रुपन्देहीमा उपभोक्ता आन्दोलनका २० वर्ष

समाज भाद्र २२ 2077 ekhabarnepal
Dr ghimire

डी.आर. घिमिरे
त्यसोत हरेक दिन महत्वपूर्णनै हुन्छ तर, आज रुपन्देही जिल्लाको सन्दर्भमा सम्झनुपर्ने दिन हो । आजैको दिन अर्थात् ०५५ साल भाद्र २२ गते उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको स्थापना गरिएको दिन हो । पत्रकारितावाहेक सामाजिक जागरण तथा विकास मञ्चको सचिव, पत्रकार महासंघलगायत सस्थामा म आवद्व थिएँ । मलाई सम्झना भए अनुसार नन्दीकेशर ढकालले मलाई उपभोक्ताको आवाज उठाउने काममा तँपाई लाग्नु पर्यो भनेर भन्नुभयो । उहाँले नर्वु लामा, श्याम पाठक, तेजप्रसाद पाठकसमेतको नाम लिनुभयो । मैले सहजै हुन्छ भनें र यो सस्थामा निरन्तर २० वर्ष लागिएछ ।
त्यस यता धेरै ब्यक्ति ब्यक्तित्वहरु यसमा सक्रिय हुनुभयो । कसैले सस्थाको सदस्य वनेर नैतिक समर्थन गर्दै मनोवल उँचो वनाइदिने काम गर्नुभयो । कोही आफै सक्रिय हुनुभयो । सचिवको रुपमा मैले माइन्यूट वोकेर धेरै वर्ष हिँडे र पछि बुटवलको मेयर वनेपछि भोजप्रसाद श्रेष्ठले नगरपालिकामा अफिस कोठा दिनु भयो । धेरै समयसम्म अफिस त्यहँी रह्यो । थोरवहुत वजेट छुट्टाउँथ्यो नगरपालिकाले । त्यसैवाट कार्यक्रम गरिन्थ्यो । यसो सम्झेर आउँदा धेरैनै गरिएछ जस्तो लाग्छ अहिले ।
यही शनिवार तेजप्रसाद पाठक, ऋषि आजादसमेत वसेर एकछिन समिक्षा गर्यौं । शुरुदेखिनै कोषाध्यक्षको रुपमा तेजप्रसाद पाठकको भूमिका उल्लेख्य रह्यो । उहाँ ब्यावसायी भएर पनि अविचलित रुपमा यसमा क्रियाशील हुनभयो । उपभोक्ताका पिता स्व. नर्वु लामालाई हरेक ठाउँमा लगेर प्रस्तुत गर्ने र आर्थिक ब्यवस्थापन गरिरहने काममा पाठक नभएको भए नर्वु लामाले शायद त्यति गर्न सक्नु हुन्नथ्यो कि ? किनकि मृत्युपर्यन्त नर्वु लामा जसरी हिड्नुभयो त्यसका पछाडि पिल्लरको रुपमा पाठकनै हुनुहुन्थ्यो । 
उपाध्यक्ष श्यामवहादुर पाठकले पछि बुटवल छाड्नुभयो र सो ठाउँमा तेजप्रसाद पाठकलाई सहवरण गरियो र कार्यवाहक हुँदै अहिले प्रदेश ५ को अध्यक्षको रुपमा उहाँ सक्रिय हुनुहुन्छ । रिक्त कोषाध्यक्षमा ऋषि आजादलाई सहवरण गरियो । म सचिवको रुपमा र केन्द्रीय सदस्यको रुपमा पनि एक कार्यकाल रहें । पछि मैले सवै सस्थाहरुवाट अव विदा हुन्छु भनेर लागें र प्रादेशिक मोडलमा गएपछि ऋषि आजादले सचिवको रुपमा काम गर्दै आउनु भएको छ । यसवीचमा स्व गणेशमान सैंजू, अर्जुन ज्ञवाली, ई.मिलन ब्रज्राचार्य,शंकर पाण्डे, अनुपमान श्रेष्ठ, बुटवलमा रहुन्जेल शुसिला प्रधानाङले कुनै न कुनै रुपमा साथ सहयोग दिइरहनुभयो । विनोद पहाडीले पनि शुरुशुरुका दिनमा सक्रियता देखाउनु भएको थियो । रुपन्देही उद्योग संघले पनि सस्थागत रुपमा पर्याप्त सहयोग गरेको छ । 
 
