डल्ला होम स्टेमा २४ घण्टा 

समाज चैत्र ११ 2077 ekhabarnepal
Dr ghimire

डी.आर. घिमिरे
वर्दियाको ठाकुरद्वारामा सञ्चालित जैविक मार्ग होम स्टे (घरवास) राष्ट्रिय रुपमा चर्चित रहेपनि जाने संयोग जुरेको थिएन । संयोगवस फाल्गुण २६ गतेका दिन वेष्टर्न मेगा कलेजले होटल ब्यवस्थापनको स्नातक तह पाँचौ सेमेष्टरमा  अध्ययनरत विद्यार्थीका लागि ‘नेपालमा होमस्टे सञ्चालन र त्यसका लागि आवश्यक जनशक्ति ब्यवस्थापन’ सम्वन्धी विषयमा केन्द्रीत रहेर अवलोकन भ्रमण राखेको थियो ।
वर्षेनी विद्यार्थीहरु यसरीनै अध्ययन भ्रमणमा जाने गर्दछन् । विद्यार्थीसंगै प्राध्यापक र केही संचालक पनि जाने गरिन्छ । यसो गर्दा समस्या के हुन् भनेर पहिचान गर्न सकिन्छ र कतिपय नीतिगत निर्णय गर्न पनि सहज वनाउँछ । यो भ्रमणमा ५५ जना विद्यार्थी, क्याम्पस प्रमुख श्रीप्रसाद भट्टराई, सहायक प्रमुख किशु शर्मा, एकेडेमिक को–अर्डिनेटर अमर थापा, फुड एण्ड वेभरेज प्रमुख विभव न्यौपाने, अतिरक्ति क्रियाकलाप प्रमुख विकास खत्री प्रशासनिक कर्मचारी समिक्षा पोख्रेल र सञ्चालक द्वय यो पंक्तिकार र उमलाल वन्जाडेसहित थियौं । 
त्यसोत विगत वर्षहरुमा पनि भ्रमण हुने गर्दथे । तथापि म आफ्नै कारणले जान सकेको थिइन । यो वर्ष सुनेको, जानेको तर, नदेखेको डल्ला जाने भनेपछि म पनि तयार भएँ ।
‘डल्ला जैविक मार्ग होमस्टे’ नेपालकै  पहिलो होम स्टे हो । पूर्व पश्चिम राजमागर्गदेखि १८ किलोमिटर दक्षिणमा जंगलसँग जोडिएको डल्ला गाउँमा १ सय १२ परिवार बस्छन् । त्यसमध्ये २३ घरमा होमस्टे सञ्चालित छ । 
होम स्टे नभएका घरहरुले पनि आम्दानीका उपाय निकालेका छन् । उनीहरुमध्ये कसैले गाई–भैँसी पालेका छन् । कसैले अर्गानिक तरकारी खेती लगाएका छन् । कसैले लोकल कुखुरा, बाख्रा र माछा पालन गरेका छन् । केही घरले बेतका फर्निचर बनाउने जिम्मा लिएका छन् । यसरी हेर्दा सवैले लाभ लिएका छन् । अहिले जग्गा जमिनमा हलेदो पनि लगाएका छन् । यसो हेर्दा त्यहाँ कोही खाली छैनन् । साँच्चिनै सवैजना उद्यमशीलतामा जोडिएका छन् । समुदायलाईनै लाभ हुने गरी काम गरेका छन् । 
होम स्टेका लागि उनीहरुले आ–आफ्नो घरमा २ देखि ४ वटा कोठा छुट्याएका छन् । २०६७ फागुनदेखि सञ्चालनमा आएको होम स्टे थारू परिकार र संस्कृतिको संगम हो । होम स्टेमा आउने पाहुनाका लागि साँझ सामुदायिक भवनमा सांस्कृतिक कार्यक्रम देखाउँछन् । जसमा झुमरा, लठ्ठी, मजिरा र छोकरा नृत्य हुन्छ । नजिकमा रहेको बर्दिया राष्ट्रिय निकुन्ज पाटेबाघ, गैंडा र गोहीका लागि विश्व चर्चित छ । निकुञ्ज क्षेत्रमा जंगल सफारी, गोही प्रजनन् केन्द्र तथा थारू संग्रहालयको अवलोकन र ठाकुरबाबा मन्दिरको दर्शन गर्न सकिन्छ । यस अर्थमा यी सवै हेर्न सकिने भएकाले यहाँ मानिसहरुको आवतजावत भइरहन्छ ।


