पाणिनि र उनको तपोभूमि

बिचार साउन ३२ 2077 ekhabarnepal
117416194 181606273370427 1968653739674076690 n

                राजेन्द्रकुमार आचार्य
१. पाणिनिको जन्मथलो 
पाणिनिको अर्को नाम शालातुरीय थियो । यसबाट उनी शलातुरमा जन्मेका थिए भन्ने स्पष्ट हुन्छ । बलभी नरेश ध्रुवसेनको सम्वत्  ३१० को ताम्रपत्रमा, भामहद्वारा रचित काव्यालंकारमा, काशीकाको विवरण पंजिका तथा गुणरत्न महोदधिमा पनि पाइन्छ्("शलातुरो नाम  ग्रामः स अभिजनो अस्यास्तीति शालातुरीय स्तत्र भवान् पाणिनि "अथवा शलातुर नामक गाउँमा जन्मेका हुनाले शालातुरीय रहेको हो ।
यसैका आधारमा अन्वेषकहरुले महर्षि एवं वैयाकरण पाणिनिको जन्मथलो शलातुर गाउँलाई मानेका छन् । श्यू यान च्वाङ नामक चिनिया यात्री सातौं शताब्दीमा शलातुरग्राममा  गएका थिए भनिन्छ । उनले त्यहाँका स्थानीय मान्छेहरुलाई सोधपुछ गरे । स्थानीय मान्छेहरुले पाणिनिको जन्मभूमि शलातुर बताउने अनेक कथा किंवदन्तीहरू बताए । त्यसका आधारमा ती यात्रीले शलातुर गान्धार देश, काबुल नदी र सिन्धु नदको दोभाननेर  प्रसिद्ध उद्भाण्ड स्थानदेखि पश्चिमोत्तर दिशामा दुईकोश जति टाढा हालको लाहोर सहरको नजिकै हो भन्ने कुरा लेखेका छन् । विचारणीय कुरा के छ भने लाहोर सहरदेखि सिन्धु र काबुल नदीको दोभान च्वाङले लेखे भन्दा धेरै फरक छ । दुई कोस हैन २०० कोस भन्दा पनि फरक छ । यसर्थ के अनुमान गर्न सकिन्छ भने या शलातुर  हालको लाहोरभन्दा धेरै पश्चिमोत्तर, सिन्धु र काबुलनदीको दोभान नजिक थियो या चिनिया यात्रीले सत्यतथ्य दिन सकेनन् ।
जेहोस् शलातुर भन्ने पाणिनिको जन्म गाउँ पक्का हो । उनको पुर्ख्यौली देश भने वाहीक वाबाल्हीक थियो भनिन्छ जो मानस कैलाशभन्दा पश्चिम खसहरु नेपाल पसेको उपल्लो मार्गमा पर्छ जहाँ दरद र कसगर रहेको छ ।
 २.पाणिनि नाउँ कसरी ?