२० वर्ष कुनै एउटा सस्थाको इतिहासमा थोरै समय हैन । यसवीचमा के गरियो के गरिएन ती सवैको सिंहावलोकन गर्न सम्भव पनि छैन । तर एउटा स्वयंसेवी सस्थाको रुपमा धेरैनै गरिएको छ । मेरो स्मृतिमा धेरै कुरा छैनन् । तर, तेजप्रसाद पाठकको स्मृतिमा कैयौं कुरा रहेछन् । यद्यपि तिनको तिथिमिति ठ्याक्कै भन्न सकिदैन । मुख्य कुरा त हामीले जिल्लामा कैयौं काम गरिरहँदा केन्द्र निदाएको थियो । त्यतिवेला डा. सुन्दरमणि दीक्षित अध्यक्ष र सीताराम मास्के महासचिव हुनुहुन्थ्यो । ब्यक्तित्व असाध्यै राम्रो हुनुका कारणले सस्थाको गरिमा पनि त्यसै अनुसार थियो । तर, काममा सिथिलता । यता जिल्लामा नर्बु लामाको कियाशीलता । पटक्कै सैह्य भएन । पछि काठमाण्डौ डेलिगेसन गएर केन्द्रलाई सक्रिय हुन वाध्य पार्ने काम रुपन्देहीलेनै गर्यो । शायद त्यसैको पुरस्कार वापत नर्बु लामा केन्द्रीय सचिव पनि हुनुभयो ।
रुपन्देहीको दबाव पश्चात् केन्द्रीय समिति पुनर्गठन भयो । हालका अध्यक्ष ज्याति बानियाँ त्यतिवेला सविव हुनुहुन्थ्यो । पछि महासचिव हुनुभयो । उहाँ महासचिव भएपछि सस्था धेरै क्रियाशील भयो । क्रमसः उहाँ अध्यक्ष भएपछि सस्थाले राष्ट्रिय नेटवर्क वनायो र काममा पनि एउटा उचाई प्राप्त गर्यो । अहिले झण्डै हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सकेको छ । यसका बानियाँको लगावले धेरै हदसम्म काम गरेको छ ।
संक्षेपमा भन्नुपर्दा रुपन्देहीका केही उल्लेख्य र सम्झन लायक काम निम्न वमोजिम रहेछन् । जसलाई तेजप्रसाद पाठकको सहयोगमा उल्लेख गरेको छु । 
१. बीस वर्ष अगाडि यसको केन्द्रीय महासचिव सीताराम मास्के हुनुहुन्थ्यो । पेट्रोलियम पदार्थको मूल्य वृद्वि अचाक्ली भइरहने । यसवारेमा उपभोक्ताको तर्फवाट आवाज बुलन्द गर्नुपर्दथ्यो । त्यस सन्दर्भमा हामीले बुटवलवाट २०० मि. को कपडामा हस्ताक्षर संकलन गरी महासचिवमार्फत् तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई विरोधस्वरुप हस्ताक्षर वुझाइएको थियो । यो कार्यक्रम अन्यत्र भएको थिएन । बुटवलवाट मात्र गरिएको थियो ।
२.विषाक्त धारा तेलको प्रयोगले लुम्विनी अञ्चल अस्पतालमा एक जना बच्चाको मृत्यु प्रकरण यस क्षेत्रको लागि पिडादायी थियो । मुर्गियाको एक घरका तीन वटा बच्चा एकै पटक विरामी भए । डा. ओ.के. श्रेष्ठले उपचार गर्नुभएको थियो । रोगको पहिचान भएन । निको नहुने सम्भावना भएपछि सुविधासम्पन्न ठाउँमा लैजानुपर्छ भनेर कान्ति बाल अस्पतालमा लगियो । काठमाण्डौ लग्दा बच्चाको आमाले दुइजनालाई लैजान मान्नुभयो । एउटा कान्छोलाई मान्नु भएन । आखिरी काठमाण्डौ लगेका निको भए । बुटवलमै उपचार गरको बालकको मृत्यु भयो । ती वच्चाको उपचारका लागि शायद निःशुल्क ब्यवस्था गरिएको थियो । 
