ओलीले थप एक कार्यकाल मुलुकको नेतृत्व गर्नुपर्ने अवस्था ः मन्त्री पौडेल

राजनीति फागुन १ 2077 ekhabarnepal
Oli butwal 10

काठमाडौं, फागुन १ः

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं लोकप्रिय अर्थमन्त्री एवं विष्णु पौडेलले नेकपाको वैधानिकता र चुनावचिन्ह ओलीले नेतृत्व गरेको पार्टीसँग रहने बताउनुभएको छ । उहाँले सबैलाई आफ्नो हातमा रहेको सूर्य चिन्ह आत्मविश्वासपूर्वक फहराउन समेत अनुरोध गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘यहाँहरुको आँखामा आँखा जोडेर भन्न चाहन्छु, नेकपाको वैधानिकता र चुनावचिन्ह ओलीले नेतृत्व गरेको पार्टीसँग रहनेछ, आफ्नो हातमा रहेको सुर्य चिन्ह आत्मविश्वासपूर्वक फहराउनुस । ’ बुटबलमा आयोजित पार्टीको जनसभालाई सम्वोधन गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले थप एक कार्यकाल मुलुकको नेतृत्व गर्नुपर्ने अवस्था आएको समेत बताउनुभयो ।

त्यस्तै उहाँले आगामी चुनावबाट ओली नेतृत्वको नेकपाले बहुमत ल्याएर छोड्ने दावी गर्नुभयो । मन्त्री पौडेलले थप्नुभयो,‘केपी ओलीले थप एउटा कार्यकाल प्रधानमन्त्री भएर मुलुकलाई विकास र समाजवादतर्फ लैजानु हुनेछ । हामी सबैले उहाँलाई २७ गतेको निर्वाचनपछि पनि एकपटक नेतृत्व गर्न आग्रह गर्नुपर्ने स्थिति देखा परेको छ ।’

वैशाख महिनामा सम्पन्न हुने निर्वाचनबाट ओली नेतृत्वको नेकपालाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने पौडेलले बताउनुभयो । दुनियाको कुनै तागतले चुनाव रोक्न नसक्ने भन्दै उहाँले जनसभाबाट फर्केपछि गाउँ–गाउँ, टोल–टोलमा चुनावको तयारीमा लाग्न निर्देशन दिनुभयो ।
महासचिव तथा अर्थमन्त्री पौडेलले नेकपा नफुटेको तर केही स्वार्थी तत्वहरु मात्र अलग भएको बताउनुभएको छ । “नेकपा फुटेको छैन, यो पार्टीलाई फुट्न नेपाली जनताले दिंदैनन्” महासचिव पौडेलले थप्नुभयो, “पार्टीभित्रका केही नेताहरुको व्यवधानका बाबजुद सरकारले विकास निर्माणको काम गरेको छ ।” मुलुकलाई अलमल र अन्यौलमा रुमलिन नदिइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
 सरकारले तोकेको मिति आगामी वैशाख १७ र २७ गतेको निर्वाचनको तयारीमा लाग्न उहाँले आम पार्टी पङ्तिलाई आव्हान गर्नुभयो । आगामी निर्वाचनमा हिजो पराजित ठाउँमा पनि निर्वाचन जित्दै ठूलो पार्टी बन्ने दावी उहाँले गर्नुभयो । विकासमा नेपाललाइनै पछाडि नपार्ने जनाउँदै लुम्बिनी प्रदेशलाई पनि पछाडि पार्न नदिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top