पाणिनिका पिता  धनी व्यापारी थिए । संस्कृत भाषामा व्यापार व्यवसायलाई पण वा पणनम् भनिन्छ । सामन वा शालंक व्यापारिक कारोबारी भएकाले उनको पेसा अनुसार उनलाई पणिन भनिन्थ्यो । यो समयमा व्यापारीलाई आदरसहित साहुजी भनेझैं त्यो बेला उनलाई पनि पणिन भन्नु स्वाभाविक हो । पणिनका छोरालाई कुमार साहु भनेझैँ पाणिन या पाणिनि भनेर सम्बोधन गर्न थालियो । उनको वास्तविक नाम आहिक भएपनि पाणिनि नाम नै सर्वप्रचलित भयो ।
३. पाणिनिका विभिन्न नाम 
पाणिनि, पाणिन, दाक्षीपुत्र, आहिक, शालंकी र सालातुरीय (पुरुषोत्तम देव निर्मित त्रिकाण्डकोश अनुसार ) समेत छ वटा रहेका छन् । त्यसैगरी शालातुरीयक, दाक्षीपुत्र, पाणिनि र आहिक (वैजयन्ती कोशअनुसार) भन्ने नामहरु छन् । संस्कृत-हिन्दी कोशले शालोत्तरीय र मातृपक्षीय नाम दाक्षेय पनि दिएको छ । पाणिनिको वास्तविक नाम आहिक उनको पुर्ख्यौली देश वाहिकसँग ध्वनि सामिप्य रहेको देखिन्छ । प्राचीन कोश र ग्रन्थहरु केलाउँदा कुनै निर्क्योल निस्कन पनि  सक्छ । पाणिन ,पाणिनि र आहिक नामबारे माथि चर्चा भयो ।  दाक्षीपुत्र वा दाक्षेय दक्षकुलकी कन्यापुत्र हुनाले, शालंकी पिताको नामबाट र शालातुरीय, शालातुरीयक वा शालोत्तरीयक चाहिँ जन्मथलोबाट रहेका नामहरु हुन् ।
४.  पाणिनिका पितामाता 
पाणिनिका पिताको नाम सामन थियो (भविष्य पुराण प्रतिसर्गपर्व ३१.२.४) तर पाणिनिका पितालाई शालङ्क पनि भनिएको छ( महामहोपाध्याय शिवदत्त शर्मा - नवाह्निक महाभाष्यको भूमिका ) । शतभिषा नक्षत्रको दोस्रो पाउबाट उस्तै-उस्तै दुईवटा नाउँ चलेका हुनसक्छन् नेपालीहरूको षडानन्द वा खडु भनेजस्तै । 
त्यसरी नै "सर्वेसर्व पदा दाक्षीपुत्रस्य पाणिन" अथवा सम्पूर्ण पदहरुमा सबै आदेशहरु दाक्षीपुत्र पाणिनिका हुन् भन्ने पदावलीले पाणिनिकी आमा दक्षकुलकी कन्या थिइन् भन्ने जानकारी दिन्छ । दाक्षी गोत्रप्रतयान्त उपनाम होला भन्ने अनुमान गरिएको छ । खास नाम कतै भेटिएको छैन । संस्कृत- हिन्दीकोशले भने पाणिनिकी आमा दाक्षी  दक्ष प्रजापतिकी छोरी थिइन् र पाणिनिको मातृ पक्षीय नाम दाक्षेय पनि थियो भनेको छ( संस्कृत-हिन्दी कोश ४५४)
५. पाणिनिका भाइ
 छन्दशास्त्रका निर्माता पिंगलमुनि पाणिनिका भाइ हुन् भन्ने कुरा वेदार्थ दीपिकामा षड्गुरु शिष्यले मानेका छन् । यसैगरी शिक्षा संग्रहमा "दाइले बनाएको व्याकरणमा भाइ पिंगल आचार्यले उनको मत अध्ययन गरी शिक्षा वर्णन गर्न समर्थ भए" भनिएकोछ । यी प्रमाणहरुका आधारमा पाणिनिका भाइ पनि विद्वान थिए भन्ने गरिन्छ (छन्दो ज्ञान विधिं जघान मकरो वेलातटे पिंगलम्- पञ्चतन्त्र २.२३) ।
