मलाई कोरोना लाग्योभने (क्रमशः२) 

बिचार साउन २६ 2077 ekhabarnepal
400w dilli raj acharya 1589004016890


           डिल्लीराज आचार्य
केही मित्रहरुलाई कोरोना संक्रमण भएको कानमा परेपछि फोनबाट कुरा गर्न चाहेँ तर धेरैले मोबाइल नै रिसिभ गरेनन् । उही सिघ्र स्वास्थ्य लाभको कुरा त हो नि भनेर नउठाएका होलान् भन्ने लाग्यो । ठीकै छ त के भन्ने ? ठीकै छ भन्ने न हो । त्यसैका लागि के फोन उठाइरहनू भनेर होला नउठाएका भन्ने पनि लाग्यो । एकआधले मात्र मोबाइल रिसिभ गरे र केहीले मात्र मेसेन्जरमा पठाएको सन्देशलाई रेस्पन्स गरे । 
कोरोना लागेपछि लाग्यो, लाग्यो । लाग्यो भनेर प्रचार गरेर पनि नभाग्ने अथवा अरुलाई नबाँडिने । खास आफन्तले जसरी पनि थाहा पाइहाल्छन् । किन बजार पिट्नु परेको छ र ! भनेर कोरोना संक्रमितका रुपमा आफ्नो नाउं गोप्य राख्न चाहेका होलान् । कानूनतः गोप्य राख्न पाउने अधिकारको बिषय हो तर गोप्य राखेको छुं भनेर के गर्ने चिन्ने जान्ने जतिले थाहा पाइहाल्छन् भन्ने एउटा साश्वत तथ्य र अर्को नचिनेकाका लागि नाउ सार्वजनिकले के नै फरक पर्छ र संख्या मात्र न हो । त्यसैले पनि नाउं सार्वजनिक गर्नुमा धेरै कोणबाट सकारात्मक छ भन्ने लागेर कोरोना संक्रमितहरुले आफ्नो नाउं आफै सार्वजनिक गर्नु उत्तम हुन्छ भन्ने मेरो ब्यक्तिगत बुझाई हो । मलाई कोरोना संक्रमित भयो भने फेसबुकमा स्टाटस लेखेर आफ्नो नाउं आफै सार्वजनिक  गर्नेछुँ ।   
फेसबुकमा ‘’म आइसोलेशनको यात्रा तिर लागें‘’’ भन्ने सन्देश (स्टाटस) राख्दा नराख्दै आउने छन् गेटवेल सून अर्थात शिघ्र स्वास्थलाभका कामनाहरु । म भने मनमनै सोंच्ने छुं मलाई के भएको छ र  ? कंही दुखेको छैन । कुनै लक्षण देखिएकै छैनन् ।  साच्चै बिरामी परेको हुं र म ? अनि आफैले जवाफ दिनेछुं कोरोना बिरामी भनेकै यस्तै यस्तै हो । हो त कोरोना पोजेटिभ देखिएको । त्यसैले त भन्दै सोच्दै गर्दा मेरो अगाडि साइरन बजाउंदै एम्बुलेन्स आइपुग्ने छ र स्कटिङगको स्टाइलमा आएको प्रहरी भ्यानले पछ्याउंदै म क्वारिन्टाइनतिर लाग्ने छुं । हिजोसम्म गाडी चढ्दा स्यालुट हान्ने वर्दिधारीहरु त्यतिवेला मलाई कसुरदार जस्तो मानेर टाढैबाट हेर्नेछन् अझ पत्रकार क्रान्ति साहलाई जस्तै ओ तँ किन झरेको वा किन गाडी नचढेको भनेर हप्काउन बेर लगाउने छैनन् वर्दधारीहरु । 
वरपरका मानिसहरु झ्यालबाट चियाएर मौनताका साथ हेरिरहने छन् । मुस्कीलले केहीले हात हल्लाउने छन् । मेरी उनीभने रसिला आँखाहरुले देखिउञ्जेल मलाई हेरिरहने छिन् ।
