कोरोना समुदायमा  गयो अव के गर्ने ?

बिचार साउन ३० 2077 ekhabarnepal
Dr ghimire

डी.आर. घिमिरे
कोरोना महामारी आक्रामक वन्दै छ । बुटवलमा ठ्याक्कै यतिनै भए भन्ने सूचना पाउन सकिदैन तर, पचास जनाको हाराहारीमा संक्रमित रहेको अनुमान छ । जे होस् धेरैभन्दा धेरै संक्रमण फैलिने डर छ । आइसोलेसनले धान्न नसक्ने अवस्था सृजना हुँदैछ । मैले केही दिन अघि एउटा स्टाटस लेख्दै भनेको थिएँ—यस्तै हो भने इन्द्रेको वाउ चन्द्रेले पनि जोगाउन सक्दैन । यसका अन्तरनिहित पक्ष धेरै छन् । त्यतिवेलै मैले लेखेको थिएँ । जो धेरैलाई थाहै छ । अर्थात् नागरिकस्तरमा ज्यादै लापरवाही भयो । आफै सचेत् नभई बँच्न सकिदैन । अहिले मेरो चासो अलि फरक यस मानेमा छ कि त्यतिवेला हरेक नागरिकले गर्नुपर्ने दायित्वमा केन्द्रीत भएर मैले विचार प्रकट गरेको थिएँ भने अहिले राज्य त्यसमा पनि स्थानीय तह र सरोकारवालाको ध्यान आकृष्ट गर्दैछु ।
आजदेखि बुटवलमा वन्दावन्दी छ । बुटवल मात्र हैन कैयौं जिल्ला, पालिकाहरु पनि वन्दावन्दीमा छन् । यसको अर्थ स्थिति भयावह वन्दैछ भन्ने हो । यो अवस्थालाई कसैले एक्लै नेतृत्व गर्छु भन्छ भने त्यो संभव छैन । सरकार र नागरिक वा टोल समितिहरुले सहकार्य गरेरै यसको सहज निकास निस्कन्छ । स्वस्फूर्त सचेतना र उपचारात्मक काम कसरी गर्ने ? यसमा मलाई लागेका केही विचार राख्ने अनुमति चाहन्छु । 
१. परीक्षणलाई सहज वनाइयोस् ः 
निश्चयनै देशैभरी प्रयोगशालाहरु वढाइएको छ । एउटा पनि प्रयोगशाला नभएको अवस्थामा देशभरी ३०÷३२ वटा प्रयोगशाला वन्नु चानेचुने कुरा हैन । तर, ती प्रयोगशालालाई चलायमान वनाउन सकिएन । क्षमता अनुसारको परीक्षण नगर्ने हो भने संख्या धेरै हुनुको कुनै तुक रहने छैन । रुपन्देहीमा ३ वटा पीसीआर प्रयोगशाला छन् । त्यसमध्ये एउटा निजी छ । निजी क्षेत्रले नेपालमै जम्मा ६ वटा ल्याव स्थापना गरेको छ । ति मध्ये दुइवटा ५ नं. प्रदेशमा छन् भने ४ वटा काठमाण्डौमा । निजी ल्याव अर्को एउटा नेपालगञ्जमा छ । 
रुपन्देहीका प्रयोगशालामध्ये संघीय सरकारले सञ्चालन गरेको भैरहवामा छ । जहाँ प्रायः विरामी भएकाहरुको स्वाव संकलन गरेर ल्याइन्छ । लुम्विनी प्रादेशिक अस्पतालले आफ्नै श्रोतवाट एउटा सञ्चालन गरेको छ । त्यसले केही दिन अघि बुटवलमा नमूना परीक्षण गर्दा संक्रमित पाइएका थिए । वास्तवमा त्यहीवाटै समुदायस्तरमा कोरोना गएको अनुमान गर्न सकिने अवस्था आयो । यसलाई प्रशंसनीय कामनै मान्नुपर्छ ।
निजी प्रयोगशालाले दैनिक ५० देखि ६० वटासम्म परीक्षण गरेको छ । जो न्यून संख्या हो । त्यसोत सःशुल्क गर्दा ५ हजार ५ शय रुपैयाँ लाग्ने गरेको छ । निजीमा जाने सवै सःशुल्कनै हुन् भने प्रादेशिक अस्पतालमा जानेमध्ये आधाआधी हुन सक्छन् । 
 प्राय ः परीक्षण गर्दा ज्वरो आएकालाई मात्र प्राथमिकता दिइएको छ । विना लक्षणका ब्यक्तिको परीक्षण नगर्ने कुरा ठिकै होला तर, कन्ट्राक्ट ट्रेसिङ्ग गर्नुपर्नेको हकमा चित्त वुझ्दो गरी गरिएको छैन । कुनै घरमा संक्रमित भेटिन्छ भने उसको परिवारलाई पनि परीक्षण गर्न हिचकिचाउनु पर्ने किन ? यस्ता उदाहरण प्रसस्त दिन सकिन्छ । वुटवल—१३ का दीपक पन्थी संक्रमित पाइएपछि उनी आइसोलेसनमा छन् तर, उनको घर परिवार श्रीमतिको चार दिनपछि स्वाव संकलन गरियो र सात दिनसम्म पनि रिपोर्ट आएको छैन । यस्ता धेरै जना छन् । पन्थीलाई कुनै लक्षण थिएन र पनि संक्रमित रहेछन् भने अरु धेरै जना यस्ता हुन सक्छन् भनेर अनुमान किन नगर्ने ?
