यो सरकारले विकासका आयोजना चाहाँदैन

राजनीति असोज २३ 2078 ekhabarnepal
Bishnu poudel

बुटवल, असोज २३ । नेकपा एमालेका उपमहासचिव एवं पूर्व उपप्रधानमन्त्री विष्णु प्रसाद पौडेलले केपी ओली नेतृत्वको सरकारले ल्याएका महत्वपूर्ण विकास आयोजनाहरु कटौती गर्ने र विगतदेखि नै संचालनमा रहेका आयोजनाहरुमा पनि वर्तमान सरकारले बजेट कटौती गरेकोमा आक्रोस ब्यक्त गर्नु भएको छ ।   बर्तमान सरकारले बिकास निर्माण चाहदैन् भन्ने कुरा विकासका योजनाहरुमा कैची चलाउँदै गएपछि स्पष्ट भएको छ, उहाँले भन्नुभयो । 

रुपन्देही उद्योग संघको ४३ औं साधारणसभामा बोल्दै पौडेलले भन्नुभयो, पूर्ववर्ती सरकारले ल्याएका महत्वपूर्ण बिकास आयोजनाहरु अवरुद्ध हुने गरी देउवा नेतृत्वको गठबन्धन सरकारले कैची चलाएको छ । 
गौतमबुद्ध विमानस्थल, सिद्धबाबा सुरुङमार्ग, तिनाउ दानब कोरिडोर, मोतिपुर औद्योगिक क्षेत्र लगायत रुपन्देहीका महत्वपूर्ण विकास आयोजनामा वर्तमान सरकारको कुनै चासो र सरोकारनै नदेखाएको आरोप लगाउँदै पौडेलले गौतमबुद्ध विमानस्थलको दोश्रो चरणको कामको प्रकृया आफुले अगाडी बढाएकोमा बर्तमान सरकारले चासो नदिएकोमा आपत्ति जनाउनुभयो । 
सरकारले दोश्रो चरणको काम अगाडी बढाउन आलटाल गरी रहेको छ बिमानस्थल जस्तो महत्वपूर्ण आयोजनाको दोश्रो चरणको कामलाई सरकारले कुनै अलमल नगरि अविलम्ब अगाडी बढाओस्, पौडेलले भन्नुभयो ।

टेण्डर आव्हान भईसकेको सिद्धबाबा सुरुङमार्ग निर्माणको लागि सरकारले योग्य र सक्षम कम्पनी छनोट गरेर निर्माणको काम पनि अगाडी बढाउन पनि उहाँले आग्रह गर्नुभयो ।

नेता पौडेलले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पोखरा खण्डलाई डबल लेन सडक, बुटवल–लमही–कोहलपुर सडक बिस्तार, बुटवल–नारायणगढ सडक, बुटवल सम्मेलन केन्द्र, बुटवल मेडिकल कलेजको निर्माण, तिलोत्तमामा प्रादेशिक बसपार्क र सैनामैनामा लामिडांडा दह निर्माण जस्ता महत्वपूर्ण आयोजनाको काम अगाडी बढाईएपनि सरकारले ति आयोजनाप्रति चासो नदिएको बताउनुभयो।

पौडेलले लामो प्रयासपछि बुटवलको मोतिपुरमा औद्योगिक क्षेत्र बिस्तारको लागि जग्गा प्राप्त गरि शिलान्याससमेत भईसकेको अवस्थामा अहिले सोही जग्गा अतिक्रमण हुंदा समेत सरकार मुकदर्शक बनेकोमा आपत्ति प्रकट गर्दै मोतिपुरमा जुन उद्देश्यले औद्योगिक क्षेत्रको विकास गर्न खोजिएको थियो त्यसतर्फ हेलचेक्रयाई नगरियोस्,  पौडेलले भन्नुभयो 

पौडेलले बुटवलमाथीको चुर क्षेत्रमा देखिएको भूक्षय रोक्न भौगर्भिक अध्ययन गर्नुपर्ने उल्लेख गर्दै त्यसको लागि प्राविधिक टोली खटाउन सरकारलाई आग्रह गर्नुभयो ।

नेकपा एमालेका केन्द्रिय सदस्य एवं लुम्विनी प्रदेशका पूर्व उद्योगमन्त्री लिला गिरिले एमाले सरकारमा रहंदा वा बाहिर रहंदापनि आफुहरु उद्योगी व्यवसायीको पक्षमा रहेको बताउनुभयो।

उहाँले उद्योग वाणिज्य क्षेत्रको विकास र प्रोत्साहनको लागि अघिल्लो सरकारले ल्याएका कार्यक्रम कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै “सरकारमा रहंदा नीति निर्माण गरेर र बाहिर रहंदा नीति निर्माणको कार्यान्वयनका लागि साथमा रहेर हामी उद्योगी व्यवसायीको सहयोगी बनिरहने प्रतिवद्धता जनाउनुभयो।

संघका अध्यक्ष बावुराम बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष बिरेन्द्र पाण्डे, लुम्विनी प्रदेशका सभासद् भोज प्रसाद श्रेष्ठ, तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे, बुटवल उपमहानगर उप प्रमुख गोमादेवी आचार्य, परिसंघका लुम्विनी प्रदेश अध्यक्ष एजाज आलम संघका पूर्व अध्यक्ष बोनीन पिया, रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहनी, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेल, संघका बरिष्ठ उपाध्यक्ष माधव पौडेल, प्रथम उपाध्यक्ष दिलीप सापकोटा, महासचिव जिबकान्त काफ्ले लगायतले बोल्दै कोभिड माहामारीका कारण औद्योगिक, आर्थिक र सामाजिक क्षेत्रमा परेको प्रभाव बारे आआफ्ना भनाई राखेका थिए।

प्राप्त प्रतिकृयाहरू

To Top