रासायनिक मलको विकल्पमा नेपालमा पनि शून्य वजेट खेती गर्ने कि ?

समाज भाद्र १८ 2077 ekhabarnepal
Dr ghimire

डी.आर.घिमिरे
यतिवेला मलको हाहाकार छ । पूर्वदेखि पश्चिमसम्म रासायनिक मल किन्नेको लर्के छ । सरकारले वंगलादेशसंग कुरा गरि सकेको भएपनि कहिलेसम्म आउला र त्यसले पनि पुग्ला वा नपुग्ला यसै भन्न सकिन्न । यो समस्या यो वर्षको मात्र हैन हरेक वर्ष यस्तै हुन्छ ।
यो पटक विगतभन्दा अलि फरक ढंगले कुरा उठिरहेको छ । त्यो के भने कृषि मैत्री घनश्याम भुषाल कृषि मन्त्री छन् । अव उनले के गर्लान् ? कतिपयले यसलाई घनश्यामको परीक्षाकोरुपमा लिएका छन् । यद्यपि उनले केही समय अघि काम गर्न सजिलो छैन भनेर भनिसकेकाले सांकेतिक रुपमा त्यसको पनि केही अर्थ रहला ।
अर्को कुरा ठेकेदार जो छन् प्रचण्डका घरवेटी रहेछन् । उनले ठेक्का पाउनुभित्र चलखेल हो कि भनेर पनि अड्कल काट्नेहरु छन् । तर, कृषिमन्त्री भुषालले सस्तोवालालाई दिंदा यो समस्या आएको हो कि भनेर भनेका छन् । उनको यो भनाइले प्रचण्डसंगको नाता खासै रहँदैन । सामान्यतःजो थोरै वोल्छ उसैलाई दिनैपर्छ । कथंकदाचित् धेरै वोल्नेलाई नदिएको भए कमिशनको कुरा आइहाल्थ्यो । कम्तिमा यसवाट मन्त्री वँचेका छन् । अव समयमा नल्याएमा कारवाही हुन्छ कि हुँदैन भन्ने मात्र हो । त्यसमा पनि मन्त्रकिो प्रतिवद्वता आइसकेको छ । त्यसैले त्यतिन्जेल चुप लागेर वस्नुको विकल्प छैन ।
यसको अर्थ मलको समस्या भने जहाँको तहीँ छ । यो अरु केही वर्ष रहिरहने छ । जवसम्म नेपालले आफै उत्पादन गर्न सक्दैन तवसम्म यसरीनै विताउनु पर्नेछ । अव एक मात्र विकल्प कारखाना स्थापना गर्नु हो । यो सरकारले त्यसतर्फ जति छिटो कदम चाल्छ त्यतिनै समाधानको विन्दु फेला पर्नेछ ।
यद्यपि विकल्प यो मात्र हैन । हामीले भारतीय कृषि विशेषज्ञ सुभाष पालेकरले शुरु गरेको शून्य वजेट कृषि अभियान चलाउन सक्छौं कि सक्दैनौं ? आफ्नै श्रोत साधन अथवा कच्चापदार्थ त्यो पनि पैसा तिर्न नपर्नेलाई प्रयोगमा ल्याएर आवश्यकतालाई घटाउन सक्छौं भने त्यसो किन नगर्ने ? 
के हो पालेकरको अभियान ? 