 होमस्टेमा स्वदेशी पर्यटकहरुलाई एक रात वसाई, खाना र नास्ताको ८ शय, २ छाक खाजा, तीन छाक खाना र एक रात बसाइका लागि १ हजार ५ सयसम्म लिइन्छ । सार्क र युरोपियनको हकमा अलिक महंगो छ ।
 डल्लाका होम स्टे यस अर्थमा उपयोगी छन् कि त्यहाँ गएपछि जंगली जनावरको दृश्यावलोकन गर्न सकिन्छ । बर्दियाको डल्लास्थित शिव सामुदायिक वन क्षेत्रमा एकसिंगे गैडा मात्र होइन दुर्लभ वन्यजन्तु पाटे बाघ समेत देख्न सकिन्छ । सन् २०१६ मा क्यामेरा ट्रयापिङ प्रविधिबाट गरेको अनुगमनवाट ५८ वटा वयस्क पाटेबाघ रहेको देखाएको थियो । 
 मानव बस्तीबाट करिब ३ सय मिटर टाढाको सीमसार क्षेत्रमा २ वटा एकसिंगे गैंडा सधैनै रहन्छन् ।  आरक्षण क्षेत्रमासमेत गर्दा ८ वटा रहेको शिव सामुदायिक वनका अध्यक्ष मंगल चौधरीको भनाई छ । त्यस मध्ये डल्ला गाउँ बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षका दुर्लभ वन्यजन्तु ओहोरदोहोर गर्ने क्षेत्र हो । जव स्थानीयले जंगली जनावरको माध्यमवाट जीविका चलाउन थाले त्यस पश्चात् चोरीसिकारी वन्द भएको छ । भनिन्छ निकुञ्जले २०६४ सालदेखि गैंडाको चोरीसिकारी शून्य वर्षनै मनाउँदै आएको छ । 
स्थानीयले एकसिंगे गैंडाका लागि सामुदायिक वनभित्र ५ वटा बाटर होल अर्थात् आहल खेल्ने पोखरी र ५० हेक्टर क्षेत्रमा घाँसे मैदान निर्माण गरेका छन् । अर्थात् उनीहरु वन्यजन्तु मारेर दुई–चार जनाले कमाउने भन्दा पनि संरक्षण गरेर गाउँका सवैलाई आम्दानीको माध्यम वनाइरहेका छन् । शिव सामुदायिक वन आरक्षण क्षेत्रजस्तै हो । असुरक्षाका कारण त्यहाँ प्रवेश निषेध छ । प्रवेश गर्नै परे शुल्क तिर्नुपर्छ । अध्यक्ष मंगल चौधरीका अनुसार ट्री हाउसलाई आम्दानीको श्रोत वनाइएको छ । जहाँ रातभरी गएर सुत्ने गर्छन् । एक रात सुतेवापत नेपालीलाई ३ शय, सार्कभित्रका लागि ५ शय र अन्यका लागि ७ शय रुपैयाँ लाग्छ ।   
 २०७२ चैत ८ गते बेलायतका राजकुमार चार्ल्स  ह्यारी यस क्षेत्रमा पुगेपछि यसको चर्चा ब्यापक भयो । चर्चा ब्यापक मात्र भएन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र तारागाउँ विकास समितिले यो होम स्टेलाई नेपालकै उत्कृष्ट घोषणा गर्यो ।   
होम स्टे ब्यवस्थापन समितिका अध्यक्ष परशुराम चौधरीका अनुसार यसले वार्षिक १२ लाखदेखि १९ लाखसम्म आम्दानी गरेको छ । आम्दानीको हिसावले यसलाई अझै आकर्षक मान्न सकिदैन । तथापि उनीहरुमा असन्तुष्टि भने छैन ।