 खाने तेलमा अखाद्य मिसावट गरेका कारणले यो अवस्था आएकोले त्यसको विरोधमा ब्यापक जनमत कायम गर्ने काम भयो । अहिले मलाई पनि त्यसको नाम थाहा भएन । जव यो कुरा थाहा भयो यसले ज्यादै सम्वेदनशील वनायो । तत्पश्चात् जिल्लाभरी माइकिङ्ग गरी विषाक्त तेलको प्रयोग नगर्नका लागि प्रचार प्रसार गरियो । यहाँसम्मकि भारतीय सिमा क्षेत्रमा यसको प्रयोग वढी भएको सूचनाका आधारमा तत् क्षेत्रमा विशेष अभियाननै सञ्चालन गरियो ।
३. भलवाडीस्थित लुम्विनी इन्जिनियरिङ्ग कलेजमा अध्ययनरत बुटवलकी सुनयना शाक्यको दुर्घटनावाट मृत्यु भयो । कलेजमा प्रवेश गर्न थाल्दा दुर्घटना भएर घटनास्थलमै मृत्यु भएपछि बुटवलमा ठूलै जुलुस निस्क्यो । शायद दुर्घटना भएर मृत्यु हुँदा निस्केको त्यो जुलुस त्यतिन्जेलसम्मका लागि पहिलो थियो । यसमा पनि मञ्चले सक्रियता देखाएर उचित क्षतिपूर्तिको माग राख्यो र अन्ततः ३ लाख रुपैयाँ क्षतिपूर्ति भराइएको थियो । मलाई लाग्छ दुर्घटनावाट क्षतिपूर्ति पाएको यस क्षेत्रका लागि यो नै पहिलो घटना हुनुपर्छ । 
४. पाल्पा जिल्लावाट एकजना विरामी खुट्टाको अप्रेसन गर्न लुम्विनी अञ्चल अस्पतालमा आएका थिए । दाहिने तर्फ अप्रेसन गर्नुपर्नेमा देब्रेतिर भयो । यो अप्रेसन डा. बुलन्द थापाले गर्नुभएको थियो । यसलाई पनि मञ्चले ब्यापक रुपमा उठाएर थोरवहुत क्षतिपूर्ति भराएको थियो ।
५. जेब्रा क्रसिङ्ग राख्ने चलन यस क्षेत्रमा थिएन । सडक दुर्घटना असाध्यै धेरै हुने । यसको न्यूनिकरणका लागि कुरा उठिरहने । ठोस काम नहुने । त्यस्तो अवस्थामा वसपार्क र ट्राफिक चोकमा भएपनि जेब्रा क्रसिङ्ग राख्नका लागि सडक विभागलाई दवाव दिएर पहिलो पटक जेब्रा क्रसिङ्गको शुरुवात गरिएको थियो ।
६. बुटवलमा मासुको विक्री वितरण सारै अस्तब्यस्त थियो । माछा र अन्य पशुपंक्षीको मासु एकै ठाउँमा वध गर्ने र विकी गरिन्थ्यो । यो भएन भनेर जिल्ला पशु कार्यालयलाई पटक पटक ध्यानाकर्षण गराइयो । कार्यालय प्रमुख वरिष्ठ पशु चिकित्सक डा. कृष्ण साखी हुनुुहुन्थ्यो । नियमित रुपमा भएको अनुगमन पश्चात् वध स्थल र विक्री स्थल अलग अलग गराइयो । कुरा त्यति मात्र हैन आधुनिक वध सथल वनाउन मञ्चले पटक पटक आवाज उठाइरह्यो । डा. साखीकै पहलमा ३० लाख रुपैयाँ केन्द्रीय वजेट प्राप्त भयो र निर्माण कार्य शुरु भयो । विडम्वना अहिलेसम्म पूरा हुन सकेन । दुरदर्शिता कम भयो । डिजाइनमा कमजोरी भयो । जे होस् एकपटक प्रक्रियामा छिरेपछि जनप्रतिनिधिहरुको पनि दवाव भइरह्यो । ढिलै भएपनि ब्यवस्थित वधशाला बन्दैछ । यसका लागि मञ्चको अथक प्रयास, नर्वु लामाको असाध्यै जोडवल उल्लेख्य रह्यो । मलाई लाग्छ यसको निर्माण कार्य पूरा हुँदाका दिन स्व लामाको आत्माले पनि शान्ति पाउनेछ ।
७. हाटवजारलाई ब्यवस्थित गर्ने, नापतौलमा हुने ठगीलाई नियन्त्रण गर्ने, रिक्साको ब्यवस्थापनजस्ता काममा पनि मञ्चले अगुवाई गरिरह्यो । पछिल्ला दिनमा ई रिक्साको ब्यवस्थापन अन्तर्गत् रुट कायम गर्ने, मूल्य निर्धारण गर्नेजस्ता काममा पनि नेतृत्वदायी भूमिका रह्यो ।
