कोरोना संक्रमण ५४० जनामा पुष्टि, माओवादी केन्द्रीय कार्यालय बन्द, प्रचण्डको भेटघाट रोकियो

स्वास्थ्य पौष २२ 2078 ekhabarnepal
5e92ff0d5dafd 1


काठमाडौं, पुस २२ । पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५४० जनामा संक्रमण पुष्टि भएको हो ।
उता नेकपा माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा कार्यरत ५ जनासहित ६ जनामा कोरोना पुष्टि भएपछि केन्द्रीय कार्यालय वन्द गरिएको छ ।  
एकजना केन्द्रीय सदस्य सीपबहादुर बस्नेतसहित लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्याय, क्यान्टिन सञ्चालक सञ्जीव थापा, अंशु पुडासैनी र विनोद थापालाई कोरोना देखिएपछि कार्यालय बन्द गरिएको हो। 

आफूसँग भेटघाटमा रहिरहने ६ जनामा कोरोना पुष्टि भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक भेटघाट पनि रोकेका छन्। 

ुलेखा प्रमुखसहित ६ जनालाई कोरोना पुष्टि भएपछि कार्यालयमा अतिजरुरीबाहेक सबै सेवा बन्द गरिएको छु, केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले नेपालखबरसँग भने, ुक्यान्टिन पनि पूर्णरुपमा बन्द गरिएको छ। सुरक्षा र स्वास्थ्य सावधानी अपनाउन अध्यक्षसँगको प्रत्यक्ष भेटघाट पनि रोकिएको छ।ु

केही दिन यता हरेक दिन संक्रमितको संख्या बढिरहेको छ । पुस १९ मा ३२६, पुस २० मा ३९६ र पुस २१ गते ४३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७१ रहेको छ भने एक जनाको मृत्‍यु भएको छ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २६ हजार ९२५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ भने ८ लाख १३ हजार ४४७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३१ जना रहेका छन् । जसमध्ये ५ हजार ६९ जना होम आइसोलेसनमा रहेका छन् भने ३६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७९ जना आईसीयू र १४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ११ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५६ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौं उपत्यकामा ३१० जना संक्रमित

यस्तै काठमाडौं उपत्यकामा थप ३१० जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २२१, ललितपुरमा ५९ र भक्तपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top