देशभर मौसम सफा रहेपनि मौसम विभागको चिसोबाट बच्ने उपाय अपनाउन आग्रह 

समाज माघ २६ 2077 ekhabarnepal

काठमाडौं, माघ २६
गर्मी वढेजस्तो भएपनि चिसो वढ्ने अनुमान गर्दै मौसमविद्ले बच्ने उपाय अपनाउन आग्रह गरेका छन्।

आज बिहान ६ बजे ३ दिनको मौसम अनुमानसँगै मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  पनि जारी गरेको छ ।

 ‘चिसो अझै रहिरहने र तराईका भूभागमा हुस्सु कुहिरोको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

मौसमविद् समीर श्रेष्ठका अनुसार आज बिहान साढे ५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस छ। हिजो उपत्यकाको न्यूनतम तापक्रम १ डिग्री थियो।

महाशाखाको मापनकेन्द्र रहेका स्थानमध्ये सबैभन्दा कम तापक्रम जुम्ला र दोलखाको जिरीमा देखिएको छ। ती दुवै स्थानमा आइतबार न्यूनतम तापक्रम समान माइनस ३ दशमलव ५ छ।

त्यसपछि दशेभरमा सबैभन्दा कम तापक्रम मुस्ताङको जोमसोममा छ। आइतबारको मापनअनुसार त्यहाँ न्यूनतम तापक्रम माइनस २ दशमलव ५ छ।

काठमाडौं उपत्यकाबाहेक अन्य स्थानको आजको अपडेट भने बिहान पौने ९ बजे मात्र आइपुग्ने मौसमविद्ले बताएका छन्।

मौसमविद्का अनुसार नेपालमा अहिले कुनै उल्लेखनीय मौसमी प्रणाली छैन भने देशभर मौसम सामान्यतया सफा छ।

महाशाखाका अनुसार आज माघ २६ गते सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछभने राती सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

माघ २७ गते मंगलबार दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ भने राती सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

त्यस्तै माघ २८ गते बुधबार दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ भने राती ः देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना देखिन्छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

प्राप्त प्रतिकृयाहरू

To Top