लुम्बिनी प्रदेशमा जसपाबाट नवनियुक्त चार मन्त्रीद्वारा सपथ, मन्त्रीहरुलाई २४ घण्टे स्पष्टीकरण 

राजनीति बैशाख ७ 2078 ekhabarnepal
607d6efc28fa6 minister lumbini

बुटवल, बैशाख ७ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएकै दिन प्रदेश सरकारमा चार नयाँ मन्त्रीहरु थपिएका छन् । थपिएका मन्त्रीहरु अबिश्वास दर्ता गर्नेमध्येको एक दल जनता समाजबादी पार्टींका नेताहरु हुनुहुन्छ । नयाँ मन्त्री थपिएसँगै यो प्रदेशमा मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार सुरक्षित देखिएको छ ।
आज अबिश्वास दर्तासंगै नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री रहेका दुई मन्त्रीले राजीनामा दिनुभएको थियो । मुख्यमन्त्री पोखरेलले रिक्त स्थानमा नयाँ मन्त्रीहरुसंगै चार मन्त्रीहरु नियुक्त गर्नुभएको हो ।
नवनियुक्त मन्त्रीहरुमा सन्तोष पाण्डेलाई भौतिक पूर्बाधार बिकास ,बिजय गुप्तालाई भूमि ब्यवस्था ,कृषि तथा सहकारी,कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक र सुमन रायमाझीलाई भौतिक पूर्बाधार बिकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
मन्त्रीहरुलाई प्रदेश प्रमुख धर्मनाथ यादव र राज्यमन्त्रीलाई मुख्यमन्त्री शंकर पोखरेलले सपथ ग्रहण गराउनुभयो । यसअघि आजै नेकपा माओबादी केन्द्रका तर्फबाट मन्त्री रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिनु भएको थियो ।
आजै माओवादी केन्द्र,नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका थिए । अविश्वास प्रस्ताव दर्ता गर्दा केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका ४ जनालाई जसपाले निलम्बन गरेको छ ।

जसपाको निर्णय अनुसार मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही घण्टामै सरकारमा मन्त्री बनेका ४ जनामाथि जसपाले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।
यसैवीच जसपा प्रदेश अध्यक्ष अशोककुमार यादवले प्रेस विज्ञप्ति जारी गर्दै चारै जनालाई यथाशीघ्र सरकारबाट फर्किन निर्देशन गर्दै २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी दिए ।
चित्तबुझ्दो जवाफ नआएमा सांसद पद नरहने गरी कारवाहीका लागि सम्पूर्ण प्रक्रिया अवलम्बन गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 जसपाभित्र उपेन्द्र यादव र बाबुराम भट्टराईले ओली सरकारका कुनै पनि तहमा समावेश नहुन जोडवल गरेका छन् भने महन्त ठाकुर तथा राजेन्द्र महतो सरकारमा सहभागी हुन खोजिरहेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top