६.पाणिनिको कालावधि
 यस विषयमा विद्वान विदुषीहरुमा मतभेद छ । त्यस्ता केही मतहरु निम्नलिखित छन् -
1. पाणिनिको समय इसापूर्व ७औं शताब्दी हो ( वासुदेव शरण अग्रवाल: पाणिनिकालिन भारतवर्ष )
2.  शास्त्र जान्ने कणादका शिष्यहरुसँग शास्त्रार्थमा हारेका पाणिनि तपस्या गर्न गए(भविष्य पुराण) भन्ने  उक्ति अनुसार पाणिनि कणादका शिष्यका समकालीन थिए भन्ने देखिन्छ । कणादको समय इसापूर्व छैटौं शताब्दी हो भने उनका शिष्यका समकालीन पाणिनि पनि इसापूर्व छैटौं शताब्दीको अन्ततिर वा पाँचौं शताब्दिको आदिमा भएहोलान् भन्नसकिन्छ । 
3.कात्यायन पनि पाणिनिका समकालीन हुन् । यसकारण पाणिनि र कात्यायनको शास्त्रार्थ भयो भन्ने कुरो कथा सरित् सागर बृहत्कथा मन्जरीआदिमा बताइएको छ । पतञ्जलि भने ती दुवै भन्दा पछिका हुन् । यसभन्दा पहिले पनि पाणिनिका व्याकरणमा अनेक वार्तिक(पूरक शास्त्रहरू)थिए तथापि तीमध्ये कात्यायनकै वार्तिकको प्रधानता छ । महाभाष्यमा आफ्नो उक्ति दृढ गर्नलाई "अर्को भन्छ" भन्ने उपक्रम राखिएको छ जसले त्यहाँ अरु वार्तिक भएकामा सम्मति देखाइएको छ6. मोदनाथ प्रश्रितको विचारमा पाणिनिले अष्टाध्यायीको सूत्र कुमार श्रमणादिभि:मा  र अन्यत्र पनि बौद्ध सन्दर्भहरूको उल्लेख गरेकाले उनी गौतम बुद्धभन्दा पछि भएका हुन् र त्यस्तै मौर्य काल (ईशापूर्व चौथो-तेस्रो)मा पाणिनि व्याकरण अनुसार रामायण महाभारत जस्ता ग्रन्थहरूको सम्पादन भएकाले पाणिनिको समय इसापूर्व पाँचौँ शताब्दी भएको धेरै सम्भावना छ । 
७.पाणिनिको पढाइ र ठक्कर 
पाणिनिले सुरुमा साक्षरता शिक्षा घरैमा शलातुरमा पढेका थिए भनिन्छ । धनी व्यापारीका छोरा हुनाले घरमा पुलपुल हुनु स्वाभाविक हो । पुलपुलिएका केटाकेटीले घरकालाई टेर्दैनन् ।  तसर्थ उनलाई शलातुरदेखि नजिकै रहेको तक्षशिला (हाल: तक्सेला पाकिस्तान) विश्वविद्यालयमा पढ्न पठाए सामन र दाक्षीले ( सिन्धुंतक्षशिलादिभ्योsणञौ--पाणिनि: अष्टाध्यायी) त्यहाँ पनि पाणिनिले प्रगति गर्न सकेनन् । तसर्थ उनको मावली वेतसी पठाइयो ।  त्यहाँ केही समय बसेपछि मामा व्याडि र उनी भैकन पाटलिपुत्र (गंगा र सोननदीको संगमनेर थियो भनिन्छ, त्यो नगरलाई पछि बाढीले बगायो र त्यसको अलिक पूर्वतर्फ गंगा र कोशीको संगममा केही पश्चिमतर्फ पटना नगरको विकास भयो ) गए । पाटलिपुत्रमा विद्यापीठ थियो । त्यसका आचार्य वर्ष थिए । पाणिनिका मामा व्याडि पढ्ने हुनाले उनलाई बस्न र पढ्न अनुकुल अवस्था थियो । अनुकूल अवस्था भएर पनि पाणिनिले पढाइमा अपेक्षित प्रगति गर्न सकेनन् । सहपाठीहरू बररुचि कात्यायन, मामा व्याडि, इन्द्रदत्त आदिभन्दा पछि परे । उनीहरूसँगको शास्त्रार्थमा हारे( कथा सरीत् सागरमा, कथापीठ लम्बकको चतुर्थ तरङ्गमा घटनावलीलाई प्रस्तुत गरिएको)।
