दुम्किवासको बन्द राजमार्ग खुल्यो,अवस्था सामान्य

समाज मंसिर २६ 2077 ekhabarnepal
2020 12 11 dumkibas

रासस 

कावासोती, मंसिर २६ । ट्र्याक्टर चालकको मृत्युका कारण स्थानीयवासीले प्रर्दशन गर्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्ग अहिले पूर्णरूपमा सञ्चालनमा आएको छ । तनावग्रस्त बनेको दुम्किवास क्षेत्र अहिले सामान्य बनेको छ । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा गए राति चालकको मृत्युपछि स्थानीयवासीले प्रदर्शन गर्दा पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध भएको थियो । स्थानीयवासीले मृत्युको घटनालाई लिएर प्रहरी कार्यालय घेराउ र राजमार्ग अवरुद्ध गरेका थिए ।

विनयी त्रिवेणी–२ को पहेलीभित्ता भन्ने स्थानको विनयीखोलामा लु ३ त ८१७५ नंका चालक  दाङ राजापुर गाउँपालिका–४ निवासी २४ वर्षीय हरिश्याम यादवको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका थिए । प्रहरीको कुटाइबाट यादवको ज्यान गएको भन्दै स्थानीयवासीले  इलाका प्रहरी कार्यालय दुम्किवासमा प्रदर्शन गर्दै राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरीले भने भाग्ने क्रममा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको बताएको छ ।

प्रहरीले अहिले प्रदर्शनकारीलाई हटाएर राजमार्ग खुलाएको छ । स्थानीयवासीले घटनाको छानबिनको माग राखेका छन् । मृतक यावदको शव भरतपुरमा रहेको छ । शवको परीक्षण गरिने र आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइने इलाका प्रहरी कार्यालय दुम्किवासका प्रमुख प्रहरी निरीक्षक विकास बमले बताए । स्थानीयवासीले घटनाको छानबिन गरी मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता नआए पुनः आन्दोलन गर्ने बताएका छन् । 
 

प्राप्त प्रतिकृयाहरू

To Top