प्रदेश सरकार सुन्ने र देख्ने विन्दुमा छ

राजनीति बैशाख १ 2078 ekhabarnepal
Download

शंकर पोखरेल    
मुख्यमन्त्री

नयाँ वर्ष २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख,शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । 
संविधान जारी भएपछि संघ, प्रदेश र स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिले संघीय शासन प्रणालीको व्यवहारिक अभ्यास गर्दै अघि बढिरहेका छन् । तहगत सरकारले जनताप्रति जवाफदेही र जिम्मेवार हुँदै गरेका कामले संविधान कार्यान्वयनको महत्वपूर्ण काम सहजै अघि बढिरहेको छ । संविधान कार्यान्वयन हुँदै अघि बढ्दा संघीय शासन प्रणाली विधिवत रुपमा संस्थागत हुने मार्गप्रशस्त भएको छ । नागरिकका समस्या र चाहना पूरा गर्न तहगत सरकार दृढसंकल्पित छन् ।
 संघीयता कार्यान्वयनको तीन वर्ष पूरा हुँदै गर्दा शासन प्रणालीप्रति नागरिकको अपनत्व बढेको छ । संविधानले तीन तहका सरकारहरुबीच सहअस्तित्व, समन्वय, र सहकार्यको परिकल्पना गरेको छ । प्रत्येक तहका एकल सहित साझा संवैधानिक अधिकार र दायित्वहरु पूरा गर्न बुझाई र काममा एकरुपता, आपसी सामञ्जस्यता र सहकार्य अझै बढाउन जरुरी छ । नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयन अझ व्यवस्थित र प्रभावकारी गर्न  हामी ध्यान दिइरहेका छौं । 
शून्यबाट काम थाल्दै अघि बढेको प्रदेश सरकार यतिखेर नागरिकले सुन्ने र देख्ने विन्दुमा आइपुगेको छ । नागरिकको विकासका आकांक्षा पूरा गर्न प्रदेश सरकार महत्वपूर्ण खम्बाका रुपमा स्थापित हुन सफल भएको छ । गएको वर्ष हामी प्रदेशको राजधानी र नाम सबैले अपनत्व महशुस गर्ने गरी विवादरहित ढंगले टुंगो लगाउन सफल भएका छौं । प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका घोषणा गर्दै हाम्रो प्रदेशले संघीय शासन प्रणालीको मर्मलाई आत्मसात गर्न सफल भएको छ ।  हामी विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस विरुद्धको संघर्षमा छौं । नागरिकलाई कोरोना भाइरस संक्रमणबाट जोगाउन र संक्रमितको उपचारका लागि तहगत सरकार अहोरात्र खटिएका छन् । राज्यले संक्रमण नियन्त्रणका लागि चालेका कदमलाई प्रभावकारी बनाउन नागरिकले गरेको सहयोग र हातेमालो निकै महत्वपूर्ण छ । नयाँवर्षको नयाँ उमंग, नयाँ उत्साह र नयाँ अठोटले कोरोना विरुद्धको संघर्षलाई सफल बनाउने विश्वास लिएको छु ।
अन्त्यमा, सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा नयाँ वर्ष २०७८ को अवसरमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । 

 

प्राप्त प्रतिकृयाहरू

To Top