लुम्बिनी प्रदेशका एमाले कमिटीहरु आयोजक कमिटीमा रुपान्तरण

राजनीति चैत्र ३१ 2077 ekhabarnepal
Emale

बुटवल, चैत्र ३१ । 
 नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको शनिवार बुटवलमा सम्पन्न सचिवालयको बैठकले २०७७ साल फागुन २३ अघि गठन गरेका सबै कमिटीहरुलाई नेकपा (एमाले) मा परिणत गरी आयोजक कमिटी कायम गर्ने भएको छ ।    

बैठकले लुम्बिनी प्रदेशका सवै जिल्ला कमिटीहरुको बैठक आयोजना गर्ने मिति समेत तय गरेको छ । जसअनुसार चैत्र ३० गते पाल्पा, बैशाख ४ गते कपिलवस्तु, ५ गते दाङ्ग, ९ गते रुकुम पुर्व, १० गते रोल्पा, बैशाख ११ गते रुपन्देही र प्युठान, १२ गते गुल्मी, १३ गते नवलपरासी, १४ गते बर्दिया, १५ गते बाँके र बैशाख २५ गते अर्घाखाँचीको बैठक आयाजना गरी पार्टी कामलाई ब्यवस्थित गर्न निर्देशन गरेको हो । त्यस्तै प्रदेश र जिल्ला कमिटीहरुको सचिवालय संख्या निर्धारण गरेको छ । जसअनुसार बैठकले लुम्बिनी प्रदेश कमिटी ६५ सदस्यीय कायम गरेको छ भने जिल्ला कमिटीहरुको हकमा १ मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा ३१ सदस्यीय, २ वटा निर्वाचन क्षेत्र भएको जिल्लामा ३७ सदस्यीय, ३ वटा क्षेत्र भएको जिल्लामा ४१ सदस्यीय र ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा ५१ सदस्यीय सचिवालय गठन गर्न निर्देशन गरेको संगठन विभाग प्रमुख भुमिश्वर ढकाले बताउनुभएको हो । 

 बैठकले २०७७ चैत्रदेखि २०७८ चैत्र मसान्तसम्मको पार्टी संगठित सदस्यहरुको सदस्यता नविकरण र सोको अभिलेखिकरण समेत गरी असार मसान्तभित्र प्रदेश कमिटीमा पठाउन निर्देशन गरेको छ । त्यस्तै  जिल्ला स्तरमा संगठन निर्माण गर्न बाँकी रहेका पार्टी सम्वद्ध जनसंगठनहरुको बैशाख मसान्तभित्र जिल्ला भेला आयोजना गरी कमिटी निर्माण गरिसक्ने, कमिटी बनिसकेका जिल्लामा तल्लो तहसम्म संगठन निर्माण अभियान सञ्चालन गर्न र हाल खाली रहेका प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्यहरुको रिक्त स्थानमा जुनसुकै समय पनि उपनिर्वाचन हुन सक्ने भएकाले सो को पूर्ण तयारी गर्न समेत निर्देशन गरेको छ ।  