 बृहत् कथा मञ्जरीमा कथापीठको उपकोशको कथा व्याडि र इन्द्रदत्तसहितको म सब शास्त्र जान्ने बनेर प्रसिद्ध हुँदा पाणिनि नामका वर्षआचार्यका शिष्य पहिले त जडमतिका थिए,  जितेन्द्रिय बनेर उनले तपस्याद्वारा शंकरबाट नयाँ व्याकरण प्राप्त गरे र आठ दिनका शास्त्रार्थमा म(कात्यायन)लाई परास्त गर्ने वाला पनि भए । 
८.पाणिनि तपोभूमि र सफलता
 गुरुपत्नी वा माइजूको सल्लाहमा साथीहरूसँग शास्त्रार्थमा हार्नुपर्दा खिन्न भएका पाणिनि खुशी भएर तपस्या गर्न भनी हिमालयतिर जान उत्तराभिमुख भएर उनी ग्रामीण बस्ती ,जंगल, खेत, चरन र नदी किनार हुँदै बाटो सोधपुछ गर्दै श्रावस्ती पुगे । कुशीनगर, वाल्मीकि नगर, पावा,कोलिग्राम, श्रावस्ती आदि त्यो बेलाका प्रसिद्ध वस्तीहरु थिए । श्रावस्तीबाट उनी कपिलवस्तु वाणगंगा शृंगीघाट हुँदै पहाडको फेद समाते । पावरामा ग्वालाहरुका गोठ थिए । उनले गोरस मागेर खाइवरी बाटो सोधेर उकालो लागे । शिवालिक वा चुरे श्रेणी कटेर अलि बलियो चट्टान भएको महाभारत पर्वत शृंखला भेटियो । उनी त्यसको भञ्ज्याङमा पुगे । ग्वालाहरुलाई सोद्धा हाल पणेना दह नाउँ भएको त्यतिबेलाको गोपर्वत-सिद्धेश्वर त बडो सुन्दर थलो छ भन्ने थाहा पाए । उकालिएर त्यो सुन्दर थली सिद्धेश्वर दहमा पुगे । उनले चारैतिर हेरे । आफू आएको समथल तराईको फाँटमा बस्ती र जंगल कति सुन्दर  ? उत्तरतिर हेरे-- आहा कति सुन्दर हिमालय पर्वतमाला ! पाका ग्वालाहरुबाट मुक्तिक्षेत्र धवलागिरि, नीलगिरि, मुकुट, सिस्ने, चुरेन आदि हिमस्थली  पत्ता लगाए । त्यहाँभन्दा उत्तर जान उनले कठिन देखे । फेरि यो सुन्दर स्थलले उनलाई लोभ्याइ सकेको थियो । । यसैलाई आफ्नो तपस्थली बनाउने कुराको निर्णय गरे । आफ्नो विचार त्यहाँ ग्वालाहरुलाई सुनाए । उनीहरूले भोलिपल्ट पाका किसानहरुलाई पनि डाकिदिए ।
 "यी साधु त घगडान होलान् जस्तो छ, यतै नै राखौँ"भन्ने विचार स्थानीय पाका किसान र ख्वालाहरुमा आयो ।  त्यस अनुसार उनलाई कुटी बनाउन, अत्यावश्यक भाँडा र बिस्तरा बटुल्न,  गोठ बनाएर केही गाई पाल्न र एउटा गोठालो साथी राखि दिन समेत पहल गरे । गाउँबाट सागपात, अन्न, दाल, नुन, तेल, बेसार आदि ल्याइदिए ।  वरपर कन्दमूल पनि पाइन्थ्यो ।  यसरी पाणिनिलाई त्यहाँ बस्न कुनै खास समस्या भएन ।
