मलाई कोरोना लाग्योभने —३    

समाज साउन ३० 2077 ekhabarnepal
400w dilli raj acharya 1589004016890

मनोवाद
 डिल्लीराज आचार्य

‘’यदि हामीले सतर्कता अपनाएनौभने विश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछूते बनाउने छैन । ध्यान राख्दा राख्दै दुर्भाग्यवस हामी श्रीमान् श्रीमती पनि यसबाट बँच्न सकेनौँ । ‘ कृपया कत्तिपनि शर्म नमानिकन यो रोगलाई गोप्य नराखी समुदायलाई सुसूचित हुने मौका दिनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ हजुरहरुमा हार्दिक अनुरोध गर्दछु । इमान्दारिताले गर्दा देश, समुदाय, स्वास्थकर्मी र विश्व स्वास्थ सँगठनप्रति नै सहयोग पुग्नेछ ।‘’
उपरोक्त स्टाटस हाल अमेरिकाको मेरिल्याण्ड राज्य स्थित बाल्टीमोरमा नेपाल हाउस रेष्टुरेन्ट चलाउदै आएका प्रसिद्द लोकगायक प्रेमराजा महतले आफ्नो फेसबुकमा लेखेको स्टाटस हो । आफूसहित आफ्नी श्रीमती कविता महत पनि कोरोना सँक्रमणमा परेको र आफूहरु चिकित्सक छोराको निगरानी र सल्लाहमा घरमै आइसुलेसनमा बसेको भन्ने समेतको जानकारी सार्वजनिक रुपमा दिदै लेखेको स्टाटसको सँक्षिप्त ब्यहोरा हो । 
कोरोना सँक्रमित बारेको कुरा सुरुका दिनमा अत्यन्त गोप्य राखियो । केही पछि कोरोना सँक्रमितहरु क्रमशः खुल्न लागे । हिजो आज आफ्नो नाउ आफै सार्वजनिक गर्नेहरुको क्रमशः सँख्या बढिरहेको छ । यो कोरोना बिरुद्दको लडाइको सफलताको पहिलो पूर्वाधार हो । आइसुलेसनमा बसेपनि यस प्रकारका सकारात्मक कर्महरुका बारेमा सुन्दा मलाई थप उत्साह आउने छ । म आफूसँगै आइसुलेसनमा बसेका विभिन्न पेशा वर्ग र क्षेत्रका ब्यक्तिहरुलाई हेर लौ हेर उ फलाना फलानाहरुले पनि आफ्नो नाउ सार्वजनिक गरे भन्दै समाचार देखाउने छु । सुनाउने छुँ । आफूले आफ्नो नाउँ आफै सार्वजनिक गरेकोमा के के न गरे भन्ने लाग्नेछ मलाई । खासमा केही मानिने छैन, मैले नाउ सार्वजनिक गरेको काम  तर गहिरिएर हेरियोभने यसभित्र धेरै सकारात्मक आयामहरु जोडिएर रहेका हुनेछन् । आफू बचाउ, आफन्त बचाउ, समाज बचाउ र देशको स्वास्थ नै बचाउको । अन्ततः विश्व स्वास्थ बचाउको अभियानमा समेत सहयोगी बन्ने छ ।
भित्र भित्र मलाई लाग्नेछ सुनिएजस्तै कतै मेरो पनि ल्याब वा ब्यवस््थापनको कमजोरीका कारणले स्वाव टेस्टको रिपोर्ट पोजेटिभ देखिएको त होइन ? हैन कँही गएको छैन त कसरी भयो मलाई सङ्क्रमण ? पढेका मिसिल कागजातहरुबाट सरेर आएको हुनुपर्छ । अथवा सँगै काम गर्नेहरु मध्ये कसैबाट सरेको हुनुपर्छ । उ कोरोनासँग लड्न सक्ने क्षमता भएकोले उसमा लक्षण देखिएन । 
म  सात बर्षदेखि सुगरको औषधि खाइरहेको र तीनवर्षदेखि प्रेसरको औषधि खाइरहेको दीर्घरोगी भएको हुनाले होला मलाई  सरेको । तर पनि म किन डराउछु र मोरो कोरोना सँग । म फतफताउने पनि छु । कस्तो असजिलो । सरेको छ कि भनेर शँका गर्नेलाई नसरेको हुने तर सरेको छैन भनेर ढुक्क हुने म जस्तालाई सर्ने ! त्यसैले त गाउँमा कोर्या भन्छन् कोरोनालाई । उहिले उहिले कोर अर्थात कुष्ठरोग लागेकालाई कोर लाग्यो भन्थे र त्यसैलाई आधार मानेर कसैप्रति रिस उठ्योभने रिसाएर गाली गर्ने शब्द बनेको हो कोर्या । सुरु सुरुमा कोर रोगको पनि ओषति थिएन । पछि मात्र आएको हो । यो कोरोनापनि कतिदिनसम्म बिना ओषति रहन पाउला र ?  