वर्षा र हिमपात भोलिसम,चिसो वढ्यो

समाज पौष २१ 2077 ekhabarnepal
5ff3b42e3611a 5ff3b1444b440 767

काठमाडौँ, पुस २१ गते । हिउँदे वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ । वर्षा र हिमपात बुधबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुले भित्रयाएको जलवाष्प र त्यसको प्रभावले आइतबारदेखि नै नेपालको सुदूरपश्चिम र कर्णाली भेगका हिमाली भेगमा हिमपात भइरहेको छ । पहाडी र तराईका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ । वर्षा र हिमपातले बढाएको चिसोले जनजीवनलाई थप असर गर्नसक्ने मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । देशका १९२ वटा वर्षामापन केन्द्रमध्ये गत २४ घण्टामा ४९ वटा केन्द्रमा वर्षा मापन भएको थियो । सबैभन्दा बढी वर्षा जुम्लास्थित केन्द्रमा रेकर्ड भएको छ । हिमाली भेगबाहेकका जिल्लामा पनि न्यूनतम तापक्रम घटेको छैन । जोमसोम र मुस्ताङमा भने न्यूनतम तापक्रम माइनस ०।५ डिग्री सेल्सियस रेकर्ड भएको छ । हुम्ला, मुगुलगायतका जिल्लामा बाक्लो हिमपात भएकाले त्यहाँको उडान प्रभावित भएको छ । रारा क्षेत्रमा पनि बाक्लो हिउँ परेको छ ।
मङ्गलबार देशभर बदलीसहित उच्च पहाडी र हिमाली भेगमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश कर्णाली प्रदेश, गण्डकी प्रदेशका केही स्थान र बागमती तथा प्रदेश १ का केही स्थानमा हल्का वर्षा हुने अनुमान छ । बुधबार पनि यिनै क्षेत्रमा हिमपात र वर्षा हुने सम्भावना मौसम पूर्वानुमान महाशाखाले औँल्याएको छ । उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हिमपात र वर्षा हुने भएकाले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top