काठमाडौं, कात्तिक
देउवा सरकारसंग सत्ता साझेदार गरेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशहरूले विद्रोह गरेका छन् । नेपालको संवैधानिक इतिहासमा पहिलोपटक यो अवस्था सृजना भएको छ ।
आइतवार सर्वोच्च अदालतका १४ जना न्यायाधीशको बैठक बसेर प्रधानन्यायाधीशले बोलाएको भोलिको बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।
आइतवार न्यायाधीशहरूको बैठकमा १४ जना उपस्थित थिए भने ४ जना काठमाडौं बाहिर र एकजना विदेशमा छन् ।
बैठकमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत, आनन्द मोहन भट्टराई र सुष्मालता माथेमा सहभागी थिए । यसैगरी न्यायाधीशहरू प्रकाश ढुंगाना, कुमार रेग्मी, हरि फुँयाल, बमकुमार श्रेष्ठ, टंक मोक्तान, मनोज शर्मा र नहकुल सुवेदी पनि आजको बैठकमा सहभागी भएका थिए ।
आजको बैठकमा अनुपस्थित रहेका न्यायाधीश सपना प्रधान मल्ल, अनिल सिन्हा, तेजबहादुर केसी र कुमार चुडालको पनि आफूहरूको अभियानमा समर्थन रहने आजको बैठकमा सहभागी न्यायाधीशले विभिन्न मिडियासंग वताएका छन्। न्यायाधीश ईश्वर खतिवडा देशबाहिर छन् ।
‘न्यायालयको गरिमा बचाउन आज सर्वोच्चका न्यायाधीशहरूले अभूतपूर्व एकता प्रदर्शन गरे । भोलि बिहान ११ बजे फेरि बैठक बसेर न्यायाधीशहरूले थप निर्णय गर्ने बताएका छन् ।
यसअघि शुक्रवार पूर्वन्यायाधीश फोरमले न्यायालयको स्वतन्त्रताको लागि जबराले न्यायालय छाड्नु पर्ने धारणा सार्वजनिक गरेको थियो । मन्त्रिपरिषद्मा भागबण्डा खोजेपछि प्रधानन्यायाधीश विवादमा फसेका थिए ।
वर्तमान संकटको कारण अहिलेको न्यायिक नेतृत्व (प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा) नै भएको र उनैले ठोस निकास दिनुपर्ने न्यायाधीसको बैठकले निष्कर्ष निकालेको छ ।
प्राप्त प्रतिकृयाहरू