भित्र भित्रै पखेस् कोरोना भन्न मन लागेर आउनेछ । यस कोरोनालाई नपछारिकन के छोडूँला भन्ने लागेर आउने छ । म भित्रको आत्मवलले मेरो मन त्यसै त्यसै प्रफुल्लित हुनेछ र ओँठहरु अनायाश दायाँबायाँ तन्कीने छन् । नजिकै टेबुलमा रहेको ऐना हेरेर म मसक्क मस्किने छु । 
छेउमै रहेको अर्को कोरोना बिरामीले खोक्ने छ बलपूर्वक । मलाई फेरि डर पलाएर आउने छ । फेरि सम्झने छुँ पहिलो स्वाब हराउने, दोस्रो स्वाब पोखिने र तेस्रो स्वाबको नतिजा आउँदा नआउँदै सास फेर्न नै बिर्सेको हुन पुग्ने एक सङ्क्रमितको अवस्था । मन न हो । मेरो आँखाको वरिपरि आउने छन् सेता सुरक्षित कपडाहरुले बेरिएर रहेका नेपाल आर्मिका कोरोना बिरुद्दका योद्दाहरुले आकृति । उनीहरुले अरुको जस्तै मेरो लाशलाई शब बाहनमा हालेर वस्तीदेखि टाढै लगेको र स्काभेटरले खनेको खाल्टो नजिक राखेर मलाई मर्दो सलामी दिएको सम्मको कल्पनामा पुग्दा मेरा हातपाखुराहरु सबै गल्नेछन् । म सास बिनाको एउटा मुढो जस्तो हल न चल भएको हुनेछु । 
ततक्षणमै बायाँतिर रहेको खत्वे भाइले प्रश्न गर्नेछ ‘’होइन सर माक्स भन्ने चिजपनि थरिथरिका । कुन लगाउदा राम्रो हुने हो, कुन भन्नेपनि खासमा मान्छेहरुलाई थाहै भएको छैन । कमसेकम घरका मानिसहरुलाई अब सँक्रमित नहोस भनेर यसको बारेमा भन्नुपर्ने भो । लौन तपाइलाई थाहा छ भने बताइदिनूस ।
मैलेभने आफैलाई सम्हालेर भन्नेछु धत् लाटा जिउंदै मरेको सम्झने । आफ्नो नाकतिर दाइने हात लैजाने छुँ सास आइरहेको पाउनेछँु । फेरि छाती छाम्ने छुँ । तातोपन र भट्याक भट्याकको मन्दध्वनि पाउने छु । फेरि मेरा ओँठहरु तन्किने छन् । अनि मात्र मैले खत्वे  भाइलाई भन्ने छु अरे भाइ किन डराएको ? यो कोरोना भन्ने चिज केही होइन । मात्र मौसमी रुघाखोकी जस्तो हो । गाउँघरमा भन्ने गर्छन नि आँठे, हो त्यही हो ।  तर खानपिन र अरु ब्यवहारहरुबाट जोगिन भने पर्छ है । दारु छ नि, हो त्यो पटक्कै नखान भनिदिनु घरका मानिसहरुलाई । सुर्ति बिडी तमाखु जस्ता अम्मलहरुले सँक्रमण बढाउँछ भन्ने सन्देश दिनू । तातो पानी र तातो सुप खुब खान भन्नु । साझँमा बेसार पानी वा दुधमा बेसार हालेर खान भन्नु । डाक्टरले भनेको भन्नु न । यही त हो डाक्टरहरुले भन्ने पनि भन्दै गर्दा लाई याद आउनेछ सम्माननीय प्रधानमन्त्रीको बेसार पानीको बोली । 
समआदरणीय बुढाले राम्रै भनेका हुन् । राम्रा राम्रा डाक्टरहरुसँग अर्थात सल्लाहहकारहरुसंग सल्लाह नलिइकन के भन्थे प्रधानमन्त्री जस्तो मान्छेले । तर उडाउने दुश्चेष्ठा पो गरे अरुहरुले । अरुहरु के भनौ विरोधीहरुले नि ।  आ आफ्ना फोटा पहेँल्लै पारे । लुगा पहेँलै बनाए । तरकारीसम्म अलिअलि पहेँलो भएको सुहाउने, यहाँ त भात पनि पहेँल्लै देखाउन थाले ।  केही आफूहरुलाई बुज्रुक भन्नेहरुले आपसमा कुरा गरेको पनि सुन्ने छु कि इम्यूनोसुपरसेन्ट औषधि (ट्राकोलिमस, साइक्लोइस्पोराइन, अजाथ्रोप्राइन आदि ) को सेवनबाट ज्ञान वा क्षमतालाई उत्तेजक बनाउदै साहस भरिदिने र मानिसमा महत्वाकाँक्षा बढाउने साइड इफेक्ट हुन्छ । यही नै उनले खाने ओषतिको बैगुन हो । त्यही कारणले बुढाका कुरा बेलाबेलामा उत्तेजक हुन्छन् भनेर भन्न पनि बाँकी राख्ने छैनन् । मलाइभने एकरत्ति पनि विश्वास लाग्ने छैन बाहिरका कुरौटेहरुका यी कुराहरुमा । 
