श्रीङ्गीघाटको किनारमा कैलाश आश्रम र मनकामना सस्कृत विद्या पिठ

समाज पौष १ 2077 ekhabarnepal
Dr ghimire

डी.आर. घिमिरे
स्वामी लोकानन्दको निम्तालाई सहश्र स्वीकार्दै मंसीर २० गते साँझपख करिव ५.३० वजे आरम्भ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष, मुक्तिनाथ धाम नयागाउँका सचिव बाबुराम महत र यो पंक्तिकार कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. २ नन्दनगरमा स्थापित कैलाश आश्रममा पुग्यौं । जंगलको किनारमा पूर्व पश्चिम लोकमार्ग बैरियावाट ३.५ किलोमिटर उत्तरमा बाणगंगा नदीको किनारमा रहेको यो स्थल आफैमा महत्वपूर्ण छ । अझ भनौं बनाइएकोछ । बनाइएको यस अर्थमा कि धेरै ठूलो मेहनत र लगावका कारण यो ठाउँ यो अवस्थामा आई पुगेको छ । यो स्थल भब्य र आकर्षक वन्दै गइरहेको छ । कुनै वेला यही वाटो ढाक्रे वनेर हिडेको यो पंक्तिकार अहिले त्यस क्षेत्रको भब्यता देखेर छक्क पर्नु अन्यथा हैन । 
वाणगंगा नदी प्राचिन भागिरथी नदी मानिन्छ जसको धार्मिक तथा साँस्कृतिक महत्व छ । यो कौशिकी तटका विभाण्डक ऋषिको तपोभूमि  हो । ऋष्यश्रृङ्गको जन्मभूमि हो । श्रीङ्गीघाट यीनै ऋषिको नामवाट नामाकरण भएको मानिन्छ । यसर्थमा यो ऋषि—महर्षिहरुको तपस्थल हो । नेपालका आठवटा प्रमुख तीर्थस्थलमध्ये वाणगंगा पनि एउटा महत्वपूर्ण स्थल हो ।
यही मान्यताका आधारमा पचासको दशक यता श्री १००८ स्वामी कृष्णनन्द परमहंसले यस ठाउँको संरक्षण र विकास आदिमा ध्यान दिएको पाइन्छ । पछिल्ला दिनमा सन्त शिरोमणि श्री १००८ स्वामी लोकानन्दले संरक्षकत्व निर्वाह गर्नु भएको छ । उहाँले संरक्षकत्व दिन थालेपछि यस क्षेत्रकै महिमा वढेको छ र नयाँ नयाँ कार्यक्रम तथा योजनाहरु वनिरहेका छन् । त्यसै अन्तर्गत् गुरुकुल शिक्षा प्रारम्भ भएको छ ।
कैलाश आश्रमको नगिचै श्रीङ्गीघाट जसलाई देउराली घाट पनि भनिन्थ्यो, साठीको दशक अघि हाम्रो रात विताउने थलो थियो । अर्घाखाँचीको पूर्वी क्षेत्रका मानिसहरु खासगरी मैदान, पटौटी, धातिवाङ्ग र आसपास क्षेत्रका पनि मानिसहरु ढाक्रे वनेर आउजाउ गर्ने गरिन्थ्यो । श्रीङ्गीघाटमा पहिलो र दोश्रो दिन बासा वस्ने चलन थियो । ठूला रुखमुनि वास वसिन्थ्यो । युवाहरु दौडेर जाने र वास वस्ने रुख रोज्ने चलन थियो । अलि ढिला आउनेले राम्रो रुख पाउँदैनथे । राम्रो भनेको अलि ठूलो, झाडी भएको हुनु पर्थ्यो । किनकि त्यसले सानो सानो पानी परे पनि ओत हुन सक्थ्यो र विहानको सित पनि रोक्न सक्थ्यो । त्यसवाहेक कुलाको नगिच भए खाना पकाउने पानी ल्याउन र भाँडा माझ्न सहज हुन्थ्यो । साठीको दशक पछि सडक मार्गहरु खुले र भरिया वन्ने प्रचलन हट्यो । 
