चुच्चे नक्सा, ’क्यान्टोन्मेन्ट’ भ्रष्टाचार र एमसीसीवारे संसदमा ओलीका प्रश्नै प्रश्न

राजनीति साउन २६ 2078 ekhabarnepal
Kp oli22 xzanzwv4l5

काठमाण्डौ, साउन २६
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त गठबन्धन सरकारले संसद् छलेर साझा न्यूनतम कार्यक्रम ल्याएकोमा आपत्ति जनाउनु भएको छ । 
संसदको अधिवेशन चालू रहेको र बैठक भइरहेको समयमा नीति तथा कार्यक्रम संसद छलेर ल्याएकोमा ओलीले आपत्ति जनाउनु भएको हो । 
‘संसद् किन छल्नुपर्यो ? आज किन प्रस्तुत गर्न सक्नुभएन ? सरकारले आज किन संसदमा प्रस्तुत गर्न नसकेको ? संसद् छलेको, संसद् छलेको भनेर बडा चर्चा हुन्थ्यो, केपी ओली सरकारले संसद छल्यो भन्ने चर्चा हुन्थ्यो’, उहाँले भन्नुभयोे, ‘संसद नभएका बेला जरुरी परेका काम गर्दा पनि संसद छलेको भन्ने कुरा आउँथ्यो । अहिले त बैठक चालू छ । अनि २६ गते संसद हुनेवाला छ, २४ गते बेलुका बाहिरै कतै संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम भनेर एउटा कागज प्रस्तुत भयो ।’ 
त्यसैगरी ओलीले बैठकमा यो सरकारको कार्यक्रम हो कि साझा कार्यक्रम हो भन्दै प्रश्न उठाउनुभयो । 
‘संसद छलेर ल्याएकोले त्यसलाई कुनै मान्यता दिने कि नदिने ?’, ‘त्यो सरकारले पेस गरेको हो भनेर ठान्ने कि नठान्ने ?’ उहाँको प्रश्न छ ।
त्यसैगरी ओलीले संयुक्त साझा भनिएको सरकारको कार्यक्रममा नेपाली कांग्रेसको अनुहार आफूले नभेटेको भन्दै देउवालाई व्यंग्य गर्नुभयो ।
‘सरकारको न्यूनतम साझा कार्यक्रम हेरेँ विभिन्न अनुहार देखिन्छ, नेपाली कांग्रेसको अनुहारै देखिन्न । अचम्म लाग्यो’, उहाँले भन्नुभयो , ‘नेपाली कांग्रेसको अनुहार कतै छैन यसमा। नीतिमा छैन, कार्यक्रममा छैन। केहीमा पनि छैन ।’
ओलीको प्रश्न ः खोइ एमसीसी?
उहाँले प्रतिनिधी सभामा सम्बोधन गर्दै अहिलेको गठबन्धन सरकारमा हुँदा एमसीसी सम्झौता गरेको बताउँदै गठबन्धनको साझा कार्यक्रममा एमसीसीको विषयमा कतै उल्लेख नभएको बताउनुभयो ।  
‘खै त मैले एमसीसी देखिन त,’ उहाँले भन्नुभयो ‘केपी ओलीले कतै एमसीसी पास गर्नुपर्छ भनेको क्लिप खोजेर वातावरण बनाउन खोज्दै हुनुहुन्छ ।’
 आफूलाई गाली गर्दै क्लिप बजाएर एमसीसी पास गर्ने वातावरण बनाई रहेको पनि उहाँले वताउनु भयो ।