हामी ८ जना ८ नं होम स्टेका सञ्चालक यमराज योगी (३८)को घरमा वसेका थियौं । जसमा अनिश श्रेष्ठ, सुमन गौतम, सक्रिय पौडेल, विवेक ढकाल, ताजेन्द्र मगर र सविन मगरसहित ६ जना विद्यार्थी र कलेज सञ्चालक उमलाल वन्जाडे थियौं । उनका चार सन्तान छन् । वृद्व आमा हुनुहुन्छ । छोरीले पोखरामा वायोलोजी विषय लिएर १२ कक्षा पढ्दै छन् । एक छोरा र अर्की एक छोरीले पनि पोखरामै वोर्डिङ्ग स्कुलमा पढ्छन् । एक छोरा घरमै छन् । यसरी हेर्दा हाम स्टेले जागरुकता जगाएको छ । वच्चा वच्चीलाई पढाउने काममा उत्साहित गराएको छ । विहान ४.३० वजे पुग्दा उनीहरु आतिथ्यका लागि आतु थिए । एकछिन आराम गर्ने उद्वेश्यले तातो पानी पिएपछि २ घण्टा आराम गर्यौं । आरामदायक वसको यात्रामा निद्रा पुगिसकेकोले धेरै सुत्न परेन । तातो पानीले नुहाउने आदत वसेपनि चिसो पानीलेनै नुहायौं । ८ वजे सामुदायिक भवनमा कार्यक्रम राखिएकोले कालो चिया खाएर प्रस्थान गर्यौं । धेरै टाढा नभए पनि सवै जना जुट्न भने एकछिन समय लाग्यो ।
बाँसको गजवको रहेछ सामुदायिक भवन । एउटा गैर सरकारी सस्थाले वनाइदिएको रहेछ । चितवनवाट लगेर वनाइएको किरा आदि नलाग्ने उपचार गरिएको भवन आकर्षकनै लाग्यो । परशुराम चौधरीले सवै नालीवेली लगाएर होम स्टेको कथा सुनाए । तराइ भूपरिधि कार्यक्रमको सहजीकरणमा शुरु भएको रहेछ । शुरुमा सवै जनालाई प्रस्ताव गरिएपनि २३ जना मात्र तयार भएछन् ।
शुरुका कथा वडो मार्मिक थिए । शौचालय एट्याच् नहुँदाका वखत भएका रोचक घटना पनि सुनाए उनले । खाल्डो वनाएर शौच गर्ने ब्यवस्था गर्दा दुर्गन्ध फैलिएको, पछि प्यानमा  एकजना विदेशी शौच गर्न जाँदा कम्वट नभएका कारण तीन पटक फर्कनुपरेको ब्यथावाट खारिदै यो अवस्थासम्म आइपुग्दा धेरै परिवर्तन भएको छ । 
त्यसोत अहिले पनि कैयौं कमी कमजोरीहरु नभएका हैनन् तथापि शुरुका दिन सम्झदा उनीहरुमा खुशी, उत्साह र उमंग छ । भविष्यप्रति आशावादी छन् । 
खरिया र फुलौरीको कथा ः 
हरेक जातजातिका केही विशिष्ट खाने कुरा छन् । केही चालचलन छन् । सस्कार र सस्कृति छन् । यसै मेसोमा पहिलो पटक खाने चिजको नाम खरिया र फुलौरी सुन्न र सेवन गर्न पाइयो । साँझ पख एक फेरो मारेर वडा अध्यक्ष तथा होम स्टे ब्यवसपन समितिका अध्यक्ष परशुराम चौधरीको घरमा पुग्यौं । घरको ब्यवस्था राम्रै थियो । जनप्रतिनिधि हुनुको कारण सो घरमा वाक्लै मानिसको आउजाउ हुनु स्वभाविकनै हो । हामीलाई पनि त्यस्तै लाग्यो । चौधरीको श्रीमतिले पकाउँदै गरेको चिज के होला भन्ने मनमा लागेकै थियो । त्यसै सन्दर्भमा विदावारी भएर हिड्न लाग्दा खरिया र फुलौरी चाख्ने प्रस्ताव आयो । नाइ किन भन्नु ? हुन्छ भन्दै अगेनाको किनारमा वस्यौं सवैजना ।