पहिलो दिन घरवाट वास वस्न आउने र दोश्रो दिन कपिलवस्तुको गजेहडामा लाग्ने विहीवारे वजार गरी फर्केर फेरि त्यही ठाउँमा वस्न पुगिन्थ्यो । शुक्रवार वाणगंगा नदीको किनारै किनार हिडेर दमिल्लावाट नाके उकालो चढेर तारिखे भन्ने ठाउँमा पुगेपछि शनिवार सवेरै पूरा उज्यालो नहुँदै फेरि बाँकी उकालो चढेर घर पुग्थ्यौं ।
दोश्रो र तेश्रो दिन वास वस्ने गरेको देउराली घाटको नगिचै अहिलेको आश्रम वनेको छ । मलाई याद भएसम्म पहाडतिरवाट कैलाश आश्रम आएपछि गाउँ आएको महसूस हुन्थ्यो त्यतिवेला । धान तोरी पिस्ने मिलका आवाज आउँथे । साइकल चढेका मानिस भेटिन्थे । साइकलमा दाउरा र वोरा आदि बोकेको पाइन्थ्यो । मलाई लाग्थ्यो—त्यस्तै साइकलमा नुन चामल वोकाएर हिड्नु पाए कति मजा हुन्थ्यो । टाउकोमा नाम्लोको भार परेर टाउको खुइलेला भन्ने पिरले अलि वाक्लो रुमाल टाउकोमा राखेर हिडिन्थ्यो । साइकल भएको भए त्यसो पनि गर्नु नपर्ने ।
 यो कुरा तीस चालिस दशक तिरको हो । २०३६ साल देखि ०४२÷०४३ सम्म ढाक्रे वनेर नुनतेल गरेको मेरो समयमा हप्तामा दुई दिन भिडभाडनै हुन्थ्यो । त्यतिनै वेला यो ठाउँमा एउटा मन्दिर वनेको थियो । पछिल्ला समयमा पचाशको दशकतिर केही केराका वोट देखिन्थे । एउटा सानो मन्दिर पनि वनेको थियो ।
अहिले थाहा भयो २०५२ साल अगावै कैलाश आश्रम वनेको रहेछ । त्यतिवेला मेरो पनि प्रसस्तै आउजाउ हुन्थ्यो । यो मन्दिरलाई सामान्य मन्दिर ठानेर हिडिन्थ्यो । तर, अहिले थाहा भयो त्योत ब्रह्मविद् योगी युवराजको तप साधना स्थल रहेछ । उहाँलेनै मनकामना मन्दिर वनाउनु भएको रहेछ । पछि उहाँको मृत्यु पश्चात् १००८ स्वामी कृष्णानन्द परमहंसले कैलाश आश्रम वनाई धार्मिक शिक्षा प्रदान गर्न थाल्नुभएको रहेछ । २०५५ सालमा सस्कृत गुरुकुल स्थापना गरी औपचारिक शिक्षाको जग वसालिएको कुरा अहिलेका जानकारहरु वताउँछन् । 
उहाँले शुरु गरेको गुरुकुल शिक्षालाई ब्रह्मनिष्ठ सन्तशिरोमणि १००८ स्वामी लोकानन्दको विशेष संरक्षकत्वमा अगाडि वढाउने काम भएको छ । स्वामी लोकानन्दले संरक्षकत्व प्रदान गर्न थालेपछि यसले फड्को मारेको छ । एकजना ब्यक्ति समर्पणभावले लाग्दा कतिसम्म हुन्छ भन्ने कुराको यो एउटा उदाहरण हो । बुटवलको नयागाउँ क्षेत्रलाई मुक्तिनाथ दर्शन गर्ने स्थलको रुपमा विकास गरेपछि उहाँ यो ठाउँको श्रृविद्वमा लाग्नु भएको छ ।
हालका दिनमा ८५ जना आवासीय र २५ जना स्थानीय गरी १ शय १० जना विद्यार्थीले सो विद्यालयवाट गुरुकुल शिक्षा प्राप्त गरेका छन् । मनकामना सस्कृत विद्या पिठको नामले सञ्चालित यो शिक्षालयलाई लुम्विनी प्रदेशकै नमुना गुरुकुल शैक्षिक केन्द्र वनाउने लक्ष राखिएको छ ।
