अर्थमन्त्री पौडेलको सांसद विकास कोषको रकम स्वास्थ्य क्षेत्रलाई

राजनीति मंसिर १४ 2077 ekhabarnepal
5fc3669b89fa4 sasmsad kosh

बुटवल,मंसिर १४ गते ।
 स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष) को रकम अर्थमन्त्री तथा रुपन्देही २ का सांसद विष्णुप्रसाद पौडेलले यस बर्ष सबै रकम स्वास्थ्य क्षेत्रमा छुट्याउनुभएको छ । गतवर्ष उहाँले सबै रकम शिक्षा क्षेत्रमा छुट्याउनुभएको थियो ।
स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समिति रुपन्देही क्षेत्र नं. २ का संयोजक तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बसेको बैठकले यसवर्ष स्वास्थ्य क्षेत्रमा लगानी गरिने भएको हो।
निर्णय अनुसार शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवम् सुदृढीकरण कार्यक्रम, तिलोत्तमा नगरपालिका वडा नंं.२ लाई एक करोड,पदमपाणी योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रम, सैनामैना नगरपालिका वडा नं. १ लाई एक करोड रुपियाँ बिनियोजन भएको छ ।
त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लव अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना तथा सन्चालन, बुटवल उपमहानगरपालिका वडा नंं ९ रुपन्देहीलाई ५० लाख र शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रम, बुटवल उपमहानगरपालिका वडा नंं. १२ रुपन्देहीलाई १ करोड ५० लाख रुपैया विनियोजन गरिएको छ ।
अर्थमन्त्री पौडेलले कोभिड १९ का कारण स्वास्थ्य क्षेत्रलाई महत्व दिदै यसपटक सबै रकम यो क्षेत्रमा छुट्याइएको बताउनुभयो । बजेट जताततै छर्दा प्रभावकारी परिणाम नआउने ठानेर आफूले गतवर्षदेखि यस्तो अभ्यास गरेको बताउदैँ उहाँले गतवर्ष शिक्षा क्षेत्रमामात्र विनियोजन गरिएको रकमले राम्रो परिणाम दिएको बताउनुभएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top