मल कारखाना खोल्ने प्रस्ताव मन्त्रिपरिषद्‌बाट स्वीकृत

राजनीति चैत्र १३ 2077 ekhabarnepal
1

काठमाडौँ– सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌बाट स्वीकृत गरेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको हो।

वर्षेनी रासायनिक मलको अभावमा नेपाली किसानहरुले भोग्दै आएको समस्याको दीर्घकालिन समाधानका निम्ति सरकारले मल कारखाना स्थापना गर्न लागेको कृषिमन्त्री अर्यालले जानकारी दिइन्।

‘मलको तत्कालिन समस्या समाधान हामीले गरिसकेका छौँ। हामीले मलको दीर्घकालिन समस्या समाधान गर्ने हेतुले सरकारले मल कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको छ’, मन्त्री अर्यालले भनिन्, ‘यस वर्ष मलको अभावमा किसानहरु छटपटाउनु पर्ने छैन भने उत्पादनमा कमी आउने छैन। मध्यकालीन समस्या समाधानका निम्ति प्रक्रिया अगाडि बढाएका छौँ।’

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालन सम्बन्धी अध्ययन प्रतिवेदन, २०७७ स्वीकृत गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई रासायनिक मल कारखाना स्थापना गर्नका निम्ति प्रक्रिया अगाडि बढाउन स्वीकृति प्रदान गरेको हो।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडालिटीमा नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने कार्यलाई व्यवस्थित बनाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आवश्यक पर्ने कार्यविधि तयार गरी लागू गर्न तथा रासायनिक मल कारखानाको पूर्वाधार निर्माण कार्य गर्न लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ।

प्राप्त प्रतिकृयाहरू

To Top