करिव ५० कोठे भब्य भवन वनाउने परिकल्पना अनुसार जगको काम पूरा भइसकेको छ । जसका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ दिएको रहेछ । वाणगंगा नगरपालिकाको पनि लगानी हुँदैछ । सो नगरभित्र यस प्रकारको शैक्षिक केन्द्र वन्नु गौरवकै कुरा हो । यहाँ केवल धार्मिक विषय मात्र हैन शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको पाठ्यक्रमनै पढाइन्छ । हाल माध्यमिक स्तरको अध्ययन हुने यस विद्यापिठमा क्रमसः उच्च शिक्षा प्रदान गरिने भएको छ ।
गुरुकुललाई प्राच्यविद्या अनुसन्धान केन्द्रको रुपमा स्थापना गर्ने, प्राच्य सस्कृत विद्याकासाथै कम्प्युटर र कृषि विज्ञानजस्ता विषयको अध्यापन गर्ने, अनुसन्धानात्मक ग्रन्थहरुको प्रकाशन गर्ने र आवासीय क्षमताको वृद्वि गर्दै ५ शय छात्रछात्रालाई अध्ययनको ब्यवस्था गर्ने लगायतका दीर्घकालिन उद्वेश्य राखेर यो अभियान चलेको छ ।
 हालका दिनमा मासिक ५ लाख रुपैयाँ खर्च हुने गरेको छ । यसका लागि नेपाल महर्षि फाउण्डेशनवाट केही सहयोग भएपनि अरु सवै चन्दावाटै चलेको छ । खासगरी जन्मोत्सव, विवाह, व्रतवन्ध, श्राद्व आदिजस्ता पुण्य कर्मको माध्यमवाट यो सस्था चलेको छ ।
इच्छा शक्ति ठूलो कुरा हो । त्यहाँ जाने जो कोहीलाई पनि कुनै न कुनै नाममा दान गर्ने इच्छा जागृत हुन्छ । हामीहरु पनि त्यसवाट अछुतो हुने कुरा भएन । जन्मोत्सव पारेर एक दिनको खाना खर्च ब्यहोर्ने प्रण गरियो ।
परम्परा, सस्कृति, सभ्यता, भाषा, साहित्यको अध्यापन र नैतिक विद्यार्थीको उत्पादन गर्नु आजको आवश्यकता हो । यस अन्तर्गत् योग, आयुर्वेद, ज्योतिष, वास्तुशास्त्र, कर्मकाण्डसमेतको अध्यापन गर्ने उद्वेश्य रहेको देखिन्छ । स्वस्थ नागरिक तयार गर्ने हरेक लोककल्याणकारी राज्यको मूल उद्वेश्य हुने भएकोले योग—आयुर्वेदको शिक्षा हरेक नागरिकलाई आवश्यक ठानिदै छ । कोरोना महामारीले पनि यो कुरालाई महसूस गराएकै छ । ज्योतिष र वास्तुशास्त्र आफैमा विज्ञानसम्मत रहेको अध्ययनहरुले देखाएकै छन् । त्यस अर्थमा एक जना जोगीले जे काम गरेका छन् त्यो राष्ट्रिय आवश्यकता हो । कक्षा १० सम्म अध्ययन हुने यस विद्या पिठलाई सरकारले दरवन्दी काय गरी शिक्षकको ब्यवस्था गर्नुपर्ने देखिन्छ । यो राज्यले गर्नुपर्ने कर्तब्य पनि हो । 
त्यसैले पनि सरकारका तर्फवाट सहयोग र समन्वय हुन आवश्यक छ । यसका लागि स्थानीय ब्यक्तिको लगाव महत्वपूर्ण छ । लोकानन्द स्वामीले एउटा सहयोग र समन्वय सकिति वनाउने तयारी गर्नु भएको रहेछ । यसमा उहाँलाई सफलता मिलोस् र यो साँच्चिकै शिक्षाको ज्योति फैलाउने केन्द्र वनोस् । 
 

प्राप्त प्रतिकृयाहरू

To Top