भ्रामक सूचनाको पछि दौड्दा नराम्रो गरी थला पार्न सक्छ

समाज भाद्र १४ 2077 ekhabarnepal
Dr ghimire

डी.आर घिमिरे
अहिले वजारमा कोरोना केही हैन भनेर मास्कसमेत नलगाउन सार्वजनिक आहृान गरिएका सन्देश पढ्न पाइन्छ । ती सन्देशमा भनिएको हुन्छ—विरामी हुँदा भ्याक्सिन हुन्न । भेन्टिलेटरमा लगे पनि औषधि छैन । कुनै उपचार पद्वति छैन । माक्स लगाउँदा १०० प्रतिशत सुरक्षित छैन । यस्तै हो भने पोजेटिभ र नेगेटिभको के अर्थ ? अर्थात् किन परीक्षण गर्ने ? किन घर वस्ने ? यस्तै यस्तै कुराहरु प्रससतै आएका छन् । सम्भवतः यसो भन्नेहर आफैमा सुरक्षित वसेका पनि होलान् । आफु सुरक्षित वस्ने अरुलाई नानाथरीका कुरा गरेर उत्तेजित वनाउँदा के होला ?
निश्चयनै कतिपय कुरामा असहमति राख्न सकिन्छ । तर, सम्पूर्ण रुपले गलत भनेर प्रचार गर्दा त्यसले निम्तिने भयावह अवस्थाको जिम्मेवार को होला ? अलि वढी आतंक सृजना भएकै छ । यो महसूस धेरैको छ । आतंक कुन अर्थमा भने समाजमा संक्रमित र मृत्यु हुनेको तथ्यांक सुनाएर वा पढाएर सनसनी मच्चिएको छ ।
विरामी विभिन्न कारणले मरिरहेका छन् । तुलनात्मक रुपमा अरु रोगलेभन्दा थोरैको मृत्युपनि भएकै होला । औषधि केही गर्दैन भन्ने कुरामा आंशिक सत्य पनि होला । तर, मास्कले संक्रमित संख्या घटाएको छैन भनेर कसरी भन्न सकिन्छ । 
आश्चर्यको कुरा के हो भने सामान्य वेसारपानी, हाम्रै घरवरपर पाइने जडिवुटीवाट निको हुने रोगको औषधि किन पत्ता लाग्दैन ? विश्व स्वास्थ्य संगठनले यीनै जडिवुटीको अनुसन्धान किन गर्दैन ? सेनिटाइजरले मर्ने भाइरसलाई मार्ने औषधि किन पत्ता लाग्दैन ? सुनिए अनुसार ८० प्रतिशत चिनियाँहरु परम्परागत औषधिवाटै निको भएका छन् । त्यस अर्थमा हाम्रा नीतिनिर्माताहरुले पनि यस विषयलाई अनुसन्धानको विषय वनाउन् भनेर जनमत वनाउन पनि सकिएला । यद्यपि अनुसन्धान भइरहेको तथ्य पनि सार्वजनिक भइरहेकै छ । कुरा यति हो कि परिणाम आजको भोलि आउँदैन । आउँदो हो त सारा विश्व यति विधि आतंकित किन हुन्थ्यो र ?
चिनियाँ भाइरस भनेर तल्लोस्तरको गाली गलौजमा उत्रने अमेरिकालेनै औषधि किन पत्ता लगाउन सक्दैन ? सजिलो गरी हुने भए उसले चाइनालाई देखाइदिन भएपनि औषधि पत्ता लगाइसक्ने थियो । त्यसैले यो केही हैन भनेर प्रचार गर्दा यसले घातक अवस्था ल्याउन सक्छ ।
यसैवीच डा. केआई सिंहले सामाजिक सञ्जालमा भन्नुभएको छ— कोरोना कुनै भ्रम होइन, सबै सचेत र सजग वनौ ! सामाजिक दुरि राखौ , हात धोऔ,  मास्क अनिवार्य लगाऊ ! समाजप्रति उत्तरदायी वनौ !
त्यस्तै डा. शागर न्यौपानेले सामाजिक सञ्जालमार्फत् चिकित्सकीय ज्ञान नभएका वा नभोगेकाहरुलाई सुझाव दिदै एक स्टाटस लेखेर भन्नुभएको छ—