‘नेपाली जनताले जान्न चाहेको छ । के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू’ ‘१६५ जनाको विश्वासको मत पाएको सरकारले के गर्छ ?’ ओलीको प्रश्न थियो ।
दशैँ आउँदा केटाकेटी रमाए जस्तो 
ओलीले सत्तारुढ गठबन्धनका नेताहरु दशैँ आउँदा केटाकेटी रमाए जसरी हौसिए पनि एक महिना बित्दा पनि सरकार बनाउन नसकेको बताउँदै भन्नुभयो,’सत्तारुढ गठबन्धनका नेताहरु दशैँ आए जसरी हौसिएका छन् । दशैँमा केटाकेटी रमाए जसरी रमाएका छन्’,’तर एक महिना बित्दा पनि अझै सरकार बनिसकेको छैन । एक महिनासम्म बधाई र धन्यवाद चलेको छ तर सरकार अझै पूरा भएको छैन ।
सरकारले यस वीचमा उपलब्धी गरेको छ । एक महिनासम्म विस्तार नगरे पनि भूमि आयोगको घाँटी सेरिएको छ’, उहाँले भन्नुभयो, ।
माओवादी लडाकु ’क्यान्टोन्मेन्ट’ को भ्रष्टाचार
अध्यक्ष ओलीले तत्कालीन माओवादी लडाकुको क्यान्टोन्मनेटमा भएको भनिएको भ्रष्टाचार मुद्दा पनि संसदमा उठाउनुभयो । 
’संयुक्त सरकारको नीति तथा कार्यक्रममा भ्रष्टाचारविरुद्ध कारबाही हुन्छ भनेको देखेँ, खुसी लाग्यो’, ’भ्रष्टाचारको कुरा उठेको बेला क्यान्टोनमेन्टको भ्रष्टाचारको कुरा उठेको छ यसबारे छानबिन गरेर सरकारले देखाओस्।’ ओलीले चेतावनीपूर्वक भन्नुभयो ।
ओलीले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना पनि छानबिन गरेर देखाउन पनि सरकारलाई चुनौती दिनुभयो । ’ललिता निवास र मातातीर्थको जग्गाको पनि छानबिन गर्छ होला । सर्दु जलाधार क्षेत्रको पनि क्लियर हुन्छ होला’, उहाँले भन्नुभयो ।
ललिता निवास प्रकरणमा कांग्रेस उपसभापति विजय गच्छदार र मातातीर्थको सरकारी जग्गा विक्री प्रकरणमा जनता समाजवादीका नेता डा. बाबुराम भट्टराई मुछिनु भएको छ । 
ओलीले जनयुद्धका घाइतेहरुको उपचार गर्न पनि सरकारलाई आग्रह गर्दै भन्नुभयो, ’जनयुद्धका घाइतेहरुको उपचार सरकारले गर्छु भन्नुस्’, ’यदि सरकारले सक्दैन भने एमालेको केन्द्रीय कार्यालय थापाथलीमा पठाउनु म उपचार गर्छु ।’
ओलीले मधेस आन्दोलन अगाडि रौतहटको गौरमा २२ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनाको पनि छानबिन गर्न चुनौती दिनुभयो । 
’गौर हत्याकाण्डको यति समय भयो, खोइ त छानबिन गरेको ?’, ओलीको प्रश्न छे, ’लौ त छानबिन गरेर देखाउनुस् ।’ गौर हत्याकाण्डमा हालको सत्तारुढ दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मुछिनु भएको छ । 
’डेढ वर्ष पर्खिनु चुच्चे नक्साको भूमि हामी नै फिर्ता ल्याउँला’
अध्यक्ष ओलीले आफ्नो भूमि फिर्ता ल्याउने कुरामा शेरबहादुर देउवा नेतृत्वको सरकारले खुट्टा कमाएको बताउँदै ’सरकारमा त छिरियो तर अब सबै कुरामा जस्केलाको भर पर्ने होइन होला भन्दै ब्यंग गर्नुभयो । लिम्पियाधुरा लिपुलेक र कालापानी भारतसँग वार्ता गरेर ल्याउँछु भनेर किन भन्न सक्नु भएन ?’, ’त्यो समस्या हो भनेर राख्नु भएको छ, के त्यो समस्या हुन्छ ? त्यो हाम्रो अभिन्न र पवित्र भूभाग हो, त्यो समस्या हुन्छ? त्यसलाई छाडिदियो भने त समाधान होला नि !’ ओलीको प्रश्न छ।
देउवा नेतृत्वको सरकारले हाम्रो भूमि फिर्ता लिन्छु भन्न नसकेको बताउँदै ’स्पष्ट रुपमा हाम्रो भूमि फिर्ता लिन्छौँ भन्न छोडेर यस्तो खुट्टा कमाउने कसले बनायो भन्ने प्रश्न गर्नुभयो । हाम्रो सरकारले आँट गरेर नक्सा बनायो, भारतसँग पत्राचार गर््यो । अहिले उक्त भूभाग समस्या भयो’, ओलीले थपे, ’हाम्रो पवित्र भूभाग हो फिर्ता लिनुस् । छोड्ने अधिकार कसैलाई छैन । तपाईंहरुले फिर्ता लिन सक्नु भएन भने डेढ वर्ष पर्खिनु हामी छौँ ।’
उनले सीमा समस्या रहेका छिमेकीबारे यो सरकारले नाम नै लिन नसकेको बताउनु भयो र थप्नुभयो,   ’कुन कुन छिमेकीसँग  हाम्रो सीमा समस्या छ ? कति साह्रो डराएको होला यो सरकार’, ’जिब्रोबाट पनि रगत आइसक्यो होला कुरा चपाउँदा चपाउँदा ।’ 

प्राप्त प्रतिकृयाहरू

To Top