एक एक वटा वौता (पातको सानो टपरी) मा ल्याउन खोज्दै गर्दा हैन एक ठाउँमा भए हुन्छ भनेर हामी मध्येकै कसैले भन्यौं । मलाई अलि नमिठो लाग्यो । नमिठो लाग्नुको कारण अरु केही थिएन केवल राम्रो गरी चाख्न पाइदैन कि भन्ने हो । खाँदा राम्रो लाग्यो । पछि मात्र नाम थाहा भयो । अनि मैले यसको पकवान कसरी हुन्छ भन्ने जिज्ञासा राखें । त्यसको उत्तरमा श्रीमति चौधरीले विस्तारपूर्वक वताइन् । जस अनुसार खरिया भनेको मासको पकौडा रहेछ ।
फुलौरीको विशेषता फरक रहेछ । यो कृष्ण जन्माष्टमीमा व्रत वसेको दोश्रो दिन विहान खाने चिज रहेछ । खासगरी आइतवारका दिन पर्न गएको कृष्ण जन्माष्टमीलाई अटवारी भनिने रहेछ । सो दिन सूर्यको पूजा गरी व्रत वसेपछि अर्को दिन विहान माइति पक्षले विवाहित चेलीवेटीलाई यो आइटम वनाएर लैजाने चलन रहेछ । यस अर्थमा यसलाई महत्वपूर्ण खान्की मान्नुपर्छ ।
यसको पकाउने तरिका खासै नयाँ हैन र पनि हाम्रा लागि नौलो लाग्यो । कुरा बुझ्दै जाँदा यो पनि पकौडानै रहेछ तर, फरक तरिकाको । अर्थात् पाँच सात घण्टा भिजाएर वनाइने दालकै पकौडा । यसमा  सम्भव भएसम्म सिपचनाको प्रयोग हुने रहेछ । तर, यो नपाउँदा मसुरो वा चनाको पनि वनाइने रहेछ । हामीले खाएको शायद सिपचनाकै थियो होला । स्वादिलो मानेर खायौं । 
एक दुइवटा पिस खाएर निस्केर १४ नं.मा पुग्यौं । जहाँ प्राचार्य श्रीप्रसाद भट्टराई, सहायक प्राचार्य किशु शर्मा लगायतको टिम थियो । हाँसको मासु अर्डर रहेछ । खान थालियो । फेरि उही चिज आयो । हामीलाई शंका लाग्यो यो त सवै ठाउँमा पाइने रहेछ । अलिवेर वसेर साँस्कृतिक कार्यक्रम हुने ठाउँमा जानुपर्ने भएकोले हामी वसेको ८ नं. मा गएर खाना खाने अवसर जुटेन । पर्याप्त मासु खाएका कारण होला खासै खाने जाँगर चलेन । सरासर कार्यक्रममा गएर फर्कदा अलि ढिला भइसकेको थियो । खाना नखाई सुत्न लाग्यौं । घरवेटी चौधरीले थाहा पाएछन्, उनले खाना खान अनुरोध गरे । हामी आफैले विहानै लोकल कुखुरो अर्डर गरेका थियौं । नखाँदा उनीहरुलाई पैसा पाइदैन कि भनेर चिसो पनि पसे होला ।
चिचरी खायौं, ढिकरी चाखेनौं ः  
 हामीले विहानका लागि नास्ताको कुरा अघिल्लै दिन गरेका थियौं । अनदीको चामल स्टिम गरेर खाने चिचरी खाने योजना थियो । थारु सस्कारमा खाइने यो नास्ता मैले नवलपुरको होम स्टेमा खाएकोले सो आइटम आम्रो अर्डरमा थियो ।