तूदी( तूदी शलातुर वर्मवती कूच वाराड्ढक्छण् ढञ्यक--पाणिनि:अष्टाध्यायीमा उनले जन्मभूमि शलातुर बताएका छन् ) र वरपरका गाउँलेहरू आउने र शास्त्रार्थमा भाग लिने, उपहार दिने गर्न थाले पछि भाषिक संवाद पनि सरल हुन सक्यो । उनी धेरै समय चिन्तन, ध्यान र तपस्यामा लीन हुन्थे । मध्यान्हपछि मात्र अरुलाई भेट दिन्थे । उनले लामो समय सिद्धेश्वर महादेवको ध्यान गर्दा महादेश स्वयं उपस्थित भएर वाङ्मयको व्याकरण अन्तस्फुरण गराइदिएको अनुभव भयो । उनले सपनामा महादेव स्वयं उपस्थित भएर १४ पटक  डमरु बजाएको देखे । तदनुसारै उनले १४ सूत्रीय नव्यव्याकरण तयार गरे । त्यसलाई उनले त्यहाँ केही किसान-गोठालाका छोरा जम्मा गरी साक्षर बनाई आफ्ना व्याकरणका सूत्रहरुको प्रयोग गरी जाँचेर हेरे । कालान्तरमा कुनै शास्त्रार्थ गरी जित्ने मनशायले पाटलिपुत्र फर्के । त्यहाँ साँच्चै उनले कात्यायनहरुलाई जितेरै छाडे जसको उदाहरण माथि नै प्रस्तुत छ । जीवनको उत्तरार्धमा उनी आफ्नो घर फर्के । पाणिनि फर्केपछि  सिद्धेश्वर  उनको स्मृतिमा पडेना दह भन्न थालियो । दहमुन्तिर उत्तरतर्फको गाउँ पणेना प्रचलित भयो । त्यहाँ पाटलिपुत्रमा उनले कात्यायनहरुलाई जितेरै छाडेपछि त उनलाई शान्ति मिल्यो ।  उनी आफ्नो घर शलातुर फर्कीवरी तक्षशिलामा  पैतृक उत्तराधिकारबाट पाएको धन सम्पतिले विद्यालय खोलेर विद्यार्थीहरुलाई खानेबस्ने व्यवस्थासहित पढाएर विद्वान बनाए भनिन्छ तर त्यसलाई पुष्टि गर्ने प्रमाणहरु उपलब्ध भने छैनन् । 
९.पाणिनिका कृतिहरू 
पाणिनिका धातुपाठ, गणपाठ, उणादि शब्दकोश लिंगानुशासन, अष्टाध्यायी, शिक्षा, जाम्बवती विजय, द्विरूप कोश गरी आठ ग्रन्थ स्वरूपका कृतिहरू प्रकाशमा ल्याइएका छन् । यीमध्ये पहिलेका चार ग्रन्थहरु शब्द शिक्षाको पूर्तिका लागि लेखेका हुन् । त्यसकारण यी प्राचीन चार ग्रन्थहरूलाई परिशिष्ट भन्ने शब्दले व्यवहार गरिन्छ । अष्टाध्यायीमा आठ अध्याय छन् त्यसैले अष्टाध्यायी भनिएको हो । हरेक अध्यायमा चार चार पाउ छन् । अष्टाध्यायीमा ३९९५ सूत्रहरु रहेका छन् । ती सूत्रहरुले वैदिक र लौकिक दुवै प्रकारका शब्दहरु सिद्ध गर्दछन् । शब्दहरूको सही उच्चारण जान्नका लागि सू्त्रस्वरूप शिक्षा बनाइएको थियो जसका कतिपय सूत्रहरु व्याकरणका विभिन्न ग्रन्थहरूमा पाइन्छन् । सम्पूर्ण शिक्षा भने अहिले भेटिँदैन । फेलापरेको श्लोकात्मक पाणिनीय शिक्षाको मूल "पाणिनि शिक्षा " त सूत्रमा नै थियो । शिक्षा(प्रकाश- टीका ) त  पिंगलले तयार गरेका हुन् । 
