रुपन्देहीको तिलोत्तमा बालमैत्री शासनयुक्त नगर घोषणा

राजनीति मंसिर २९ 2078 ekhabarnepal
Tilottama mzuxdr8tn8

मंसिर २९
रुपन्देहीको तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भएको छ।

बालमैत्री स्थानीय शासन अवलम्बन गरी बालअधिकारको क्षेत्रमा सक्रिय रुपमा काम गरिरहेको तिलोत्तमा नगरपालिकालाई बुधबार एक समारोहबीच बालमैत्री स्थानिय शासन युक्त नगर घोषणा गरिएको हो।

बालमैत्री नगर घोषणा गर्दै पूर्वउपप्रधानमन्त्री तथा रुपन्देही २ का सांसद विष्णु पौडेलले तिलोत्तमाले भौतिक र मानवीय विकासकालाई सन्तुलन मिलाएर अघि बढाएकोमा प्रशंसा व्यक्त गर्दै बालमैत्री नगरलाई दिगो बनाउन आफू सधैं प्रतिबद्ध रहेको बताए।

तिलोत्तमाले नगरलाई बालमैत्री घोषणा गरेर आफ्नौ हैसियत उन्नत बनाएको बताउँदै उनले भौतिक विकाससँगै सामाजिक विकासलाई पनि उत्तिकै महत्व दिइनुपर्ने बताए।

प्रदेश सरकारका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्तीले तिलोत्तमा नगरपालिकाले ५१ वटा सूचकको अभ्यास गरेर नगरलाई बालमैत्री नगर घोषणा गरेकोमा बधाईं दिँदै अन्य पालिकाहरुले पनि यो अभ्यास गर्नुपर्ने बताइन्। घोषणा कार्यक्रममा सहभागीहरुले बालमैत्री नगरलाई दिगो बनाउन आ–आफ्नो ठाउँबाट काम गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा बालमैत्री नगर घोषणा भएकोमा प्रदेश सरकार तथा जिल्ला समन्वय समितिको तर्फबाट नगरपालिकालाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने नगरपालिकाले कृतज्ञतापत्र प्रदान गरेको थियो।

यस्तै, बालमैत्री नगर निर्माणमा योगदान गर्ने वडास्तरीय बाल क्लब सञ्जाल, नगरस्तरीय बाल सञ्जाल, वडा कार्यालयहरुलाई प्रशंसापत्र प्रदान गरिएको कार्यक्रममा बालबालिकाहरुले विभिन्न प्रस्तुती देखाएका थिए।
नगर प्रमुख बासुदेव घिमिरेको अध्यक्षता, उपप्रमुख जगेश्वरदेवी चौधरीको स्वागत तथा प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डेय, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेलप्रसाद शर्मा, बालमैैैैैैैैैैैैैैैैैैैैैत्री शासनका राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवे, नगर बाल समूह सञ्जाल अध्यक्ष स्नेहा पौडेल, युनिसा गिरीलगायतले बालमैत्री नगरपालिका घोषणाको औचित्यको बारेमा आ आफ्ना भनाईराखेका थिए।


तिलोत्तमाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा मुलकमै पहिलो अभ्यास गरी तीमध्ये ४१ वटा सूचकहरु शतप्रतिशत र १० वटा सूचकहरुमा अधिकतम ९९.८८ प्रतिशतसम्म नतिजा हासिल गरेको नगरपालिकाले जनाएको छ।

बालमैत्री नगर घोषणाले बालबालिकाको सर्वोत्तम हित, सर्वाङ्गीर्ण विकास, अर्थपूर्ण बालसहभागितालाई नगरको नीति, योजना, संरचना, प्रणाली, कार्यप्रक्रिया र व्यवहारमा संस्थागत गराउने नगर प्रमुख बासुदेव घिमिरेले बताए।

२०७६ सालमा पूर्णसरसफाई उन्मुख नगर घोषणा गर्न सफल भएको तिलोत्तमाले कोरोना महामारीको प्रभाव कम भएसँगै नगरलाई बालमैत्री घोषणा गर्न सफल भएको हो । तिलोत्तमालाई बालमैत्रीयुक्त नगरपालिका बनाउन २०७६ मंसिर २७ गतेदेखि बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गरिएको थियो । १८ वर्षमुनिका झण्डै ४० हजार बालबालिका भएको तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधि आएदेखिनैं शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमार्फत् बालबालिका केन्द्रित विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएका थिए।

बालमैत्री अभियान सञ्चालन भएयता तिलोत्तमामा २३१ वटा बाल समुह, १८ वटा वडा र नगर बालसमूह सञ्जाल गठन भएका छन् । वडा तथा नगर स्तरीय विभिन्न अभिमुखीकरण, वृहत वडा भेला, कार्यपालिकाको बैठकद्धारा नीति, रणनीति, आचारसंहिता, कार्ययोजना तर्जुमा, बिभिन्न समितिहरुको गठन, सरोकारवालाहरुको प्रतिवद्धता, न्युनतम सूचकको निर्धारण र कार्यान्वयनका तहगत खुडकिलाहरु पार गरि सिङ्गो नगरलाई बालमैत्री घोषणा गरिएको हो ।

प्राप्त प्रतिकृयाहरू

To Top