बरु छिनछिनमा तातो पानी खाइरहने छु । यसो कतै जाँदा स्यानीटाइजर लाइरहने छुँ । यस्तै र त्यस्तै ध्याउन्नमा लागेर खत्वे भाइको सवालको पुरा जवाफ दिन ढिलो गरिरहेको मै आफैलाई पत्तो हुने छैन । 
हामी बसेको आइसुलेसनमा रहेका कोरोना सँक्रमितहरुमा म नै सबैभन्दा ठूलो पदको मान्छे भन्ने थाहा पाएपछि खत्वे भाइ जेकुरा पनि यसले जानेकोछ भन्ने ठानेर मलाई नै सँवोधन गरेर सोध्नेछ । उसले ‘’’होइन सर, मैले त्यो माक्स कुन राम्रो र कसरी प्रयोग गर्न भन्ने हँ घरमा ? लौन सर थाहा भएजति भनिदिनु भनेर फेरि घचघचाउने छ । 
अनि मात्र मैले यसो भन्ने छुः ‘’’हेर भाइ बजारमा थरिथरिका माक्सहरु पाइन्छन् । माक्स जे जस्तो किने पनि पहिलो कुरा त यो लगाउन जान्नुपर्छ । लगाउन भनेर किन्ने तर हातमा समातेर हिड्ने । लगाउन त लगाउने तर चिउडोमा झुण्डयाउने अथवा तल घाँटीमा लगेर कण्ठी बनाउने । लगाउने तर नाक खुलै राख्ने । पुलिस देखे लाउने नत्र गोजीमा हाल्ने । यस्तो वा त्यस्तो होइन भाइ । यसबाट केही फाइदा हुने छैन । 
खासमा कटन र सिफनको बहुपत्रे अर्थात दोहोरो तेहेरो सिलाएको कपडाको माक्स सबैभन्दा सुरक्षित हुनेछ र त्यसलाई जतनले राख्योभने नफाट्दासम्म धोएरपनि लगाउन मिल्ने छ । कटन वा सिफनको राम्रो माक्स कसिलो गरेर नाक र मुख छोपिने गरी लगाइयोभने ९७ प्रतिशत सुरक्षित राख्ने छ खुकुलो गरे ९० प्रतिशत । सर्जिकल माक्स राम्ररी लगाए ७५ प्रतिशत र खुकुलो पारेर लगाए ५० प्रतिशत । एननाइन्टीन माक्स कसिलो गरी लगाए ९५ प्रतिशत र खुकुलो गरी लगाए ३५ प्रतिशत । यस्तै यस्तै हो भाइ भन्दै गर्दा म त दिउसोको उफ्रयाइले हो वा बाथरुम र त्यसो वरपर सफाइ गर्दाको रनकले जिउ रन्किएर हो । बोल्दा बोल्दै मै निदाएको हुनेछु र भोलिपल्ट खत्व भाइले ‘’’अरे सर त बोल्दा बोल्दै निदाइहाल्नु भो हिजो राती त । के कोरोना लागेको होस सरलाई‘ बेकारको पोजेटिभ रिपोर्ट’ भनेपछि मात्र मलाइ थाहा हुनेछ कि हिजो साँझ गफ गर्दा गर्दै पो निदाए छु भन्ने कुरा । 
आफू स्वस््थय रहेको एक कारण आवश्यकताजति सुत्ने गरेकोले पनि हो भन्ने उसलाई बुझाउन मैले खत्वे भाइलाई फेरि भन्नेछु ‘’हेर भाइ मीठो निद्रा स्वस्थ शरीरको आधा प्राण  र प्रमाण दुबै हो । बाँकी आधी प्रमाण खानपिन, बोली र ब्यवहार । यो सब मिल्योभने किोरोना नजिक नै आउदैन । आएपनि चट ।’’ मेरो कुरा सुनेर उभने खितखित् गर्दै हाँसिरहने छ । मजा भएर हाँसोस कि मलाई ब्यँग्य गरेर । त््यसतर्फ मलाई चासो दिनु बुदिदमानी नहुनाले र समकालिन समय कोरोनाबाट बच्न र सके अरुलाई बचाउन ध्यान दिनुपर्ने समय भएकाले मैले भिटामिने सि को चक्की मुखमा हालेर चुस्न थाल्ने छु ।ं
२०७७।४।२७             
 

प्राप्त प्रतिकृयाहरू

To Top