पालेकरको दर्शन प्राकृतिक कृषि  हो । भारतमा अहिले धेरै ठाउँमा जिरो वजेटमा कृषि भन्ने नारानै छ । विभिन्न ठाउँमा यसप्रकारको अभ्यास गरिन्छ । कर्नाटकमा ब्यापक छ । यसको अर्थ कृषिका लागि रासायनिक मलमा लगानी नगर्ने, विषादीमा नछर्ने, कम्पोष्ट मल वा अरु कुनै मल नहाल्ने नै हो । अथवा कुनै चिजमा खर्च नगर्नु । जसवाट खेतीको मूल्य घट्छनै र प्राकृतिक तरिकाले पनि खेती गरिन्छ भन्ने कुरा स्थापित हुन्छ ।
पालेकरका अनुसार एउटा स्थानीय जातको गाइवाट ३० एकड जग्गामा मल र आवश्यकता अनुसार विषादी पूरा गर्न सकिन्छ । एक गाइवाट दैनिक प्राप्त गर्न सक्ने गोमुत्र र गोवरलाई अर्गानिक माटो, गुँडको पानी र दालको वेसन मिसाएपछि र त्यसलाई पानीमा मिसाएर खेतमा लगाएपछि दैनिक उत्पादन हुने यो जीवामृतले एक एकड जमिनलाई पुग्छ । अर्थात् मासिक जम्मा हुने गोवर र गोमुत्रवाट ३० एकडलाई पुर्याउन सकिन्छ ।
सुभाष पालेकरका अनुसार पाँच सात लिटर गोमुत्र, त्यतिनै मललाई मुछेर झोल वनाउने । त्यसमा अर्गानिक भरसक पिपलको वोटमुनिको माटो एक दुई किलो, एक किलो गुँडलाई पानीमा डुवाएर वनाएको झोल र दालवाट वनाएको वेसन एक किलो । यी सवै अलग अलग घोलेर ठूलो ड्रममा एकै ठाउँ मिसाउने र एक हप्ता राख्ने । दैनिक एकपटक चलाउने । एक हप्तापछि नवौं दिनमा निकालेर प्रयोग गर्न थाल्ने । हरेक वालीमा चार पाँच पटकसम्म खेतवारीमा छर्ने । यसपछि विस्तारै सो जग्गा पनि अर्गानिक हुँदै जान्छ र उत्पादन पनि तदनुसारकै हुन्छ । यस्तो प्रक्रियाले उत्पादन घट्दैन । वढ्छ ।
यसले जमिन पनि वन्जर हुन्न । विभिन्न रोगको आगमन हुँदैन । रोगमुक्त अनाज उत्पादन हुन्छ । लागत घट््छ । यसरी वजारवाट एक रुपैयाँको पनि सामान नकिनीकन तयार गरिने झोल मल वा जैविक विषादी प्रयोग गरेर खेती गरिने भएकोले यसलाई जिरो लागतको खेती भनिएको हो । यसो गर्दा पानी असाध्यै कम लाग्छ । भनिन्छ ७० देखि ८० प्रतिशत पानी कम लाग्छ ।
यस प्रकारको खेतीको प्रयोग हरियाणा कुरु क्षेत्रमा पनि गरिएको छ । जहाँ १८० एकड जग्गा छ । यो एकप्रकारको मोडलनै हो ।
नेपालले जैविक विषादीलाई प्रोत्साहन गर्नका लागि सरकारी नीति ल्याउन पहल भइरहेको वताइन्छ । जैविक विषादीलाई प्राथमिकता दिएका कारण पछिल्ला दुई तीन वर्षयता ३२ वटा जैविक विषादी उत्पादन गर्ने संस्थासमेत दर्ता भइसकेका छन् । तर, स्पष्ट नीति वनेको छैन । मुख्य कुरा जैविक विषादीको परीक्षण गर्ने कुनै संयन्त्र छैन । संयन्त्र नभएपछि कर्मचारीको स्वविवेकमा भर पर्छ र कसैलाई चित्त बुझेन भने कारवाहीको विषय वन्न सक्छ । 
कृषि विभाग अन्तर्गत विषादी बन्दीकरण तथा व्यवस्थापन शाखा छ । यसले रासायनिक विषादीलाई विस्थापित गराउन जैविक विषादीको उत्पादनलाई प्रोत्साहन गर्नु पर्ने हो तर, महसूस हुन सकेको छैन । यसले किसानलाई पनि यसको प्रयोग गर्न आकर्षित गर्न जरुरी छ ।
 गतसाल नाष्टले एउटा परीक्षण गरेको थियो र त्यसवाट अमेरिकी फौजी कीरासमेत मार्न सक्ने देखिएको थियो । यो विषादी भएपनि यसले मलको कामसमेत गर्दछ । भारतमाजस्तै प्राकृतिक मल वनाएर किसानलाई प्रयोग गर्न उत्प्रेरित गर्ने हो भने रासायनिक मलको आयात कम हुन्छ र स्वदेशमा अर्गानिक उत्पादन हुनसक्छ । 
विभिन्न वनस्पतिहरु बकाइनो, चुत्रो, नीमको पात, टिमुर, बोझो, तोरीको तेल, सुर्तीको पात, तितेपाती आदिलाई मिलाएर विषादी वनाउन सकिने हुन्छ । यस्ता प्रयोग भएका पनि छन् । तर, ब्यावसायिक रुपले उपलब्ध गराउन नसकेसम्म यसको कुनै अर्थ हुँदैन । 
वजारमा सहज ढंगले उपलब्ध हुन सकेन भने त्यसको प्रयोग गरिदैन । बुटवल—१३ का केही महिलाहरुको समुहले यसलाई उत्पादन गरेका छन् । तर, यसको प्रचार प्रसार गर्न र किसानलाई प्रोत्साहन गर्न सरकारी निकायको ध्यान जानुपर्छ । 
नेपालमा यति विधि मलको अभाव हुँदै गर्दा सरकारले परम्परागत ज्ञानको भरपुर प्रयोग गर्नेतर्फ ध्यान नजानु विडम्वना हो । 
कमसेकम हरेक पालिकाले ८÷१० विगाहा जग्गामा भएपनि परीक्षण गर्न सक्ने हो भने यसवाट सकारात्मक उपलब्धी प्राप्त हुन सक्छ । त्यसवाहेक तरकारी खेतीमा प्रयोग गर्दा अझै राम्रो हुन सक्छ ।
भारतका वहुचर्चित् कृषि विशेषज्ञ सुभाष पालेकरले शुरु गरेको शून्य वजेट कृषि अभियान नेपालका लागि पनि फलदायी हुन सक्छ । रासायनिक मलको अभावले कुनै मन्त्री वा सरकारनै सफल कि असफल भनेर चर्चा हुँदै गर्दा सो अभियानलाई कार्यान्वयन गर्नेतर्फ सम्वद्व क्षेत्रको ध्यान आकर्षित हुने हो भने एउटा सानो विकल्प हुनसक्छ ।
को हुन् पालेकर ? 