बैठकले मातहतका जिल्लाहरुमा पदाधिकारी समेत चयन गरेको छ । जसअनुसार पश्चिम नवलपरासीको संयोजकमा दिपेन्द्र अधिकारी, सहसंयोजक डोलराज भण्डारी र सचिव राजन कुमार आचार्य,       रुपन्देहीमा संयोजक शिवराज सुवेदी, सहसंयोजक तेजेन्द्र के.सी. र सचिव बिश्वराज बराल, कपिलवस्तुमा संयोजक झविलाल पोखरेल, सहसंयोजक डम्बर शर्मा र सचिव धर्मराज भुसाल, दाङ्गमा संयोजक हुकुमबहादुर बस्नेत, सहसंयोजक राममणी पाण्डे र सचिव मनोहर बुढाथोकी, बाँकेमा संयोजक सुर्य ढकाल, सहसंयोजक किस्मत कक्षपति र सचिव प्रमोद धिताल, बर्दियामा संयोजक लालबहादुर श्रेष्ठ, सहसंयोजक शालिकराम अधिकारी र सचिव पदम ढकाललाई चयन गरेको छ ।
 त्यस्तै रोल्पामा संयोजक बालाराम बुढा र सचिव निमप्रसाद रोका, अर्घाखाँचीमा संयोजक चेतनारायण आचार्य, सहसंयोजक  पिताम्बर भुसाल (ख) र सचिव तोजबहादुर रायमाझी, गुल्मीमा संयोजक मधुकृष्ण पन्त, सहसंयोजक  बालसिंह काउछा र सचिव धर्मबहादुर बि.क., पाल्पामा संयोजक नारायण आचार्य र सचिव ओमबहादुर घर्ति, प्युठानमा संयोजक तुल्सीराम शर्मा, सहसंयोजक हुकमबहादुर खड्का र सचिव मोहनबहादुर जि.सी., रुकुम पुर्वमा संयोजक टोपबहादुर ओली र सहसंयोजक रुजिधन घर्ति मगरलाई चयन गरेको कार्यालय सचिव बलराम अधिकारीले बताउनुभयो । 

बैठकमा सबै जिल्ला कमिटीका तर्फबाट जिल्ला कमिटीका संयोजकहरुले पछिल्लो पटक विकसित भैरहेको वर्तमान राजनीतिक अवस्थाका बारेमा रिपोर्टिङ्ग गर्नुभएको थियो । 

बैठकमा प्रमुख अतिथि पार्टी स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज शंकर पोखरेलले पार्टी केन्द्री कमिटीले गरेको निर्णयको भावना,  मुलुकको वर्तमान राजनीतिक अवस्था र पार्टीको दायित्वबारे समग्र चित्रण गर्नुभएको थियो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका पोखरेलले विगतमा अलमलिएका, भड्काउपूर्ण चिन्तन र गतिविधिमा सङ्लग्न रहनुभएका साथीहरूलाई पार्टीमा फर्किन आह्वान गर्नुभएको थियो । प्रमुख अतिथि पोखरेलले विगतका तिक्ततालाई बिर्सेर सबैलाई स्वागत गरिने, सबैलाई सम्मानपूर्वक काम दिइने छ, कसैप्रति पनि पूर्वाग्रह नराखिने समेत बताउनुभएको थियो । 

बैठकको समापन गर्दै कमिटीका अध्यक्ष लिला गिरीले पार्टी विचारमा आधारित संस्था हो, यो गुटहरूको संयुक्त मोर्चा नभएकाले अब गुटबन्दीलाई कुनै हालतमा प्रश्रय नदिइने भन्दै पार्टीका नाममा मनपरी नगर्न आग्रह गर्नुभएको थियो । वहाँले हाल मुलुकमा राजनीतिक हिसावले नयाँ हलचल र अनिश्चितताको माहोल खडा गर्ने प्रयास भै रहेको र अनावश्यक रुपमा बखेडा सिर्जना गरी मुलुकलाई अस्थिर बनाउने दुष्प्रयासका विरुद्ध एकतावद्ध पार्टीको निर्माण गर्दै जिम्मेवार बन्न सबैलाई अपिल गर्नुभएको थियो । 

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लिला गिरीको अध्यक्षतामा बसेको बैठकमा लुम्बिनी प्रदेश सह–ईन्चार्जहरु दलबहादुर राना, बैजनाथ चौधरी, गिरधारीलाल न्यौपाने, केन्द्रीय सदस्यहरु लक्ष्मण ज्ञवाली, दिनेश पन्थी, नजिर मिया, दधिराम न्यौपाने, एकराज बिश्वकर्मा, बिमला घिमिरे, मोहम्मद हारुन हलुवाई र पार्टी नेताहरु नेत्र पन्थी, धनेन्द्रराज घिमिरे, कमलराज श्रेष्ठ, देवराज भार, छविलाल ओली लगायतको उपस्थिति रहेको थियो भने उक्त बैठकको सञ्चालन प्रदेश सचिव खेममान खड्काले गर्नुभएको थियो । 


 

प्राप्त प्रतिकृयाहरू

To Top