रुपन्देहीमा कोरोनाबाट  एक वृद्धको मृत्यु,  थपिए ११ संक्रमित

स्वास्थ्य भाद्र ४ 2077 ekhabarnepal
5e92ff0d5dafd 1

बुटवल ,भाद्र ४। रुपन्देहीको देवदहमा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । देवदह नगरपालिका ३ का ७० वर्षका पुरुषको मृत्यु भएको नगरपालिकाका जन स्वास्थ्य अधिकृत काशिनाथ बञ्जाडेले बताए । उनको आज देवदह मेडिकल कलेज देवदहमा मृत्यु भएको हो । भदौ २ गते उनको स्वाब लिएको र बुधबार उनको पिसिआर रिपार्ट पोजेटिभ आएको बञ्जाडेले बताए ।

पक्षघात, उच्चरक्तचाप र मधुमेहका रोगी रहेका ती पुरुषमा स्वासप्रस्वासको समस्या देखिएपछि उनको अवस्था नाजुक रहेको अस्पताल स्रोतले जनाएको छ । उनलाई केही दिन अगाडी भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार गर्न लगिएको थियो । मेडिकल कलेजले घर पठाएपछि उनी देवदहमा रहेको मेडिकल कलेजमा भेन्टिलेटरमा उपचाररत अवस्था रहेका थिए । ती वृद्धको मृत्यु भएपछि मेडिकल कलेज शिल गरिएको जन स्वास्थ्य अधिकृत बञ्जाडेले बताए ।

 रुपन्देहीमा थपिए ११ संक्रमित, २ जना चिकित्सकमा संक्रमण पुष्टि

बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको पीसीआर परीक्षण गर्दा बिहिबार ११ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

बिहिबार थपिएका संक्रमितमा २ जना चिकित्सक रहेको र अन्यको ठेगाना नखुलेको प्रदेश ५ जनस्वास्थ्य प्रयोगशाला प्रमुख तथा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । गिरीका अनुसार अपरान्ह ४ बजे सम्म प्रदेश ५ जन स्वास्थ्य प्रयोगशालामा भएको पीसीआर रिपोर्ट प्राप्त भएको तर लुम्बिनी प्रादेशिक अस्पताल र नेशनल प्याथ ल्यावको रिपोर्ट आउन बाँकी रहेको छ ।

उता बुटवल उपमहानगरपालिकाका निमित्त स्वास्थ्य शाखा प्रमुख गिता पाण्डेले बिहिबार ४ बजे सम्म उपमहानगरमा ३ जना नयाँ संक्रमित थपिएको बताएकी छिन् । वार्ड नम्बर ११ मा २ जना र वार्ड नम्बर १२ मा १ जना संक्रमित थपिएको पाण्डेले बताईन् ।

प्राप्त प्रतिकृयाहरू

To Top