बजेटमा लुम्बिनी प्रदेश 

राजनीति जेठ १९ 2078 ekhabarnepal
Bisnu paudel finince minister budget 078 79 5 768x504

बुटवल, जेठ १९
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आ.व.२०७८÷०७९ को वजेटमा लुम्विनी प्रदेशले यथोचित स्थान पाएको छ । यस प्रदेशका राष्ट्रिय गौरबका आयोजनाहरु भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी विकास कोष, सिक्टा सिँचाइ, बबई सिँचाइ, भेरी बबई डाइभर्सन लगायतका आयोजनाले प्राथमिकता पाएका छन् ।
लुम्बिनी विकास गुरुयोजनाको बाँकी काम दुई वर्षभित्र सम्पन्न गर्ने र अन्तर्राष्ट्रिय स्तरका योजनाविद्द्वारा लुम्बिनी, तिलौराकोट, रामग्राम र देवदह क्षेत्र समेटी वृहत लुम्बिनी विकास गुरुयोजना तयार गर्ने घोषणा बजेटले गरेको छ । यसका लागि १ अर्ब ५० करोड विनियोजन भएको छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया अघि बढाइने योजना पनि वजेटले ल्याएको छ ।
यसवाहेक कालीगण्डकी डाइभर्सन र भेरी–बबई डाइभर्सन, नौमुरे जलविद्युत आयोजना निर्माणका लागि पनि बजेट राखिएको छ । बुटवल–भैरहवा–लुम्बिनी, कोहलपुर–नेपालगञ्जसहितका ठूला सहरमा निजी क्षेत्रले ठूला विद्युतीय बस सञ्चालन गरे थप प्रोत्साहन अनुदान दिइने भएको छ ।
त्यस्तै बुटवलसहितका ठूला शहरमा विद्युतको तार भूमिगत गर्ने, बुटवल धागो कारखाना निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालन गर्ने प्रस्ताव आहृवान गर्ने, बुटवलसहितका सरकारी अस्पतालमा निःसन्तान दम्पत्तिका लागि आईभिएफ सेवा विस्तार गर्ने, नारायणगढ–बुटवल सडकखण्ड विस्तारलाई तीव्रता दिने, बुटवल–कोहलपुर खण्डको विस्तृत डिजाइन गरी निर्माण थाल्ने, बुटवल मेडिकल कलेजको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण थाल्ने, तिनाउ, दानव नदी नियन्त्रण जस्ता आयोजनाहरुको कामलाई पनि वजेटले सम्वोधन गरेको छ । 
बुटवल–काठमाडौं दूरी छोट्याउन दुम्कीबास–बर्दघाट सुरुङमार्गको अध्ययन गर्ने, बुटवल–लमही–कोहलपुर–अत्तरिया प्रसारणलाइन खण्ड निर्माणको पूर्व तयारी गर्ने, रुपन्देहीको कर्साघाटमा कृषि उपजको थोक बजार बनाउने, रुपन्देहीकै मोतीपुरमा औद्योगिक क्षेत्र बनाउने काम दुई वर्षमा सक्ने, दाङ लक्ष्मीपुरमा औद्योगिक क्षेत्र स्थापना गरिने भएको छ ।
भैरहवा, लमही र बाँकेको नेपालगञ्जमा क्रिकेट मैदान बनाइने भएको छ । बुटवल गोरखपुर र कोहलपुर नखनउ अन्तर्देशीय प्रशारण लाईन बिस्तारका लागि पनि बजेट छुट्टाइएको छ ।
रुपन्देहीका लुम्बिनी सांस्कृतिक नगरपालिका र दाङको तुल्सीपुरलाई स्मार्ट सिटी बनाउने, सिद्धार्थनगर लगायत शहरीकरण भइरहेका नगरपालिकामा सडक, ढल, खानेपानी, मनोरञ्जनपार्क, बसपार्क, शिक्षा तथा स्वास्थ्य क्षेत्रका शहरी पूर्वाधार आयोजना कार्यान्वयन गर्ने, रूपन्देहीको बेलहिया नाकामा २ हजार मालवाहक सवारीसाधन अट्ने पार्किङ यार्ड बनाउने, भैरहवा र नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माण गर्ने, बुटवलको जितगढी संरक्षण गर्न विस्तृत अध्ययन गर्ने, तिनाउ–दानव नदी नियन्त्रण आयोजना निर्माण गर्न पनि बजेट विनियोजन गरिएको बजेट भाषणमा उल्लेख छ ।
बुटवल–भैरहवासहित नगरपालिकाहरूलाई मेगा सिटीमा विकास गर्ने गुरुयोजना तर्जुमा गर्न अन्तर्राष्ट्रिय शहरी योजनाविद्को परामर्श सेवा लिने, र बुटवलका लागि झुम्साखोला खानेपानी आयोजनालाई निरन्तरता दिइने विषय पनि बजेटमा परेको छ ।
दाङको नारायणपुरमा विमानस्थल निर्माण प्रारम्भ गर्न, भालुबाङदेखि सिक्टासम्म जल यातायातको सम्भाव्यता अध्ययन गर्न, प्रगन्ना र बड्कापथ सिंचाइ आयोजना निर्माण गर्न र बृहत दाङ उपत्यकामा सिँचाइ आयोजनाका लागि बजेट छुट्टयाइएको छ । 
पाल्पाको बर्तुङ लिफ्ट खानेपानी आयोजना र सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि बजेट छुट्याइएको छ । यसैगरी सिद्धार्थ राजमार्गलाई डेडिकेटेड राजमार्गका रूपमा विस्तार गर्ने घोषणा बजेटले गरेको छ । पाल्पा–तम्घास सडकको जोर्तेमा सुरुङमार्गको सम्भाव्यता अध्ययनमा बजेट दिइएको छ भने पाल्पामा मौसम मापन गर्न राडर स्थापना हुने भएको छ ।
गुल्मीको सिमीचौरमा नियमित उडान गर्ने र अर्घाखाँचीमा पनि विमानस्थल बनाउने बजेटमा उल्लेख छ । अर्घाखाँचीमा कृषि भण्डारण र एकीकृत वस्ती बनाउने योजना पनि छ । गुल्मीको रुरु क्षेत्रको धार्मिक पर्यटकीय पूर्वाधारको विकास गर्ने घोषणा भएको छ ।
नवलपरासीको त्रिवेणीदेखि देवघाटसम्म जलमार्ग, देशका कतिपय क्षेत्रमा अङ्ग्रेज फौजसग पराजित भएको नेपाली सेना बिजयी हुँदै नेपाली भुमिबाट सदाको लागि अङ्ग्रेज फौजलाई हटाएको बुटवलको जीतगढीलाई संरक्षण गरी विस्तृत अध्ययन गर्नुको साथै पाल्पाको तानसेनलाई सांस्कृतिक सहर बनाउने,नवलपरासीको बर्दघाटमा ट्रमा सेन्टर स्थापना गर्ने जस्ता योजनापनि बजेटमा समेटिएका छन् ।
 

प्राप्त प्रतिकृयाहरू

To Top