जाम्बवती विजय महाकाव्यको नाउँ पाताल विजय पनि हो । यसमा पातालमा झरेका कृष्णका साथ विजयपूर्वक गरिएको जामबवती विवाहको वर्णन रहेको छ । अहिले यो महाकाव्य पनि भेटिँदैन तर अलंकार सर्वश्व, कुवलयलानन्द-दशरूपक-ध्वन्यालोक-गणरत्न महोदधि, शाङ्गधरपद्धति- काव्यालंकार आदि पुस्तकहरूमा उदाहरण दिइएका यसका श्लोकहरू मात्र भेटिन्छन् । 
शरण देवले दुर्घटवृत्तिमा जाम्बवती विजयको अठारौँ सर्गको निम्नलिखित पद्यांश उद्धृत गरेका छन् (नेपाली सार): "अघि तिम्रासाथ मेरो जुन मित्रता थियो त्यो फेरि धेरै कालपछि मेरो मनमा ताजा गरायौ"। यसबाट सो महाकाव्यमा अठारभन्दा धेरै सर्ग रहेछन् भन्ने अनुमान गर्न सकिन्छ । कुनै लेखकले भने जाम्बवती विजय र पाताल विजय अलग अलग हुन् पनि भनेका छन् (सिताराम-जयराम जोशी र विश्वनाथ शास्त्री भारद्वाज, संस्कृत साहित्यको संक्षिप्त इतिहास)। 
 द्विरूपकोश हस्तलिखित पुस्तकको रूपमा संयुक्त अधिराज्यको लन्डनस्थित भारतीय कार्यालयको पुस्तकालयमा 7890 संख्यामा सुरक्षित छ । यस पुस्तकको अन्तमा "इति पाणिनिमुनिना कृत द्विरूप कोशः सम्पूर्ण:" लेखिएको छ । 
१०. महत्त्वपूर्ण उपलब्धि 
वैयाकरण एवं महर्षि पाणिनिले शलातुर , तक्षशिला पाटलीपुत्र आदि स्थलहरुमा औपचारिक शिक्षा लिए पनि शास्त्रार्थहरुमा आफ्ना समकालीन सहपाठी वररुचि कात्यायन र मामा व्याडि समेतसँग हारेपछि निराश भएर रहेको अवस्थामा आफ्ना मामा व्याडि, पाटलीपुत्र विद्यापीठका आचार्य वर्ष तथा उनकी पत्नीको सल्लाहले तपस्या गर्न भनी उत्तरपश्चिमी बाटो हिँडेर श्रावस्ती, कपिलवस्तु र वाणगंगा हुँदै महाभारत पर्वत श्रेणीको मनोरम दह तूदीग्राम नजिकै पुगे । यहाँको सौन्दर्यले उनलाई आकर्षित गर्यो । पर्वतराज हिमालयका धवलागिरि, नीलगिरि, मुक्तिक्षेत्र आदि उत्तरावर्ती आकर्षण, दक्षिणावर्ती समथर तराई क्षेत्रको फाँट, पूर्व र उत्तरका अनेक सुन्दर चुली तथा वन-उपवनहरुलाई साक्षी राखेर सिद्देश्वरको स्थान भएको  थलोमा कुटि तुल्याएर देवादिदेव महादेवको स्तुति गर्दै  श्रेष्ठ शास्त्र निर्माणको उद्देश्य लिई तपोध्यानमा लीन भए । सिद्धेश्वर दहमा मानव सिद्ध आएर तपस्यारत रहेको सूचना ग्वालाहरुले तूदी र वरपरका गाउँगोठ तथा खर्कहरुमा पुर्याए । तदनुसार ग्वाला र कृषकहरू गोरस, सागपात, फलफूल र अन्न लिई भेट्न आए ।  