बुटवलमा नेपाल–अंग्रेज युद्धको झल्को दिने संग्राहालय वन्दै

राजनीति चैत्र ४ 2077 ekhabarnepal
6051b907d37db news

बुटवल, चैत ४ गते । नेपाल–अंग्रेज युद्धमा नेपाली सेनाहरुले विजय प्राप्त गरेको जितगढी किल्ला रहेको बुटवलमा युद्ध संग्रहालय निर्माण सुरु भएको छ । ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृतिक सहर पुरानो बुटवल (बटौली) लाई जोड्ने गरी निर्माण हुने संग्रहालयमा तत्कालिन नेपाल–अंग्रेज युद्धको झल्को दिने ऐतिहासिक वस्तु र संरचनाहरु हुनेछन् ।

बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बुधबार एक समारोहका बीच उक्त संग्रहालयको शिलान्यास गर्नुभयो । राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रुपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा लिंदै संग्रहालय निर्माण गर्न लागिएको प्रमुख सुवेदीले बताउनुभयो । बुटवल उपमहानगरपालिकाले बनाएको एकीकृत सहरी विकास गुरुयोजनामा रहेको पर्यटन प्रवर्धन अन्तर्गतको एउटा प्रमुख अभियानका रुपमा संग्रहालयलाई अघि बढाईएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार जनप्रतिनिधि निर्वाचित भएपछि बुटवलको आवधिक र दीर्घकालीन महत्वका योजना तय भएका छन् । अबको ५० वर्षपछिको बुटवलको जनघनत्वलाई अनुमान गरेर एकीकृत सहरी विकासको गुरुयोजना बनाइएको छ । जस अन्तरर्गत युद्ध संग्रहालय पनि एक हो । यो संग्रहालय बुटवल वडा नं। १ को भैरव मन्दिर नजिकै रहेको करिब तीन कट्ठा जग्गामा बन्दैछ । संग्रहालय चार तलाको हुनेछ । पहिलो, दोस्रो, तेस्रो तलामा संग्रहालय र चौथो तलामा परम्परागत खानाको परिकारसमेत पाइने गरि क्याफे रहनेछ । यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामान र मायाको चिनोहरु राखिएको शोभिनियर सप रहनेछ ।

करिब छ करोड ८२ लाख ५० हजार दुई सय ५६ रुपैयाँ बराबरको लागतमा उक्त संग्रहालय निर्माण हुन लागेको हो । निर्माणकार्यका लागि उपमहानगर र निर्माण कम्पनीका बीचमा गत माघ १० गते सम्झौता भएको थियो । उपमहानगरका उपप्रमुख गुमादेवी आचार्यले बुटवलको पहिचान झल्काउनेदेखि बुद्धावलीको प्राचीन बटौली र हालको बृहद् बुटवलबारेमा जानकारी गराउने खालको संग्रहालय निर्माण गर्न लागिएकोे बताउनुभयो । शिलान्यास समारोहमा नेपाली कांग्रेसका महासमिति सदस्य युवराज गिरी, नेकपा एमालेका बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थी लगायतले संग्रहालय निर्माण बुटवलका लागि यौटा ऐतिहासिक काम हुने बताउनुभयो ।
निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रतिनिधि इन्जिनियर प्रभाकर लामिछानेले तोकिएको समय अगावै निर्माण सक्नेगरि काम गरिने प्रतिबद्धता जनाउनुभयो । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले निर्माणकार्यका लागि आवश्यक पर्ने समन्वय र सहकार्यमा उपमहानगरले कुनै कसुर बाँकी नराख्ने उल्लेख गर्नुभयो । वडा नं। १ का अध्यक्ष महेन्द्रप्रसाद लिगलले समुदाय स्तरबाट सहयोग र सहकार्य रहने बताउँदै तोकिएको समयमै निर्माणकार्य सक्नुपर्ने चर्चा गर्नुभयो ।

प्राप्त प्रतिकृयाहरू

To Top