नेपालीको विशेष पर्व  दशैं : दशैमा किन लगाइन्छ अक्षता र टिका  ?

समाज असोज २७ 2078 ekhabarnepal
Jhapendra g c

झपेन्द जीसी

१)दशैंपर्व नेपाल र नेपालीको राष्ट्रिय  पर्व हो।यो पर्व  सबैजसो  नेपालीले हर्ष -उमङ्गकासाथ मनाउने  गर्दछन् । यो पर्व  नेपालीको साझा पर्व हो। हिन्दू, बौध्द, शाक्त लगायत सबैले आआफ्नै विधि परंपराअनुसार मनाउने  गर्दछन् । सबैले आफ्नो जाति  वा सम्प्रदायको   पर्व भनेर गर्व गर्दछन्। यो पर्व  नेपालीको सनातनी पर्व हो। 
२)  नेपाली  दशैं पर्वलाई अयोध्दाका राम र लङ्का रावण बीचको युध्दमा रामले जितेको रावणले हारेको पौराणिक  प्रसङ्ग जोडेर   रामको विजयमा हर्ष उल्लासका साथ मनाउन  थालेको परंपरागत  ब्याख्या  गर्ने प्रचलले प्रभाव जमाएको छ।
३)फेरि कसैकसैले जनजातिको हत्या गरेर त्यसैको रगतले अक्षता मुछेर  गैर जनजाति खस आर्यले मनाउन  थालेको  प्रसङ्ग उठाएर नेपाली समाजमा  विभाजनको रेखा कोर्ने दुस्प्रयत्न गरेको  पनि देखिन्छ । तर स्वयं जनजाति आदिबासी भन्न रूचाउनेहरूले नै यो दशैं पर्वलाई आफ्नै पर्व मानेर धुमधामका साथ परापूर्वकालदेखि मनाउँदै  आएको पाइन्छ।
४) नेपाल अनूर्वर भूमि  होइन।यो मरूभूमि होइन। यसर्थ चाडपर्व संस्कृति  खोज्न वा आयात  गर्न लङ्का पलङ्का , अयोध्दा अथवा   अन्यत्र  कतै जान पर्दैन । लुम्बिनीपुत्र बुध्दले, मिथिलापुत्री सीताले,अंशुबर्मापुत्री भृकुटीले कलाकार  अरनिकोले हाम्रो चाडपर्व , कला र संस्कृतिलाई देशमहादेशमा फैलाउन  पूर्ण सफल छन्। बुँगद्य सहकालका देवता कहलिएका पद्मपाणि बोधिसत्व मत्स्येन्द्रनाथले  नयाँ बिउबाल र प्रविधि  उपलब्ध  गराएर काठमाडौ  उपत्यकावासीलाई अनिकालबाट बंचाए बापत   मत्स्येन्द्रनाथको  रथयात्रा सम्मानपूर्वक  वर्षेनी   गरिन्छ।
५) सत्यमेब जयते। सत्यको नै जीत हुन्छ। तर,कहिलेकाहीँ  असत्यको पनि जीत हुन्छ। असत्यको जीत क्षणभङ्गुर हुन्छ। सत्यको उद्घाटन  नभएसम्म असत्य पनि सत्य हुन जान्छ।
६) इन्डियामा दसहरा मनाउँछन्।तर नेपालमा दशैं मनाइन्छ।हामी नेपालमा जमरा र चामलको अक्षताको टीका लगाउँछौँ। टीका र जमरा हाम्रो पहिचान हो। हामी किन अक्षताको टीका र जमरा लगाउँछौँ। यस विषयमा गम्भीर  चिन्तनमनन र वैज्ञानिक  विश्लेषणको खाँचो छ।
७)  अक्षताको टीका किन?
