गौतमबुद्ध विमानस्थलमा १० मेगावाटको सोलार प्लान्ट राखिने

समाज मंसिर १२ 2077 ekhabarnepal
You

बुटवल, मंसिर १२ ।  भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थलमा १० मेगावाटको सोलार प्लान्ट राखिने भएको छ । यसवारेमा आजै ऊर्जा, जलश्रोत तथा सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच सोलार प्लान्ट राखेर विद्युत आपूर्ति गर्नेबारे छलफल भएको छ ।

शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा मन्त्रीद्वय वर्षमान् पुःन र योगेश भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला, ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीण अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेपाल नागरिक उडड्यन प्राधिकरणका पदाधिकारी सहभागी थिए ।

बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई एक साताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर मन्त्रीहरुलाई बुझाउन निर्देशन दिएको छ ।

एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निजी क्षेत्रमार्फत भैरहवा विमानस्थलको खाली जमिनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्ने योजना छ ।

एडिबीले सोलार प्लान्टका लागि नेपाललाई दिएको १८ अर्ब ५ करोड रुपैयाँमध्ये झापामा ५, बुटवलमा ७, पोखरामा ४ र चनौटामा ८ मेगावाट विद्युत उत्पादन गर्ने प्रक्रिया यसअघि नै बढेको छ । बुटवल र पोखरामा निर्माण हुने प्लान्टका लागि प्राधिकरणले विद्युत खरिद बिक्री सम्झौता भने गरिसकेको छ ।

सोलार प्लान्ट निर्माणका लागि आवश्यक जमिन नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ वर्षका लागि नेपाल विद्युत प्राधिकरणलाई भाडामा दिनेछ ।

प्राधिकरणले निजी क्षेत्रलाई सोलार प्लान्ट निर्माणको जिम्मा दिने र उत्पादित विद्युत खरिद गरी विमानस्थलका लागि आपूर्ति गर्ने प्रस्तावमा उल्लेख छ ।

बैठकमा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पुनले नेपाल जलविद्युतमा आत्मनिर्भर हुने चरणमा रहेको भए पनि वैकल्पिक ऊर्जा सन्तुलनका लागि सोलार प्लान्ट पनि जरुरी रहेको उल्लेख गरे । उनले एक साताभित्र उपयुक्त प्रस्ताव ल्याउन निर्देशन दिए ।

यस्तै पर्यटनमन्त्री भट्टराईले सोलारमार्फत विमानस्थल सञ्चालन गर्न सकिए अन्तर्राष्ट्रिय रुपमै राम्रो सन्देश जाने बताए ।


 

प्राप्त प्रतिकृयाहरू

To Top