माओवादी केन्द्रको बन्दसत्र आजबाट

राजनीति पौष १२ 2078 ekhabarnepal
Moais

  काठमाडौं,पुस,१२ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र आजबाट कमलादीस्थित प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि सुरु हुँदै छ ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस हुने र ती प्रतिवेदनहरुमा समूहगत छलफल हुने छ । समूहगत छलफलका लागि महाधिवेशन प्रतिनिधिहरुलाई २० भन्दा बढी समूहमा बिभाजन गर्ने तयारी छ ।

माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको विधानमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव छ । एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ ।

राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रको अध्यक्षमा निर्विकल्प प्रचण्ड नै दोहोरिने निश्चित छ । अन्य पदहरुमा भने आकांक्षी धेरै छन् । सकेसम्म सहमतिमा नभए निर्वाचनबाट कार्यसमिति चयन गर्ने माओवादीको तयारी छ ।

सुरुमा पहिलो राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेर प्रचारप्रसार गरेको माओवादी केन्द्रले अन्तिम समयमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

सुरुमा माओवादीले १५ सय ३१ प्रतिनिधि सहभागी हुने बताइएको थियो। पछि प्रतिनिधिको संख्या १६ सय ३८ बनाइएको थियो। अहिले फेरि १७ सय गराइएको हो।

सुरुमा राष्ट्रिय सम्मेलनको तयारी गरेको माओवादी केन्द्रले शनिबार बेलुका स्थायी समिति बैठकबाट त्यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरी आइतबार बिहान केन्द्रीय समितिको बैठकबाट पास गराएको हो।

बन्दसत्रले राजनीतिक प्रतिवेदनलगायत दस्तावेज पारित गर्दै माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गर्नेछ।


 

प्राप्त प्रतिकृयाहरू

To Top