यसले जोखिम वढाउँछ । वढाइरहेको छ । पन्थीलाई जसरी संक्रमण भएको अनुमान गरिएको छ, सोही पृष्ठभूमिका सात जनामा देखिएको र अरुको रिपोर्ट आउन वाँकी रहेको छ । त्यसैले परीक्षणलाई दु्रत गतिमा कसरी लैजाने भनेर आवश्यक गृहकार्य गर्न ढिला भइ सकेको छ ।
कुरा पैसाको पनि हो ः
कसैले स्वेच्छाले पीसीआर परीक्षण गर्न चाहन्छ र अलि सुपथ मूल्यमा गर्ने ब्यवस्था हुने हो भने शायद सरकारलाई वोझ पनि कम हुने थियो । अहिलेको मूल्यमा आधा सस्तो वनाउने हो भने धेरैले तत्काल गर्ने अवस्था आउँछ ।
यसका लागि दुइवटा विकल्प अपनाउन सकिन्छ । प्रादेशिक अस्पतालको हकमा सरकारले आवश्यक सामाग्री निशुःल्क दिनका लागि कसले ब्यवस्था गर्ने हो त्यो गर्ने । हुन सक्छ प्रदेश सरकारलेनै परीक्षण गर्नका लागि चाहिने केमिकल, पीपीई दिन सक्छ । त्यसपछि चाहिने जनशक्तिको खर्चमा मात्र चल्न पाउने हो भने स्वतः सस्तो हुन जान्छ ।
जहाँसम्म निजी ल्यावको कुरा हो, उसलाई स्थानीय तहहरुले पचाश प्रतिशत खर्च ब्यहोर्ने ब्यवस्था हुने हो भने आधामा झार्न सकिन्छ । यसो गर्दा ल्याव जनताको पहुँचमा पुग्छ ।
मेरो विचारमा यतिसम्म हुने हो भने धेरै गुनासाहरु स्वतः कम हुँदै जाने छन् ।  
२. आयुर्वेद औषधिलाई किन परीक्षण नगर्ने ? 
अहिले कोरोनाको औषधि केही आयुर्वेदका ज्ञाताहरुले पत्ता लगाएको दावी गरिरहेका छन् । सामान्यतः अहिलेसम्म आयुर्वेदजन्य औषधिवाटै ठिक भएको वा प्रतिरोधात्मक क्षमता वढाएको कुरा सत्य हो । गिलोय, वेसार, ज्वानो, आदिले यही कुरा प्रमाणित गर्दछ । यो कुरा प्रधानमन्त्री केपी ओलीले पनि सार्वजनिक गर्नुभएकै हो । तर, यी र यस्ता औषधिको प्रयोगमा चरम हेलचेक्राइ भएको छ । प्रायः एलोपैथिक डाक्टरहरु आयुर्वेदको नाम पनि सुन्न चाहन्नन् । उनीहरुलाई जे पढाइयो त्यही भन्नु उचितै  होला तर, घर वरपरका जडिवुटीले ठिक हुन्छ भने तिनको प्रयोग गर्न संकोच मान्नुपर्ने कुनै कारण छैन । 
जहाँसम्म स्वास्थ्यले स्वीकृति नदिएको कुरा गरेर तर्कने गरिन्छ त्यसमा मेरो भन्नु यतिमात्र हो कि प्रधानमन्त्रीले भनेको कुरा कुन स्वास्थ्यले भनेको हो ? विश्व स्वास्थ्य संगठनले भनेवाहेक अरु केही नगर्ने हो भने हामी कसैका गोटी मात्र वनेका हुनेछौं । गिलोय, तुलसी, वेसार, कागतिलगायत जे जति प्रतिरोधात्मक क्षमता वढाउने औषधिको कुरा गरिएको छ यी सवै हाम्रा पुर्खाहरुले अनुसन्धान गरेर प्रमाणित गरिएका छन् ।
जव साइड इफेक्ट नगर्ने ग्यारेन्टी छ भने तिनलाई प्रयोगमा ल्याएर विचार गर्न किन नसक्ने ? रुपन्देहीकै भैरहवामा डा. वद्री गौतमले ६ दिन खाएपछि रिपोर्ट नेगेटिभ आउने कुरा वताउँदै आउनु भएको छ । अहिले नौतनवातिर यसको प्रयोग हुँदैछ । भैरहवामा पनि धेरैले खाइसकेका छन् । तिनीहरु सवैजना ठिक पनि भएका छन् । यद्यपि के कारणले ठिक भए भनेर भन्न सकिएको छैन । तर, त्यसलाई गंभीरतापूर्वक लिने हो भने संक्रमितलाई खुवाएरनै परीक्षण गर्न असम्भव छैन । त्यसैले सरोकारवालाले यसलाई अविलम्व ध्यान दिन जरुरी छ ।  
