सरकार अपेक्षा गर्ने लायक छैन ः पूर्व अर्थमन्त्री पौडेल

राजनीति असोज ९ 2078 ekhabarnepal
Bishnu poudel wzba8vyo1c

गौतमबुद्ध विमानस्थलको निर्माण कार्य ‘होल्ड’ नगर्न चेतावनी
बुटवल,असोज ९ 
नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको निर्माण कार्य नयाँ सरकारले ‘होल्ड’ गरेकोमा आपत्ति जनाउँदै त्यसलाई नरोक्न प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई चेतावनी दिनुभएको छ। 

अघिल्लो सरकारले अगाडि बढाएको दोस्रो चरणको निर्माण कार्य यसरी ‘होल्ड’ गर्नु अनुचित रहेको तर्क प्रस्तुत गर्दै यस्ता कुरा आफुलाई मान्य नहुने बताउनुभयो ।   

उद्योग व्यापार संगठन रूपन्देहीको साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा शनिवार भैरहवामा बोल्दै पौडेलले केपी ओली नेतृत्वको सरकारको पालामा भएका निर्णय अनुसार एसियाली विकास बैंक (एडीबी) सँग ऋण सम्झौता गरी बहुवर्षीय अन्तर्राष्ट्रिय ठेक्का आह्वान गरी निर्माणको काम छिटो अगाडि बढाउन आग्रह गर्नुभयो। 

‘दोश्रो चरणको काम सम्पन्न हुँदा आगामी ५० वर्षलाई धान्ने हुन्छ, पौडेलले भन्नुभयो र थप्नुभयो,अत्याधुनिक टर्मिनल बिल्डिङ (टिटु) बनाउने, टयाक्सी वे र फराकिलो पार्किङ लगायतका आधुनिक पूर्वाधार तयारी गर्ने कार्य अगाडि बढाउन एडीबीले ७ अर्ब लगानी गर्ने र नेपाल सरकारले ७ अर्ब गरी १४ अर्ब लगानीमा कार्य सम्पन्न गर्ने गरी मोडालिटी तयार भएको थियो । 

सरकारले विमानस्थलको काम रोक्यो भने लुम्बिनी प्रदेश र रूपन्देहीका जनताको विरोधको सामना गर्न सरकार तयार रहे हुन्छ पौडेलले चुनौती दिदै भन्नुभयो ।  विमानस्थललाई अन्तर्राष्ट्रिय क्षमताको बनाउने प्राविधिकहरूको सुझाव अनुसार ओली सरकारले थप ५०० विगाहा जग्गा अधिग्रहण गरेको थियो । 

पार्टीका उपमहासचिव विष्णु पौडेलले अहिलेको सरकारसँग धेरै ठूलो आशा गर्ने स्थिति नरहेको पनि बताउनु भएको छ । पौडेलले सरकार विस्तारको काम दल विभाजन सम्बन्धी अध्यादेशले रोकिएको बताउँदै सरकारमा सहभागी भएका दलहरु पनि फुट्ने अवस्था आएकाले अहिलेको सरकार विस्तार हुन नसकेको बताउनुभयो।
 चार दलीय सरकार चारतिर फर्किएको र विकासका काममा चासो नदिएको बताउँदै उहाँले यो सरकार अपेक्षा गर्ने लायकको पनि नभएको बताउनुभयो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top