अस्पतालनजिक वा आइसुलेसन स्थान नजिक ओरालिएरपछि सबै सामानहरु बोकेर निर्देशित कोठाहरुतिर लाग्ने छुं म । केही समय अघिसम्मका मेरा सहयोगीहरु र चालकहरु कोही हुने छैनन् । म एकप्रकारले स्वाबलम्बी र अर्को प्रकारले खुला कारागार यात्रामा रहेको एक कैदी सरह रहेको आफूलाई पाउने छुँ । आफूसंगै लगेका सामानहरु मिलाएर राख्ने छुं र वरपरका आइसुलेसन आबासीयहरुसँग एक एक गरेर परिचित हुने प्रयास गर्ने छुं । अलि बढी असहज महसुस गरेकाहरुलाई देखेर मेरो भित्रिमन एकप्रकारले आत्तिने छ । बाहिर भने म पुरै रुपमा सकुसल रहेकाहरु जस्तै गरी हाँसेको अभिनय गर्ने छुं । एकघुट्को पानी पिएपछि सम्झने प्रयास गर्ने छुं भित्र आउनु अघि चिकित्सकहरुले भनेका कुराहरु । 
आइसुलेसनको मापदण्ड पढेका मेरा आँखाहरु म बसेको कोठाको भित्री रुप र बाहिरी रुपतिर क्रमशः जानेछन् । माकुराका जालोहरुले भरिएका भित्ताहरु  जान नाक थुनेर पस्नुपर्ने बाथरुमको दशाले मेरो भइरहेको शारिरीक अवस्थामा थप दशा थपिदिने त्रास भित्री मनले लिन थाल्ने छ ।  पुगीसरी खान्गी र बान्कीमा रहेको मेरा लागि आफूसँगै वरपर रहेका निम्न वर्गका मानिसहरु र श्रम पसिनामा बाचेका श्रमजीवीहरुका सामानहरुतिर आँखा दगुर्ने छन् । मैला लगाउने कपडाहरु र फाट्नै लागेका ओढ्नेहरु, नपुग भाडाँहरु ।  यतैत्यतै फुटेको मोबाइल देखेर मेरो आइफोनले आफू खानदानी र मानदानी भएको झँकार दिने छ त्यँहा । खाटको छेउंमा राखेका हर्लिक्स, च्याबन प्रास, बिस्कुट, कफी बट्टा आदि आदि आफ्ना सामानहरुले कालो चियापत्ती डढाएर रहेको नजिकैको बिरामीको डढेको ताप्केलाई कर्के नजरले हेर्ने छन् । त्यही बीच अम्मली बनेजसरी मैले पनि गुर्जो, ल्वाङ सुकमेल, दालचीनी र अदूवा कुटेर घरकीले बनाइदिएको धुलो सुर्ती च्यापे जसरी ओंठको एकछेउंमा चाप्ने छुँ र आफूलाई अरु संक्रमितहरुमा अब्बल दर्जाका रुपमा रहेको भन्नका लागि आफै नाप्ने छुं अनि एकप्रकारले सन्तोषको सास फेर्ने छुं । तर एकक्षणमै मेरा नजरमा आउने छं भेन्टीलेटरतिर लगिरहेको एक कुशवाहको शरिर अनि फेरि आत्तिने छुं । र सोच्ने छुं के फरक छ म र उसका बिचमा । उ पनि कोरोना संक्रमित बिरामी म पनि बिरामी । उ पनि यतिन्जेल आइसुलेसनमा र म पनि आइसुलेसनमा प्रबेश गरेको नवआगन्तुक । केही दिनपछि मेरो यात्रा पनि उ जसरी नै भेन्टीलेटरमा राख्नका लागि आइसियु कक्ष तिर नजाला भनेर ढुक्क कसरी हुने ? अनि आतिने छ मेरो मन । कहा सबैलाई भेन्टिलेटरमा राख्नु पर्छ र ? बेलैमा होसियारी अपनाउनेहरुलाई र रोगप्रतिरोधात्मक खान्गी र वान्की हुनेहरुलाई कहा धेरै च्याप्न सक्दछ र कोरोनाले भन्ने सोंच्दै  सम्झाउनेछुं आफैलाई ।
