एमाले महाधिवेशन ः लुम्बिनी प्रदेशबाट ७५ हजार सहभागी हुने, प्रचारात्मक अभियान शुरु

राजनीति मंसिर ३ 2078 ekhabarnepal
1

 
बुटवल, मंसिर ३ । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)को आगामी १० देखि १२ गतेसम्म हुन लागेको १०औं महाधिवेशनका लागि नेकपा एमाले लुम्बिनी प्रदेशले प्रचारात्मक अभियान तथा जनपरिचालनलाई तीब्र पारेको छ । एमाले लुम्बिनीले चितवनमा हुन लागेको महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार प्रतिनिधि सहभागी गराउने जनाएको छ ।
महाधिवेशन प्रचार–प्रसार समिति लुम्बिनीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी महाधिवेशन र महाधिवेशनको तयारी बारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले लुम्बिनीका अध्यक्ष लिला गिरीले महाधिवेशन भव्य रुपमा सम्पन्न गर्नका लागि तिव्र तयारी रहेको बताउँदै लुम्बिनीबाट ७५ हजार सहभागिता गराउने योजना सुनाउनुभयो । उहाँले गण्डकी प्रदेशको चितवनमा हुने महाधिवेशनमा लुम्बिनीका १२ वटै जिल्लाबाट ७५ हजार जना सहभागी गराउने योजना अनुरुप तयारी रहेको बताउनुभयो । 
महाधिवेशनमा रुपन्देही जिल्लाबाट मात्रै २२ हजार सहभागि हुने छन् । महाधिवेशनका लागि लुम्बिनीका विभिन्न जिल्लाहरुमा तयारी भइरहेको छ । केन्द्रिय निर्देशन अनुसार प्रत्येक जिल्लामा एक गेट बनाउने भनिएपनि बुटवलमा एक वडा एक गेट बनाउँदै महाधिवेशनमा लुम्बिनी प्रदेशबाट उल्लेख्य सहभागिता हुने छ । 

एमाले प्रचार–प्रसार विभाग केन्द्रिय सदस्य डि.आर.घिमिरेले  ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं,जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नारासहित १०औं महाधिवेशन सम्पन्न हुन गइरहेको बताउँदै नेपालको संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेको सन्दर्भमा यसको सान्दर्भिकता अझै स्पष्ट हुनेछ भन्नुभयो । 
रुपन्देहीलाई चितवन महाधिवेशनको झल्को दिनेगरी प्रचार कार्य गरिने जानकारी गराउँदै बुटवलका विभिन्न स्थलमा डिजिटल बोर्डको व्यवस्थापन तथा आकर्षक गेट निर्माण गरी पश्चिमबाट आउनेहरुको लागि बुटवलमै महाधिवेशनको झल्को गराइने छ भन्नुभयो । नेतृत्वका लागि महाधिवेशन र नीतिका लागि विधान महाधिवेशन गर्ने एमाले नेपालको पहिलो कम्यूनिष्ट पार्टी भएको वताउँदै रुपन्देहीको सहभागिता र भूमिका महत्वपूर्ण रहने विश्वास ब्यक्त गर्नुभयो । 

प्रचार विभाग रुपन्देहीका प्रमुख मोहन चापागाइँले यस पटकको महाधिवेशनलाई डिजिटलाइजेशन बनाउने जोड दिइएको बताउनुभयो । ‘परिवर्तनसँगै पुराना शैलीलाई हटाउँदै समय सापेक्ष डिजिटल यूगमा प्रवेश गरेको सन्देश दिनका लागि एमाले महाधिवेशनलाई डिजिटलाइजेशन बनाउँदैछ, इभोटिङ प्रणालीसँगै प्रचारका शैलीहरुमा पनि परिवर्तन गरेका छौं, चापागाईले भन्नुभयो। 

पत्रकार सम्मेलनमा महाधिवेशन प्रचार–प्रसार लुम्बिनीका सदस्य शेरबहादुर केसी, प्रेस चौतारी नेपालका सचिव भरत केसी, प्रेस चौतारी लुम्बिनीका उपाध्यक्ष प्रदिप आचार्य, प्रेस चौतारी लुम्बिनीका सचिव अमृत गिरी लगाएतको सहभागिता रहेको थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top