यस्ता औषधि खान किन ढिला ? उनीहरुले वनाएका चिया वा ग्यास्ट्रिकको औषधि खान हुने अनि कोरोनाको किन नहुुने ? यस्तो संकिर्णता किन ? शय पचास जनालाई परीक्षण गरेर सवै हैन ५१ प्रतिशतलाई ठिक हुन्छ भने पनि त्यसलाई औषधि मानेर जान सकिन्छ । यो महामारी धेरै ठूलो स्तरमा हुने वाला छ त्यसैले अझै पनि समय गुज्रेको छैन । 
नेपालभरी कैयन् आयुर्वेद डाक्टरवालाले यसको औषधि वनाइसक्दा त्यसवारे राज्यले सोधापुछी नगर्नु भनेको आफ्ना नागरिकप्रति अविश्वास गर्नु हो । रुस, चिन, अमेरिका, वेलायत सवैले ल्याउने औषधि आँखिचिम्म गरेर खानुपर्ने तर, नेपालीले वनाएर दिएको नखाने ? यसका लागि आयुर्वेद डाक्टरहरुको संगठित आवाज पनि आवश्यक छ भन्ने मलाई लागेको छ ।
३. आइसोलेसनको अब्यवस्था ः 
बुटवलको एन्फा एकेडेमीमा रहेको आइसोलेसनमा ज्यादै अब्यवस्था छ भन्ने कुुरा त्यहाँ रहेका वसेका र भोगेका ब्यक्तिहरुले ब्यक्त गर्दै आउनु भएको छ । यसमा सच्चाइ कति होला भन्ने हो भने भुक्त भोगीलेनै भनेको कुरामा कसरी अविश्वास गर्ने ? यद्यपि कसैले पहिल्यैदेखि सिकेर आएको हुँदैन त्यस अर्थमा सुझावलाई ग्रहण गर्दै आगामी दिनलाई राम्रो वनाउने हो । यसमा राम्रो के होला भनेर विचार गर्दै जानेनै हो । त्यस्तै भुक्तभोगी हुन् उमेश कुँवर । उनी सचेत् नागरिक हुन् र धेरै कुरा आफैले वुझेका पनि छन् । उनको भोगाई र वुझाई यस्तो छ—
आइसोलेसनमा खाना तथा नास्ता विषय विज्ञ वा फुड न्युट्रिसियनको सल्लाहमा तयार हुनुपर्छ  । पुरी समोसा तथा अन्य जंक फुडले झन् समस्या निम्त्याउने हो कि ? टोल विकास समितिले टोलका हरेक सदस्यलाई सहयोग गर्नुपर्छ । पोजेटिभ हुनु कुनै सार्वजनिक अपराध होइन । होम क्वारेन्टाइन तथा होम आइसोलेसन उपयुक्तता हेरेर टोल तथा स्थानीय निकायले  सेवा सुबिधा तथा आवश्यक सरसामाग्री उपलब्ध गराई सहयोग गर्नुपर्छ ।
लक्षण नदेखिएको पोजेटिभलाई स्थानीयले नाराजुलुस तथा हुलहुज्जत गरि घोक्रेठ्याक लगाई सरकारी क्वारेन्टाइनमा पठाउनु गलत हो । होम आइसोलेसन सम्भव हुँदाहुँदै १ बर्षको एउटा बच्चा र ५ बर्षको अर्काे बच्चा सहित एउटी आमालाई बलजफ्ती क्वारेन्टाइन पठाउनु गलत हो । इम्युनिटी बढाउने कुरा घरबाट मगाएर खान भन्दा सम्भव र उपयुक्त हुनेलाई घर नै ठिक छ । विना सिफारिसको अड्कलेको अर्नीले झन खतरा निम्त्याउँछ । 
सरकारीमा दिएको स्बाव ७ दिन सम्म नआउने प्राईभेटमा आजको भोलि ।