८. आयोडिनयुक्त नुन खानुपर्छ भन्ने कुरा विदितै छ । पोका नुन आयोडिनयुक्त हुन्छनै तर, ढिके नुनमा हुँदैन । धेरै गरिवहरुले सस्तोका कारण यही नुनको प्रयोग गर्दछन् । त्यसैले साल्ट ट्रेडिङ्गलाई भनेर ढिके नुनलाई पनि आयोडिनयुक्त वनाउन दबाव दिइयो । कार्यालय प्रमुखले हुन्छ भनेर भनेका थिए । हामीसंग नापजाँच गर्ने आधार छैन । भए होला भनेर विश्वास गर्नैपर्यो । यद्यपि यस मामलामा अहिले पनि हेर्न र बुझ्न आवश्यक छ । 
९. मञ्चले यो जिल्लाभित्र मात्र हैन धादिङ्गमा पनि कल्याणकारी काम गरेका थियो । स्व. नर्बु लामाले अन्नपूर्णपोष्ट दैनिकमा छापिएको एउटा समाचार देख्नुभएछ । जसमा २१ घरपरिवार जाडोका कारण दुःख पाएको विषय थियो । लौ कपडा संकलन गरेर लैजानुपर्यो भनेर मञ्चका सवै साथीहरुलाई खवर गर्नुभयो । सामान्यतः लामा सर बोलेपछि तर्क वितर्कको कुरै हुँदैनथ्यो । हस् भनेर वजारभरी घुमेर कपडा संकलन गरियो । बालबालिका, महिला, पुरुष सवैलाई हुने गरी कपडाको छनौट गरियो । लैजाने समस्या थियो । त्यतिवेला वस समितिको अध्यक्ष सूर्य भट्टराई हुनुहुन्थ्यो । उहाँसंग कुरा राखेपछि गाडीको ब्यवस्था भयो । सोही गाडीमा कपडा लिएर नर्बु लामा र तेजप्रसाद पाठक जानुभयो । तर, माओवादीको युद्व चलेकै थियो । कुनै गैरसरकारी सस्था हो भनेर वितरण गर्न नपाइने उर्दी जारी भयो । त्यसपछि शायद स्थानीय उद्योग बाणिज्य संघलाई बुझाएर फर्कनुपर्यो । त्यो पनि सस्थाको नाम नलिइकन । जे होस् उनीहरुले वितरण गरिदिए ।
१०. एकपटक मासको दालमा अखाद्य राखेर वेचेको पाइएपछि त्यसवारे कुरा उठाउँदै जाँदा पशु आहारमासमेत काम नलाग्ने प्रमाणित भएपछि ठूलै मात्रामा नष्ट गरिएको थियो ।
११. दशैं तिहारको समय थियो शायद । ४ शय क्वीन्टल घीउ नक्कली पाइएपछि सवै लगे नष्ट गरिएको थियो ।
१२. एक पटक खशी वाख्राका खुट्टा मात्र १ टनजति घरभित्र गन्हाएको भेटिएपछि सवै लगेर नष्ट गरिएको थियो ।
यस्ता अनगिन्ती उदाहरण छन् । सवै उल्लेख गरेर सम्भव हुने कुरा भएन । तर, उपभोक्ताहरु वजारमा ठगिन्छन् भन्ने कुरा स्थापित सत्य हो । यसमा नियामक निकायले गर्ने कुरा त छनै तर, त्यत्तिमै भर परेर हुँदैन । यसको प्रमुख कारण जनशक्ति कम छ । हरेक उपभोक्ताले उजुरवाजुर गर्ने हो भने पनि कारवाहीका लागि दवाव दिन सकिन्छ । कम्तिमा यो २० वर्षमा यति कुरा भएको छ । तर, अवका दिनमा पालिकास्तरमा सरकार भएकोले जनस्तरवाट त्यसप्रकारको दवाव दिनु आवश्यक हुन्छ ।
१३. अन्तमा हामीले आजको दिनलाई स्मरण गर्नका लागि बुटवल उपमहानगरस्तरीय समिति आजै घोषणा गर्ने तयारी गरेका छौं । विगतमा रहेको सक्रियताका आधारमा यो समिति वनाइएकोले यसलाई विस्तार गर्ने काम यसलेनै गर्नेछ । साथै हरेक पालिकामा गठन गर्ने उद्वेश्य रहेकोले सो अनुसार आवश्यक गृहकार्य गर्न पनि सरोकारवाला सवैलाई अनुरोध गर्नु उचितनै हुनेछ ।  
२०७७ भाद्र २२
 

प्राप्त प्रतिकृयाहरू

To Top