हाम्रो हिमाल पहाड तराई  धानको उत्पत्ति  क्षेत्र  हो।यहाँका अधिकांश तालतलैया यथा- अजिगराताल कपिलवस्तु , प्रभासताल पाल्पा, माडीबुढुवाढाव पाल्पा, बेगनासताल रूपाताल कास्की  जस्ता तालतलैयाहरूमा  प्राकृतिक  धान पाइन्छ।यसले धानको उत्पत्ति क्षेत्रहरूमध्ये एउटा  प्रमुख  क्षेत्र  नेपाल हो।यिनै  प्राकृतिक  धान प्रसारण  र उपयोग गर्ने जाति नेपाली जाति हो।
धान अन्नको राजा पनि हो। यही धान अन्न चामलको सम्मानस्वरूप नेपाली जातिले पूजाआजा  गर्दा चामललाई अक्षताको रूपमा  प्रयोग गर्ने चलन छ।कोदो फापर वा अन्य अन्नादि प्रयोग गरिँदैन।  चामलको मीठो स्वाद र यसको सर्वोपरि र  सर्वाधिक  उपयोगिता समेतलाई  उच्चमहत्त्व  दिई नेपाली जातिले दशैंमा मात्र होइन अन्य माङ्गलिक कार्य  वा अन्य  कार्यमासमेत  अक्षता रूपी चामललाई मानवनिधारमा प्रसादकोरूपमा  टीका लगाउने  प्रचलन हाम्रा नेपाली पुर्खाहरूले थालली गरे।क्रमशः  अक्षताको टीका  लगाउने  चलन संस्कृतिको रूपमा  संस्थागत  भएको देखिन्छ ।
अहिले   विश्वब्यापार सङ्घ (wto=world trade  organization )मा उत्पत्ति   र आविष्कारको सर्वाधिकार  स्वामित्व(patent  Right) दर्ता गर्ने चलन छ।
हामी नेपाली र नेपालले  उहिल्यै धेरै पहिल्यै सांस्कृतिकरूपमा  पेटेन्ट राइट लिइसकेको  सूचना यो टीकाअक्षता संस्कृतिले दिइसकेको छ।
८) दशैँमा जमरा  कानमा सिउरिने किन?
पर्वसंस्कृतिको उत्पत्तिमा ऋतु परिवर्तन   र उत्पादन  पध्दतिले नेतृत्वदायी भूमिका  निर्बाह गरेको हुन्छ।
नेपालमा ६ ऋतु वसन्त, गृष्म,वर्षा, शरद,हेमन्त र  शिशिर छन्।तर  खेतीपातीको मुख्य याम भनेका वसन्त  र  शरद ऋतु नै हुन्। हामीकहाँ  असोजे  दशैं र चैते दशैं गरी दुईवटा  दशैं छन्।
दुवै  दशैंमा विभिन्न  अन्न जौ ,गहुँ , मकै धान आदिको जमरा राख्ने चलन छ।टपरीमा माटो भरेर विभिन्न  अन्नादि  मिलाएर घरको अंध्यारो कोठामा जमरा राखिन्छ।दिनदिनै  जलसिंचन गरिन्छ ।घटस्थापनाको दिन राखेको जमरा दशैंका दिन काटेर फूलको रूपमा  प्रयोग  गरिन्छ। हाम्रो नेपालका दशौँ हजार कोट, थुम र थपनामा सामुदायिक रूपमा  जमरा राखिनुले यो दशैंपर्व समस्त नेपाली जनहरूको परंपरागत  सनातनी  पर्व हो  भन्ने कुराकै पुस्ट्याइँ हुन्छ । हाम्रो  नेपाली दशैंपर्वको साइनोसंम्बन्ध लङ्कापलङ्का, योध्दा अयोध्दातर्फ होइन  यसको साइनोसम्बन्ध त अभिन्न  रूपमा  हाम्रो कोट ,थुम, थपना र  देउरालीसंग जोडिएको  दिउँसोको घाम झैं  छर्लङ्गै  छ।  यो पर्व गोरखाका कुनै शाहराजा ,पाल्पाका कुनै सेनराजा वा कुनै राजामहाराजाले शुरुआत  र संरक्षण   गरेको होइन।यो पर्व  नेपाली कृषक उत्पादक ब्यबसायीले शुरुआत  र संरक्षण  गरेको पर्व संस्कृति  हो भन्ने स्वत: देखिन्छ। यसरी जमरा राखेको किन ? घरको भित्री कोठामै  राख्नु पर्ने किन?