आफू उमेर नढल्केका हुनाले पूर्ण स्वस्थ्य छु, यो कोरोनावाट कोही डराउनुपर्दैन, म निषेधाज्ञालाई मान्दै मान्दिन,कोरोनाको मृत्युदर संक्रामक रोगहरुमध्ये अत्यन्त न्यून छ आदि जस्ता परिवार र समुदायप्रति गैर जिम्मेवारपूर्ण र दिग्भ्रमित गर्ने आफ्ना वा अरुका विचार प्रवाह नगर्न विशेष अनुरोध गर्दछु । 
यो भनाईसंग किन पनि पूर्ण सहमत हुनुपर्छ भने नेपालको अहिलको तथ्यांकले भन्छ युवाहरु वढी संक्रमित छन् । किन ? चलायमान धेरै भएरै त होला ? हेलचेक्राइ गरेरै त होला ? केही हुन्न भन्ने भ्रम भएरै त होला ? कन्ट्याक्ट ट्रेसिङमा एकै जनाले आठ दश जनालाई पनि प्रभाव पारेकै छ । परिवारमा एकजनालाई देखिएपछि सवै जनालाई सारेको पनि छ । आखिरी किन ?
त्यसैले भावनाका कुरा गरेर मान्छेको मन जित्ने कुरा मात्र नगरौं । यसले गरिव धनी केही भनेको छैन । सुरक्षित वस्नेलाई छोएको छैन । मास्क लगाउने र कहीँ जान परे आफ्नै गाडी प्रयोग गर्नेलाई छोएको छैन । घरमै वसेर पनि प्रतिरोधात्मक क्षमता वढाउनेलाई पनि छाएको छैन । यसो भनेर युवालाई किन भनेर नभनौं । किनकि हरेक युवाहरुमा प्रतिरोधात्मक क्षमता हुन्छ भनेर पनि विश्वास नगरौं । बरु हरेकको पछाडि केही छ कि भनेर खोज गरौं । सानो जिज्ञासा वा खोजले पनि ठूलै परिणाम दिन सक्छ । हरेकले आत्म समिक्षा गर्दै आफू, आफ्नो छिमकी, नातागोता वा इष्टमित्रको पनि संक्रमित छ भने त्यसको मसिनो गरी अध्ययन गरौं । के खायौं र खुवायौं ? त्यसले कस्तो प्रभाव पार्यो ? वरु त्यसलाई सार्वजनिक गरौं । जसवाट अरुका लागि सिकाई हुन्छ र यसो भयो भने एउटा टुंगोमा पुग्न पनि सकिन्छ । 
हामीले नभुलौं सवैजनाको एउटै प्रकारको प्रतिरोधात्मक क्षमता पनि हुन्न । त्यसैले जो कमजोर छ उसैलाई यसले आक्रमण गर्छ । फलानालाई केही भएन ढिस्कानालाई केही भएन भनेर जवर्जस्त गर्दा परिवारभित्रै पहिलो असर हुन पुग्छ । 
बहुराष्ट्रिय कम्पनीहरुको चलखेल अवश्यै छ । उनीहरु नाफाखोर हुन् भन्नेमा शंका छैन । अरवौं रुपैयाको ब्यापार गर्न अग्रिम भुक्तानी भएका पनि छन् । अन्ततः पूजिवादले गर्ने यस्तै हो । तर, यसभित्र केही छैन र हैन भनेर लापरवाह िगर्ने वेला हैन । भ्रामक सूचनाको पछि लागेर दौड्दा त्यसले नराम्रो गरी थला पार्न सक्छ । यसमा सचेत् हुनैपर्छ ।
बरु हाम्रा चिकित्सकहरुलाई विनम्र अनुरोध के छ भने सवै कुरामा विश्व स्वास्थ्य संगठनको पछि नदौडेर वैकल्पिक उपचार पद्वतिको रुपमा आयुर्वेद वा प्रकृतिक चिकित्सावाट देखिएका सकारात्मक परिणामलाई सकेसम्म आत्मसात गरौं । विरामीलाई ठिक हुन्छ भने अरु कुरा पछि गरौंला । भरसक विरामी गंभीर नहुँदै त्यस्ता उपचार गर्नेतर्फ लागौं ।
 

प्राप्त प्रतिकृयाहरू

To Top