पाणिनिको अन्न पानीको शरीरले यिनै ग्वाला कृषकहरूको उपहार तथा वरपर पाइने कन्दमुलहरूले खरो धान्दै रह्यो । कसैले दुहुनो गाई समेत ल्याएर गोठ बनाइदिईवरी  बाँधिदिए ।  ध्यान तपबाट फुर्सद भको बेला पाणिनिद्वारा प्रदत्त प्रवचन सुनेर स्थानीयजनहरु अति प्रभावित भए । तिनीहरुले पाणिनि लाई ठूला र विद्वान ऋषि ठानी सेवक पनि खटाइदिए । बुद्धलाई झैं एकान्त गरिएको ध्यान र चिन्तनबाट उनलाई आफूले हार्नु परेका शास्त्रार्थका गाँठाहरू खुल्दै गए । महादेवबाट आफुलाई अन्तस्फुरण भएको ठानी अउउण आदि १४ सूत्र र ८ अध्याय भएको अष्टाध्यायी रचना गरे । रचनाका लागि ग्वाला सेवकले निगालाका कलम, सिमीका पात र अन्य वनस्पति पकाएर बनाएको  मसी बाँसका सुपला, उच्च पहाडबाट झिकाएका भोजपत्र आदिमा आफ्ना रचनाहरू लिपिबद्ध गरेर संकलन गरे । वैदिक जनहरूले बोल्ने भाषा त्यति बेला परिवर्तन भई लौकिक संस्कृत भाषा  प्रचलनमा आएको थियो । पाणिनिले वैदिकदेखि संस्कृतसम्मका  र यीबाहेक वरपर प्रचलित अन्य स्थानीय भाषाहरुलाई समेत आधार हुने गरी नूतन व्याकरण तयार गरे । पाणिनिले आशुतोष भगवान् सदाशिवलाई प्रशन्न पारेको भनिएको विषयमा त सबै उत्तरवर्ती विद्वानहरु एक मत छन् । आचार्य पाणिनिका सूत्रहरूको वास्तविक ज्ञानका विषयमा काशिका न्यास पदमञ्जरी, सिद्धान्तकौमुदी आदिका वृत्तिहरूबाट, महाभाष्यबाट र तिनीहरूबाटै पुष्टि दिइएका भर्तृहरि कैयट, नागेश  आदिका ग्रन्थहरूबाट पनि  सहयोग मिल्छ । यिनीहरुका विवेचनद्वारा नै सूत्रका अर्थको निरूपण र उपयोग हुन्छ । यसरी पाणिनीय व्याकरण त्यसबेलाको सामाजिक जीवनको पूर्वीय दर्शन र संस्कृतिको शाश्वत दस्तावेज बनेको वर्तमानसम्म विश्व वाङ्मयसामु प्रभावशाली बनेर रहेको छ । पू्र्वीय दर्शन, संस्कृति र वाङ्मयको साथै भूगोल, समाज र शिक्षाको जानकारीका निमित्त पनि पाणिनीय व्याकरण अध्ययन अति लाभदायक छ । पाणिनीय सूत्रहरुमा मध्य एशियादेखि कलिंग पर्वत,  सिन्धु उपत्यकादेखि इरावदी सम्ममा पर्वत,वन, नदी, गाउँ, नगर र देश-प्रदेशको पनि परिचय पाइन्छ । संग्रहित पद र पदावलीहरुबाट तत्कालीन सांस्कृतिक जीवनको आदर्श चित्र झल्किन्छ । त्यसैले त भनिएको छ--"पाणिनीयम् महाशास्त्रम् परसाधुत्व लक्षणम्, सर्वोपकारकं ग्राह्यं कृतस्नं त्याजं नकिञ्चन( पद सिद्ध गर्ने लक्षणले युक्त पाणिनीय व्याकरण महाशास्त्र सबको उपकारक हुनाले सम्पूर्ण ग्रहण गर्न योग्य छ, यसमा त्याग्न पर्ने केही छैन)। अष्टाध्यायीबाहेक जामबवती विजय,  द्विरूपकाेश, ऋक् तन्त्र आदि महत्वपूर्ण कृतिहरूको पनि सिर्जना गरेका थिए ।