यस्तै भनाई बुटवल—१३ का दीपक पन्थीको पनि छ । मधुमेह र निमोनियावाट पीडित पन्थीले पनि खानपानमा गुनासो गरेका छन् । कुँवरलेजस्तै कन्ट्राक्ट ट्रेसिङ्गमा फितलो भएको गुनासो गरेका छन् । जवर्जस्ती झुक्काएर लगेको ब्यथा पोखेका छन् । कुन्दन कुमार सिंहले फोन नउठाएकोमा पिडावोध भएर सूचना आयोग र प्रजिअलाईसमेत फोन गरेका छन् । साहृै अब्यवस्था भएको दुखेसो पोखेका छन् । 
संक्रमितले भनेको कुरामा असहमति जनाउने ठाउँ छैन । तर, त्यस भित्र आइसोलेसनमा वस्दा अत्यास लागेको आक्रोस छ । छरछिमेकले घर परिवारलाई गर्ने व्यवहारको पीडा छ  । भोलि हुनसक्ने सम्भावित सामाजिक हिंसाको परिणामलाई अनुमान गरिएको छ । त्यसैले ती भनाईहरु टोल विकास सस्थाहरुलाई हो । छिमेकीलाई हो र आइसोलेसनका ब्यस्थापकलाई पनि हो । वास्तवमै आइसोलेसनमा वसेकाहरुलाई पुरी समोसा खुवाउनु भएन भन्ने कुराको संकेत छ । आखिरी आयोजकको खर्च भएकै छ । तर, थोरै वुद्वि नपुर्याएका कारण एकखालको आरोप ब्यहोर्नु परेको छ । नास्ता के खाने भनेर उनीहरुलाईनै सोधेर खुवाउँदा शायद यो समस्या आउँदैन । विभिन्न तालिमहरुमा यस प्रकारको अभ्यास गरिएकै हुन्छ । एक हप्ताको लागि फरक फरक नास्ता के खाने भनेर आफै निर्णय गर्न दिने हो भने शायद एक दिन पुडी तरकारीनै होला । समोसा पनि होला । फापरका रोटी, वटुक, चना, अण्डा, सातु आदि आदि होला । जहाँसम्म खर्चको कुरा हो यी जुनसुकै भएपनि एउटै हो । सस्थाले गर्ने खर्च गरेकै छ । तर, व्यवस्थापन गर्नेले सहभागितामुलक विधि नअपनाउँदा यस्ता समस्या आएका हुनसक्छन् । 
त्यसैले महामारी भर्खरै शुरु भएको छ । आज घोक्रेठ्याक लगाएर आइसोलेसनमा लगिएजस्तै भोलि आइसोलेसनमा वस्ने ब्यवस्था नभएर विना लक्षणका ब्यक्तिलाई घरमै वस्नु भन्ने आदेश दिनु पर्ने अवस्था आउन सक्छ । यस्तो वेलामा मायाँ र सहानुभूतिकै आवश्यक हुन्छ । मनोविज्ञान ठिक वनाउन सकियो भने यस्ता खुत्रुके विषयले प्रवेशनै पाउँदैनन् । वोली वचन र सामान्य सुविधावाट पनि सन्तुष्ट वनाउन सकिन्छ । जिम्मेवार ठाउँमा वसेको ब्यक्तिले फोन उठाएर गुनासा सुन्दा मात्र पनि आधा समस्या समाधान हुन्छ । जस्तो कि कुन्दन कुमार सिंहले फोन नउठाउरै तड्पाएका छन् । राष्ट्रिय सूचना आयोग, प्रजिअ  आदिलाई खोजेर निकास निस्कने त हैन तर, त्यो सव गर्दा कति धेरै शक्तिमा हृास आए होला ।
सम्झौं त एक पटक सैनामैनामा पहिलो ब्यक्ति संक्रमित हँुदा के भएको थियो ? जनपद प्रहरी, सशस्त्र प्रहरी, नागरिक समाजका अगुवा, जनप्रतिनिधि सवैको कति चासो थियो । कति सम्वेदनशीलता थियो । कति मिडियावाजी भएको थियो । तर, अहिले सुनसान छ । कसैले कसैको कुरा सुन्दैन । मानौं केही भएकै छैन ।
 
 
 

प्राप्त प्रतिकृयाहरू

To Top