विहान उठेर नास्ता खाँदै गर्दा खरिया र फुलौरी पनि थियो । अघिल्लो दिन साँझको खानामा पकाएको हो भन्ने कुरा स्वतः प्रमाणित थियो । चिसो भएपनि हामीले मिठो मानेर खायौं । यसवाट के थाहा भयो भने सामान्यतः सवै ठाउँमा एउटै खाना वन्ने रहेछ । यहाँ सम्मकि तरकारी पनि एउटै थियो ।  
ढिकरी पनि यहाँको ब्राण्डेड खाजा हो । चामलको पिठोवाट वनाइने यो खाजा पहिलानै धेरै ठाउँमा खाएकोले फरक चिज खाने उद्वेश्य हाम्रो थियो । यद्यपि थारु खाजामा यसलाई महत्वपूर्ण मानिन्छ । धेरैजसो ठाउँमा यहीनै वनेको थियो । अर्थात् उनीहरुको मेनुमा ढिकरी थियो । तर, हाम्रो टोलीले भने खाएन । शायद हामीले मात्र अलग खाजा खायौं । 
लसुनको चटनी ः चटनीको स्वाद सारै मिठो थियो । मुलतः लसुनको पात थिचेर वनाएको चटनी हामीलाई नयाँ स्वाद भयो । त्यसैले यो चटनी हाम्रो यात्रा भर संझनालायक विषय वन्यो ।
लमहीको चिया ः  बुटवलवाट जाँदै गर्दा जव लमहीमा पग्यौं, विद्यार्थीहरुले चिया खाने रहर गरे । निद्रा नलागोस् भनेर पनि चिया खानु आवश्यक थियो । चियाको अर्डर भयो । पहिला विद्यार्थीहरुले खाए । तर, उनीहरुले खासै मन पराएनन् । प्राचार्य श्रीप्रसादले बरु एक दुई रुपैयाँ वढी लिनुस् तर, राम्रो वनाउनुस् है । यो कुरा सुनेपछि होटलवालाको पनि पारो चढ्यो । तर, घुमाएर जवाफ फर्कायो । उसले भन्यो–यो समय चिया पकाउने हैन र पकाउँदिनथे पनि । तर, तँपाईहरुले सारै गरेकाले पकाएको हुँ । यति भनेपछि कुरै सकियो । अव यो भन्दा वढी कुरा गर्नु वेकार थियो । 
मैले भनें, हामी हस्पिटालिटी पढाउँछौं । तर, यो क्षेत्रमा काम गर्नेको हालत यस्तो छ । मानिसमा आफ्नो पेशााप्रति निष्ठा र समर्पण छैन । पैसा लिने हो तर ग्राहकलाई सन्तुष्ट पार्नुपर्छ भन्ने छैन । यो विषयलाई आत्मसात नगरेसम्म कसरी ब्यावसायिक वन्न सकिन्छ र ? जो कोहीले पनि कुनै काम गर्नु अगावै त्यसका मर्म वुझ्न सकिएन भने त्यो काम राम्रो गरी सम्पादन हुन सक्दैन भन्ने कुराको त्यो राम्रो उदाहरण थियो ।
 डल्लाको इतिहास यस्तो पनि छ
यो ठाउँमा सहीद स्मारक छ भन्ने मलाई हेक्का रहेनछ । हामीहरु फर्कदै गर्दा वसवाट स्मारक देखेपछि मलाई एक प्रकारको जिज्ञासा जाग्यो र फिर्ता भइसकेपछि फोन गरेर सोधे ।ं कुरा माओवादी युद्धको रहेछ । 
जंगली जनावरवाट त उनीहरु पीडितनै थिए, माओवादी युद्धवाट पनि उनीहरु पीडित भएका रहेछन् । माओवादी सशस्त्र द्वन्द्वका बेला डल्ला गाउँलाई ‘माओवादी गाउँ’ भनिने रहेछ । पूर्व पश्चिम राजमार्गदेखि १८ किलोमिटर दक्षिण जंगलसँग जोडिएको यो गाउँवाट ११ जना नागरिकले ज्यान गुमाएका रहेछन् । 