११. पाणिनिको अन्त्य 
व्याकरण बनाउने पाणिनिको प्राण  सिंहले हर्यो, मीमांसा निर्माता जैमिनि मुनिलाई अकस्मात् हात्तीले किचेर मार्यो, छन्द शास्त्रका प्रणेता पिंगललाई समुद्रका किनारमा मगरगोहीले मार्यो । अज्ञानताले चित्त मोडिएका अति क्रोधी पशुहरुलाई के अर्थ छ र ? ( विष्णु शर्मा:पञ्चतन्त्र) ।
 पाणिनिको पूर्ण जीवनी र अन्त्यको अवस्थाको विस्तृत वर्णन त कतै पाइँदैन तथापि पञ्चतन्त्रमा विष्णु शर्माले राख्नुभएको उपर्युक्त पद्यांश सारले पाणिनिका भाइ आचार्य पिंगल र जमिनिमुनिको साथै महर्षि एवं वैयाकरण पाणिनिको पशुहरूको आक्रमणबाट देहान्त भएको देखाइएको छ । अन्य आधार नपाउँदासम्म यसैलाई सत्य मान्दा पाणिनिको प्राणवियोग सिंहको आक्रमणबाट भएको मान्नुपर्छ । साथै पाणिनि परम्पराअनुसार त्रयोदशी तिथि बारिने भएकोले उनको देहान्त त्रयोदशी तिथिमा भएको बुझिन्छ । 

१२.पाणिनि तपोभूमिमा भएका गतिविधि र वर्तमान अवस्था पाणिनि दहमा खासगरी मकर सक्रान्ति र एकादशीमा स्नान गरी सिद्धेश्वरको आराधना परम्परादेखि नै हुँदै आएको हो । पाणिनिलाई वरद बनाउने अथवा सिद्धि प्रदान गर्ने महेश्वरलाई नै सिद्धेश्वर मानिएको हो । बुद्धकालीन कपिलवस्तुको महिमा जताततै फैलिएको थियो । त्यसैकारण पाटलिपुत्रबाट सोधखोज गर्दै पाणिनि कपिलवस्तु आए र त्यसैबाट हिमालय क्षेत्र ताकेर महाभारत शृंखलामा रहेको तूदीग्राम नजिकैको सिद्धेश्वर  दहमा आफ्नो तपस्या गर्ने थलो रोजे । स्थानीय ग्वाला तथा किसानहरुले उनलाई स्वागत गरी बस्ने व्यवस्था मिलाइदिए । सहयोगी शिक्षक पनि राखिदिए । पाणिनिले दहको पूर्वी भागमा शिला स्थापना गरी सघन साधनासहित महेश्वरलाई आह्वान गर्दै ज्ञानको अन्तस्फुरण गराए । आफ्नो ज्ञानलाई अभिलेखीकरण गरे । केही वर्ष स्थानीय शिष्यहरुमा आफ्ना सूत्रहरुको प्रयोग गरे । आफ्ना शास्त्रीय वैदिक र  लौकिक संस्कृत भाषालाई समेटेको  सुरुमा १४ सूत्र र पछि ३९९५ सूत्र भएको आठ अध्यायको प्रसिद्ध ग्रन्थ अष्टाध्यायी निर्माण गरे । शिक्षा,  जाम्बवतीविजय, द्विरूपकोश जस्ता महत्वपूर्ण ग्रन्थहरू  उनकै योदान हुन् । तपस्या र साधना गरेर, तर्कहरुले पुष्टि दिएर अनि शिष्यहरुमाथि प्रयोगसाथ जाँचेर आजभन्दा करिब २५०० वर्षअघि बुद्धको पछिपछि यत्रा विधि ग्रन्थ तयार गर्ने महर्षि पाणिनीको तपोभूमिमा अर्वाचीनमा विभिन्न गतिविधिहरू भइरहेका छन् । 


 

प्राप्त प्रतिकृयाहरू

To Top