल रहेको प्रशासनिक भवनको दक्षिणतर्फ यसअघि तिलोत्तमा पार्क रहेको स्थानमा भवन निर्माण गरिएको हो।

२०३५ सालमा निर्माण गरिएको हाल उपमहानगरपालिका कार्यालय रहेको भवन २०७२ सालको भूकम्पले चर्किएपछि मर्मत गरेर कार्यालय सञ्चालन भइरहेको थियो।

भूकम्पले क्षतिग्रस्त भएको भवनमा कार्यालय सञ्चालन गर्न जोखिम भएको भन्दै उपमहानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि अत्याधुनिक भवन निर्माणको प्रक्रिया अगाडि बढाइएको थियो।

बुधबार उद्घाटन गरिएको भवन करिब तीन बिघा क्षेत्रफलमा निर्माण गरिएको र यही क्षेत्रमा आवश्यकताको आधारमा थप ६ वटा अन्य ब्लक समेत निर्माण गरिँदै जाने उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले हाल रहेको पुरानो भवनको जग्गालाई समेत लिएर प्रमुख प्रशासनिक भवनसहित अन्य संरचना निर्माण गर्ने गरी गुरूयोजना बनाइएको जानकारी दिनुभयो ।

गुरूयोजना अनुसार पहिलो चरणमा निर्माण गरिएको ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन बेसमेनसहित चार तलाको अत्याधुनिक रहेको छ।

दुई अलग(अलग स्थानमा लिफ्ट र दुबैतर्फ सिँढी बनाइएको अण्डरग्राउण्ड सहितको नवनिर्मित भवनमा अण्डर ग्राउण्डमा १ सय ६ वटा मोटरसाइकल, ३५ देखि ५०  वटासम्म कार पार्किङ गर्न मिल्ने गरी निर्माण गरिएको छ। भवनको बाहिर पनि छुट्टै सवारी साधन पार्किङ गर्न मिल्ने क्षेत्र छुट्टाइएको छ।

उपमहानगरपालिकाका इन्जिनियर गौतम रौनियारका अनुसार भुइँ तल्लामा प्रतिक्षा कक्ष, बैंकको लागि काउण्टर, हेल्प डेस्क, नक्सा, योजना, राजश्व र भूमि व्यवस्थासम्बन्धी शाखा राखिएका छन्।

पहिलो तल्लामा नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखा र प्रशासन शाखा राखिएको छ भने दोस्रो तल्लामा वातावरण, सामाजिक कल्याण, सूचना प्रविधि लगायतका शाखा राखिएको छ । तेस्रो तल्लामा शिक्षा, युवा तथा खेलकुद शाखा र २ देखि ३ सय जना क्षमताको सभाहल राखिएको छ। चार वटै तल्लामा बैठक कक्षहरू पनि निर्माण गरिएका छन्।

कार्यक्रममा पूर्वमन्त्री तथा प्रदेश सांसद लिला गिरीले आर्थिक विकासको केन्द्र बनेको रुपन्देहीमा बुटवल उपमहानगरका नमूना योजनाले पहिचान थपेको बताउनुभयो। उहाँले अब दीर्घकालीन विकासका योजनालाई उपमहानगरले व्यवस्थित रुपमा अगाडि बढाउन पर्ने बताउनुभयो।

सो अवसरमा पूर्वमन्त्री तथा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी र नेपाली कांग्रेसका बुटवलका अध्यक्ष खेलराज पाण्डे लगायतले शुभकामना दिनुभएको थियो । 
 

प्राप्त प्रतिकृयाहरू

To Top