अहिले वार्ड अध्यक्षसमेत रहेका परशुराम चौधरीका अनुसार एक सय १२ घर भएको सो गाउँबाट तत्कालिन सूर्यपटुवा गाविसबाट मात्र लगभग २१ जना मारिएका थिए । एउटै घरका पाँच जनासम्मले ज्यान गुमाएको दर्दनाक कथा रहेछ सो ठाउँको । यो कुरा पहिला थाहा पाएको भए शायद हामीले सो परिवारलाई भेटेरमात्र आउने थियौं ।
डल्ला होम स्टेका विशेषता ः 
    रात बिताउने पाहुनालाई पारिवारिक वातावरणमा थारु परिकार तथा मनोरन्जनका लागि झुमरा, सखिया, लठ्ठी लगायत थारु संस्कृतिमा आधारित सांस्कृतिक कार्यक्रम देखाइन्छ ।
    अनौठो कुरा के रहेछ भने सवै घरमा एकै प्रकारका परिकार वन्दा रहेछन् ।
    खाना खुवाउँदा स्थानीय उत्पादनलाई प्राथमिकता दिइन्छ । चामल, कुखुरा वा खसीवोका, आलु, साग, दाल वा अरु यस्तै र आवश्यक परे लोकल मदिरा सवै स्थानीय उत्पादन हुन् ।
    प्रायः सवैले रोजगारी पाउने ब्यवस्था छ । सवैजसोले रोजगारी पाएका छन् । विगतमा माछा मारेर गुजारा चलाउनेहरु अहिले अन्य काम गरेर जीविका चलाएका छन् ।
    झिंगटीवाल घर यहाँको अर्को विशेषता हो । यी घरले परम्परा धानेका छन् । राजकुमार ह्यारीको एउटा कुराले उनीहरुलाई छोएको छ । राजकुमारको प्रश्न थियो– १० वर्षपछि पुनः आउँदा खपडाको घर, अहिलेको भान्सा, थारु सस्कार र लठ्ठी नाच कायमै रहला कि नरहला ? यो मेरो पनि जिज्ञासा हो । तर, जवाफ सहज छैन । अवसर खोज्दै गर्दा मानिस कहाँ पुग्छ भनेर कसरी अनुमान गर्ने ?
    हामीहरुले एउटा अनुभव लिएनौं । शायद लिनुपर्ने थियो कि ? जंंगलको वीचमा एउटा सिमलको ठूलै रुख छ । जसलाई ट्रि हाउस भनिन्छ । जसमा ८ देखि १० जनासम्म रातभर वस्न र सुत्न सकिन्छ । 
अन्धविश्वास पनि छ ः
यस ठाउँका विशेषता मात्र छैनन् कतिपय विकृति पनि छन् । अन्ध विश्वास यहाँको सवैभन्दा ठूलो समस्या थियो पहिला । अहिले कम छ । करिव चार वर्ष अगाडिको कुरा हो एउटै घरका बाबु छोराको मृत्यु एक हप्ताको वीचमा भयो । अर्को गाउँमा पनि यस्तै घटना भयो । किन होला भनेर गाउँका गुरुबालाई भेट्न गए । गुरुबाले लामा उत्रदै गाउँका मान्छे किन सधै नाच गान गर्छन् भनेर प्रश्न गरेछन् । 
गुरुबाले यस्तो प्रश्न मात्र गरेनन् अर्को पटक जो पहिला नाच्छ ऊ मर्छ भनेर लाइदिएछन् । नाचगान वन्द भयो । पाहुना आउँदा नाचगान नभएपछि पाहुनानै नआउने अवस्था भयो । चौधरीले सहायक गुरुबा र अरु केहीलाई वोलाएर सोधपुछ गर्दा २०÷२५ घरले मात्र कमाउने भनेर यस्तो वहाना गरेको पत्तो लाग्यो । कुरा यति मात्र हैन बडघरले गुरुबालाई खुट्टामा ढोग गर्दिन हातमा ढोग्छु भनेकाले पनि उनी असन्तुष्ट रहेछन् । यसपछि परशु चौधरीले तर्क गरेछन्–उसो भए मरेका सवैको जिम्मा उसलेनै लिनुपर्छ । यसो भन्नुको कारण ऊ गाउँको साझा अर्थात् बाली घरे गुरु रहेछ । उसलाई गाउँलेले वार्षिक १० क्वीन्टल धान दिने रहेछन् । त्यसैले जिम्मा लिनुपर्ने कुरा गरे । पछि यो सवै पोल खुलेपछि नाच शुरु भएछ । 