पालेकरले नागपुरवाट कृषि विषयमा स्नातक तहको शिक्षा प्राप्त गरेपछि शून्य बजेट प्राकृतिक (आध्यात्मिक) कृषिको आविष्कार गरेका हुन् । यिनले कृषि कर्मका लागि कुनै पनि रासायनिक कीटनाशक पदार्थको उपयोग गरिनु हुँदैन । बजारवाट अन्य औषधि खरीद गर्नु हुँदैन भनेर विकल्प प्रस्तुत गरेका थिए । यिनको योगदानलाई राज्यले सम्मान गर्दै वर्ष २०१६ मा भारतको चौथो सर्वोच्च नागरिक पुरस्कार ’पद्म श्री’ ले सम्मानित गरिएको थियो । पद्मश्री सुभाष पालेकर शून्य वजेट खेतीका जन्मदाता हुन्  ।
 महाराष्ट्रको विदर्भ क्षेत्रको सानो गाउँ बेलोरामा जन्मेका पालेकरले पत्ता लगाएको कृषिमा लागत शून्य र विषादिको प्रयोग नगरी उत्पादनमा वृद्वि गर्ने काम सामान्य हुँदै हैन । अध्ययनकै सिलसिलामा उनले सातपुड़ा आदिवासी क्षेत्रमा गएर उनीहरुको समस्याकोवारेमा अनुसन्धान गरेका थिए । 
त्यसक्रममा वर्ष १९७२—१९८५ सम्म जब रासायनिक मलको प्रयोग भयो तवसम्म उत्पादकत्वमा वढोत्तरी भयो । तर, १९८५ पश्चात् कृषि उत्पादनमा गिरावट आउन शुरु गर्यो । यसवाट उनी आश्चर्यचकित भए । आखिरी किन कम भयो ? ३ वर्षको अनुसन्धान पश्चात् उनले कृषि विज्ञान एक गलत दर्शनमा आधारित रहेको निष्कर्षमा पुगे र उनले रासायनिक कृषिको विकल्पमा अनुसन्धान गर्न थाले ।
कलेज जीवनको दौरानमा उनले जव आदिवासी क्षेत्रमा काम गर्दै थिए उनले आफनो जीवन शैली र सामाजिक संरचनाको अध्ययन गरेका थिए ।  उनले जंगलमा प्रकृति प्रणालीको अध्ययन गरे । जंगलमा विभिन्न रुख विरुवा हुन्थे तर, तिनको प्रयोग हुँदैनथ्यो । त्यसपछि १९८६—१९८८ सम्म जंगली वनस्पतिको अध्ययन गरे । त्यसवाट प्रकृति आत्मनिर्भर रहेको, जैविक विविधताका कारण वनस्पतिको विकास भएको देखे । 
तत्पश्चात् १९८९—१९९५ को दौरान प्राकृतिक प्रक्रियालाई आफ्नै खेतमा परीक्षण गरे र अन्ततः शून्य वजेट कृषिको प्रारम्भ गरे । यो आन्दोलनमार्फत् खासगरी किसानले किन आत्महत्या गर्दछन् भनेर पनि उनले खोज गरेका थिए । जसलाई शून्य वजेट खेती भनेर भनिन्छ ।
अव नेपालमा यसप्रकारका प्रयोग भएका ठाउँकोअध्ययन गर्ने, किसानमा ब्यापक प्रचार गर्ने, केही पकेट क्षेत्रमा कार्यान्वयन गर्ने, यसका लागि संघ, प्रदेश र स्थानीय सरकारले प्रोत्साहन गर्ने आदि काम गर्नेतर्फ पनि ध्यान जानु जरुरी छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top