तिलोत्तमा नगरवाट कोरोना संक्रमितको शव व्यवस्थापन

समाज कार्तिक ५ 2077 ekhabarnepal
Shab

तिलोत्तमा,कात्तिक ५  । 
कोरोना संक्रमणबाट मृत्यु भएका तिलोत्तमाका एक पुरुषको बुधबार तिलोत्तमा नगरपालिकाले शव व्यवस्थापन गरेको छ ।
  जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्थापन गर्दै आएकोमा तिलोत्तमा नगरपालिकाले बुधबारदेखि आफैले शव व्यवस्थपन गर्न थालेको हो । नगरस्तरीय  कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को मंगलबारको बैठकले कोरोना संक्रमणबाट नगरबासीको मृत्यु भए शव व्यवस्थापनको जिम्मा नगरपालिकाले लिने निर्णय गरेको थियो ।
  सोही निर्णय अनुसार बुधबार मृत्यु भएका कोरोना संक्रमित पुरुषको शव नगरपालिकाकै खर्चमा व्यवस्थापन गरिएको नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत गणेश गौतमले जानकारी दिए ।
  तिलोत्तमा नगरपालिका वडा न ५ निवासी ४७ बर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । लामो समयदेखि श्वासप्रश्वास, उच्च रक्तचापको समस्या रहेका उनी ७ दिन देखि होम आइसोलेसनमै रहेका थिए ।
  स्वास्थ्यमा समस्या देखीएपछि उनलाइ बुधबार बिहान क्रिमशन अस्पताल लैजाँदैं गर्दा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । मृत्यु भएपछि शंकरनगर सामुदायिक वन क्षेत्रमा नगरपालिकाको स्वास्थ्य शाखाको टोलीले शव व्यवस्थापन गरेको सिनियर अहेव अधिकृत गौतमले बताए । यो सँगै तिलोत्तमामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।
  हालसम्म तिलोत्तमाका ७२६ जनालाई कोरोना संक्रमण भएकोमा ३९३ जना निको भएका छन् भने ३२५ जना सक्रिय संक्रमित छन् ।  तिलोत्तमाले कन्ट्रयाक्ट ट्रेसिङमा परेका नगरबासीको पहिलो पटकको परीक्षण समेत निःशुल्क गर्ने निर्णय गरेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top