सुझाव ः
    घरमा तातो पानीले नुहाउने भएकोले मेरा लागि कोठामा तातो पानी नहुनु समस्या वन्यो । शायद यो समस्या धेरैका लागि होला । 
    जंगली जनावर खास गरी वाघ र गैडाले हरेक वर्ष थोरेै धेरै मानिसलाई शहिद वनाउने गर्छ । यो वर्ष अलि धेरै जनाले ज्यान गुमाउने पर्यो । एउटै वर्ष सात जनालाई वाघले 
य    वाघ हात्ति गैंडाहरु खेतमा आएर खेतीको नोक्सानी गर्ने हुनाले किसानहरु पीडित वनेका छन् । यसका लागि वैकल्पिक खेतीतर्फ आकर्षण गर्नुपर्ने देखिन्छ । जस्तो कि काँडावाला खेती गर्ने । कागती, सिउँडी आदिकोवारेमा अध्ययन भइरहेको रहेछ । यो सकारात्मक पक्ष हो । यथाशीघ्र यसतर्फ ध्यान जानु जरुरी छ ।
    उनीहरुलाई तालिम वेलावखतमा दिइएकै छ । तर, पालिकाले अव ब्यावसायिक ढंगलेनै जनशक्ति तयार पार्ने योजना वनाउन आवश्यक छ । समय क्रममा 
    सो ठाउँमा पुगेपछि कम्तिमा एक दिन समय विताउन सक्ने ब्यवस्था मिलाउन जरुरी छ । खासगरी थारु सस्कृति झल्कने गरी अथवा अरु केही वनाउन सकिन्छ कि ? थारु पोशाकमा तस्वीर लिने ब्यवस्था सहजै मिलाउन सकिन्छ । यसवारेमा पालिकाले पनि धेरै थोक गर्न सक्छ । पर्यटन वोर्डको उचित ध्यान जाँदा पनि कतिपय योजना वनाउन सकिन्छ । 
    अहिले इटा प्रयोग गरी वस्ने व्यवस्था मिलाउन थालिएको छ । थोरै भएपनि यीनको प्रयोग हुनु भनेको क्रमसः वढ्दै जानु हो । त्यसैले यसवारेमा सुस्पष्ट धारण वनाउन जरुरी छ । थारु प्रकृतिकै घर वनाउने कुरा शायद उचित हुन्छ । 
    राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चर्चित वनेको, स्वरोजगारको सृजना गरेको सो ठाउँमा पुग्नका लागि अझै पक्की सडक वन्न सकेको छैन । ठाकुरद्वारादेखि ६ कि. मि सडकलाई पक्की वनाउन जरुरी छ । अहिले खासगरी बर्खामा हिलो र हिउँदमा धुलो खानुपर्ने अवस्था छ । संगसंगै सडक चौडा वनाउन पनि उत्तिकै आवश्यक देखिन्छ ।
    जंगली जनावरको समस्यालाई न्युनिकरण गर्नका लागि जंगल नजाने वातावरण वनाउन पनि उत्तिकै आवश्यक छ । घाँसपात र दाउराका लागि जंगल जानुपर्ने वाध्यता हटाउने उपाय निकाल्नु पर्ने देखिन्छ । यसका लागि निजी जग्गामा घाँस लगाउने र दाउराको सट्टा विद्युत वा ग्यास चुलोको प्रयोग गर्ने वातावरण वनाउन सकिएला ।
 
 

प्राप्त प्रतिकृयाहरू

To Top