यसको उत्तर  खोजिनु राम्रो होला।
उत्तर  गाह्रो  छैन ।खेती गर्ने मौसममा  बिउको उमार शक्ति कस्तो छ  भनेर हाम्रा पूर्बजले यसरी बिउको उमारशक्ति(germination  power  testing) का लागि एउटा  टपरीमा विभिन्न  बिउ राखेर  परीक्षण गरेको देखिन्छ ।उमारशक्ति परीक्षण नगरी बिउबाल छर्दा  बिउ न उम्रेर उत्पादनमा ह्रास नाअओस् ,कृषिबाट हानि नहोस्  पर्याप्त अन्न उत्पादन  गर्न सकियोस् भनेर नै बुध्दिमान् र दूरदर्शी हाम्रा बाउबराजुले जमरा प्रयोगशाला  विधिको अबलंबन गरेको देखिन्छ। बिउबाल उम्रेको खुसीयालीमा  कानमा सिउरिने प्रक्रियालाई  अभियानका रूपमा अगाडि  बढाए। शुभमुहूर्तको दिन  दशमी/दशैंलाई बनाएको देखिन्छ ।
९)  उत्पादन  पध्दति र मौसमले  हाम्रा नेपाली चाडपर्व र संस्कृतिलाई जन्माएका छन्।कुनै जाति वा सम्प्रदायले शुरू गरेको प्रविधि वा प्रचलन किन नहोस्  जो मानवहितकारी र उपयोगी  साबित  हुन्छन्  ती सबैलाई अन्य  समुदायले पनि सिको गर्न  र अनुशीलन  गर्न थाल्दछन्  तब नै चाडपर्वको रूपमा  स्थापित र मान्य हुन्छन् ।
१०) मान्याजनको हातबाट टीका जमरा ग्रहण  गर्नु र  आशीर्वाद लिनु  स्वाभाविक  नै हो।प्रमुख  रङ्गसेतो नै हो।आदिम हाम्रा पुर्खाले सेतो अक्षता नै लगाए।त्यतिखेर रङ्गको आविष्कार  भएकै थिएन।तर पछिल्ला दिनमा  विभिन्न  रङ्गकोआविष्कार भएपछि शुभ र खुसीको रङ्ग रातो र  अशुभ र दुखको  रङ्ग पहेँलो  लगाउने  प्रचलन भएको देखिन्छ ।
सारत: चाडपर्व  र संस्कृति हाम्रो पहिचान हो।यिनलाई साम्प्रदायिक   र अमुक धर्मको साँघुरो घेराभित्र  राखिनु उचित हुँदैन।चाड्पर्व र संस्कृतिको क्षेत्र ब्यापक छ र यिनलाई  सङ्कीर्णतामा होइन  ब्यापकतामा खोजिनु पर्छ र हेरिनु पर्छ। दशैं पर्वलाई पनि ब्यापकतामा खोजौँ। दशैं पर्व नेपाल र नेपालीको  चाडपर्व  र संस्कृति  हो। नेपाल र नेपालीको सभ्यतासंग राम्ररीजोडिएको छ।
जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी।
दुर्गा क्षमा  शिवा धात्री स्वाहा स्वधा नमस्तुते।।
कृषिपर्व विजया दशमीको मङ्गलमय हार्दिक  शुभकामना 
 उत्पादन  बढोस् समृध्दि र खुसीको  वर्षण होस् |

प्राप्त प्रतिकृयाहरू

To Top