नेकपाभित्र खेल्ने प्रयास नहोस्, एकताका साथ अघि बढ्दैछौं 

राजनीति साउन ३० 2077 ekhabarnepal
Bishnu paudel 1 tjdgfmaeb1

 

काठमाडौं,श्रावण ३० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको लामो समयदेखिको विवाद सुधारोन्मुख देखिएको छ ।  प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तापछि विवाद समाधानका लागि कार्यदल गठन गर्ने सहमति बनेसँगै विवाद सुधारोन्मुख देखिएको हो । 
पार्टीभित्र देखिएका समस्या पार्टीभित्र नै समाधान गर्न सकिन्छ भन्ने निष्कर्षमा अध्यक्षद्वय पुगेको समितिका संयोजक विष्णु पौडेलले बताए ।

न्युज एजेन्सी नेपालका संवाददातासँग कुराकानी गर्दै पार्टीभित्र देखिएको समस्यालाई संस्थागत ढंगले समाधान गर्न ६ सदस्य रहेको कार्यदल गठन भएको उनले बताए । कार्यदलले समस्या के हुन् ? समाधान के हुन सक्छ ? भन्ने विषयमा विस्तृत छलफल गरी प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने उनले बताए ।
प्रतिवेदन अध्ययन गरी अध्यक्षद्वले पार्टीको औपचारिक बैठकमा प्रस्तुत गर्ने उनले बताए ।
महासचिव पौडेलले पार्टीभित्र जुनसुकै समस्या देखिए पनि समस्याहरुको सकारात्मक समाधान गरी एकतालाई सबल बनाउँदै अगाडि बढ्नुपर्छ भन्ने निष्कर्षका साथ कार्यदल गठन भएको बताए । नेकपा महासचिव समेत रहेका पौडेलले नेकपा विभाजनको कल्पना गर्ने प्रवृतिको अगाडि अझ एकतावद्ध भएर अगाडि बढ्ने सन्देश प्रवाह भएको बताए ।

उनले भने, ‘‘पार्टीमा विग्रहको कल्पना गरेका थिए कतिपयले । नेकपामा कुनै प्रकारको बिग्रह हुँदैन । एकतावद्ध भएर अगाडि बढ्छ । नेकपाको एकता अक्षुण्ण रहन्छ भन्ने कुरा सुनिश्चित भएको छ ।’’

महासचिव पौडेलले नेकपा एकतावद्ध रहने कुरामा आस्वस्त रहन सबैलाई आग्रह गर्दै भने, ‘‘नेकपा एकतावद्ध रहने कुरामा आश्वस्त रहन सबैमा आग्रह गर्दछु । आफ्नो अभिभारा सफलतापूर्वक पूरा गर्न नेकपा अगाडि बढेको छ । नेकपामा विग्रहको खोजी गर्ने शक्तिहरु, प्रवृतिहरु र तत्वहरुलाई भन्न चाहान्छु, अब नेकपाभित्र खेल्ने यस प्रकारका कोशिस नगर्नुहोला । नेकपा आफ्नो अभिभारा बुझ्न सामर्थ्य छ । जनताले दिएको जिम्मेवारी पूरा गर्न प्रतिवद्ध छ ।’’

पार्टीभित्रका समस्याहरु जटिल अवस्थामा रहेको उल्लेख गर्दै उनले पार्टीका आन्तरिक समस्याका कारण सरकार सञ्चालनमा समेत समस्या रहेको बताए ।

‘‘समस्याहरु निकै जटिल अवस्थामा पुगेको सत्य हो । जसले गर्दा पार्टी र सरकारका काममा विभिन्न प्रकारका व्यवधान सिर्जना भए । प्रभावकारी ढंगले काम अगाडी बढ्न सकेनन । अब सरकार र पार्टीका काम प्रभावकारी ढंगले अगाडी बढाउँछौ । सरकार र पार्टी दुबै प्रभावकारी भूमिकाका साथ प्रस्तुत हुन्छन्,’’उनले भने । कार्यदलमा महासचिव पौडेलसँगै स्थायी समति सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल रहेका छन् ।
 

प्राप्त प्रतिकृयाहरू

To Top