संसद विघटनदेखि प्रतिनिधिसभाको चुनाव घोषणा, चुनाव वैशाख १७ र २७ गते  

राजनीति पौष ५ 2077 ekhabarnepal
President approve signing

काठमाडौं, पुस ५
आज बिहान वसेको आकस्मिक मन्त्रिपरिषदको बैठकले प्रतिनिधिसभा विघटन गर्ने सिफारिश गरेपछि दिनभरी राजनीतिक चहलपहल वढेको छ । 
सत्तारुढ दलभित्रै लामो समयदेखिको किचलोले प्रधानमन्त्रीले काम गर्न नपाउने अवस्था आएपछि ताजा जनादेशको पक्षमा जानुपर्ने अवस्था आएको हो । यस अघि सत्तारुढ दलकै सांसदहरुले संसद अधिवेशनको माग गर्दै राष्ट्रपति समक्ष गएको कुरा वाहिरिएको थियो । संसदमार्फत् राष्ट्रपतिमाथि महाभियोग लगाउनेसम्मको तयारी भएको सूचना पाएपछि संसद विघटन गर्नुपर्ने अवस्था आएको हो । 
प्रतिनिधिसभाको चुनाव वैशाख १७ र २७ गते 
यसैवीच सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गर्नुभयो । रेकी छिन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
विज्ञप्तिमा ताजा जनादेशका लागि २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन समेत तय भएको उल्लेख छ । 
सातजना मन्त्रीद्वारा राजीनामाको घोषणा
पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै सातजना मन्त्रीहरुले सामूहिक राजीनामा दिनुभएको छ । सामुहिक राजीनामा दिनुहुनेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन, कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव र खानेपानी तथा सरसफाई मन्त्री विना मगर  हुनुहुन्छ ।
पूर्वमाओवादी पक्षबाट गृहमन्त्री बनेका रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा घोषणा गरेनन् । यसले उनीहरू दुवै जना प्रधानमन्त्री ओलीको साथमा रहेको देखिएको छ । 
प्रधानमन्त्री ओलीले आइतबार संसद विघटनको सिफारिस गर्ने निर्णय मन्त्रीपरिषद बैठकबाट लिनुअघि नै गृहमन्त्री थापासँग सल्लाह गरेका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाद्वारा विज्ञसँग परामर्श
प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आइतबार साँझ केही संवैधानिक तथा कानुन विज्ञहरुसँग परामर्श गर्नुभएको छ । सिंहदरवारमा करिब डेढ घण्टा लामो छलफल गर्नुभएको सभामुखले संवैधानिक विषयमा परामर्श गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुखले केही विज्ञहरुलाई सिंहदरवारमा बोलाएर छलफल तथा परामर्श गर्नु भए पनि बैठक आन्तरिक भएकाले थप विषय प्रष्ट पार्न नसकिने बताउनुभयो । सरकारले चालेको पछिल्लो कदम र समाधानको उपायबारेमा सभामुख सापकोटाले कानुनका विज्ञहरुसँग छलफल गर्नुभएको हो ।
ओलीलाई अनुशासनको कारबाही गर्ने प्रचण्ड नेपालको समुहको निर्णय
प्रचण्ड नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको वैठकले हठात् प्रतिनिधिसभा विघटनको सिफारिस गरेर पार्टीको विधान उल्लंघन गरेको भन्दै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । 
आइतबार साँझ बसेको स्थायी कमिटीको बैठकले ओलीलाई कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको हो । यही बैठकले मंगलबार, ७ पुसमा केन्द्रीय कमिटी बैठक डाकेको छ । 
यस्तै, बैठकले स्थायी कमिटीमा रिक्त रहेको एक पदमा कृष्णबहादुर महरालाई  लैजाने निर्णय गरेको छ। यो निर्णय पनि प्रस्तावका रूपमा केन्द्रीय कमिटीमा लगिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। 
सबै सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा
प्रतिनिधिसभा विघटनपछि  प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा बोलाउनु भएको छ ।
आइतबार साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीलाई बालुवाटारमा बोलाएर मुलुकको सुरक्षा चुनौतीको विषयमा छलफल भएको हो ।
 

प्राप्त प्रतिकृयाहरू

To Top