आरनमा बसेर ज्यावलहरु चलाउदै पसिना बगाउने अनि श्रम अनुसारको खान्गी खाने उसको जिन्दगी र कुर्सीमा बसेर कलम चलाउदै तोकिएको काम भएपनि नभएपनि पुरै मासिक खान्गी खाने मेरा बिच वर्गीय भिन्नता रहेपनि कोरोनाको शासनमा मैले समानता देख्ने छुं । कोरोनाका लागि म बिशिष्ठ श्रेणीको दर्ज्यानी र उ निम्न स्तरको सर्वहाराको कुनै भिन्नता हुने वा देखिने छैन ।  छेउँ मै रहेको यादब, जो मेरै आवस नजिकै कपाल काट्ने काम गरेर दैनिकी चलाएको थियो, उसलाई देखेपछि मेरो मनमा लाग्यो कपाल बढ्यो भने यहां पनि त शैलून सेवा हुने रहेछ । तर फेरि सम्झे । अस्तिंसम्म यता र उता गरी मेरो शरीर मालिस गरीदिने र मेरो टाउकोमा औँलाहरु ठोक्दै औंला पड्काउने उसका हात मेरा लागि छुन नहुने हुनेछ । मैले राम्ररी चिनेपछि उसले फेरि एकहातले इशारा गर्दै भन्ने छ ‘’जयरामजी सर, तपाई पनि आइहाल्नु भो । तपाई त सुरक्षाकर्मीको सलोट खांदै स्कारपियो चढ्ने मानिस यँहा कसरी आउनु होला लागेको थियो तर आइहाल्नु भएछ‘’’ उसले आशर्चयभावमा मलाई सोध्ने छ । म निरउत्तर रहेर उसका आँखातिर हेरिरहने छुं । 
छिन् छिनमा आइरहने अरुका मोबाइलका आवाजहरु भन्दा मेरो मोबाइलका आवाजहरु बढी हुनेछन् । अरुलाई झर्को लागिरहेको हुनेछ तर सुरु सुरुमा म आफूसँगै बसेका अरुहरु भन्दा बढी परिचित र बढी शुभचिन्तक भएको सम्झेर मजाले गफिने छुं । 
‘’केही छैन । रित न हो । रिति पु¥याउन आएको । घर मै राखिदिएको भएपनि हुने तर सरकारको आइसुलेसनको नियम रे । नआइ नहुने भएर आएको नि । चिन्ता केहि छैन‘ धन्यवाद धन्याद ।‘’ यस्तै भन्दै जाने छु तर केही पछि त म आफैलाई पनि झन्झट लाग्ने छ । अनि घरपरिवारका सदस्यहरु र खासै आफन्तहरुका बाहेक अरु कसैका मोवाइलहरु रिसिभ गर्ने छैन । बाहिर भने मोबाइल रिसिभ बन्द गरेको अर्थ अर्को लाग्ने छ । कोरोनाले चापेको अर्थ र भेन्टिलेटरतिरको यात्रामा रहेको अर्थ । घरकीले भनेपछि मलाई यो पनि थाहा हुनेछ  । 
अनि फेरि मुसुमुसु हाँस्ने छु एकलै । आफैलाई डर लाग्ने छ कतै अरुहरुले थहा पाएर अर्ध बौलाहा त भनेनन् भनेर ।    
‘’तातोपानी खाइरहनु, मेथी गुर्जु दाल चीनी, अदूवा बेसार हालेर पानी पकाइ (काडां बनाए) खाइरहनु, दिनको दुइपटक दिएका भिटामिन सि र डि का चक्कीहरु खानु दिनहूं बिहान साझं हल्का पसिना निस्कने गरी ब्यायाम गर्नु. लेख पढ गर्नु, आपसमा कुरा कानी ज्ञान आदान प्रदान आदि गरी मन प्रसन्न बनाउनु,  केही असहज लागे फोन गर्नु‘.’’ भन्दै सम्बन्धित अस्पत्तालको फोन नम्बर र आफ्नो मोबाइल नम्बर दिदै ‘. आत्तिनु पर्दैन । केही हुदैन यस्तै यस्तै भनेर चिकित्सकहरुले भन्ने छन् । तर भारतीय अभिनेता अभिताभ बच्चनले स्टाटसमा लेखे जस्तै यहां अर्थात नेपालमा पनि चिकित्सकहरु देखा पर्न गाह्रो मान्ने छन् । 
फोन वा मोबाइल पनि मुस्किलले रिसिभ गर्ने छन् भन्ने पूर्व हेक्का म मा अवश्य रहने छ । र बिस्तारै फेरि स्मरणमा लिने छुं ‘’कोरोना भनेको अब केही बर्षसम्म रहिरहने रोग हो । यससँग संर्घष गरेरै बाँच्नु पर्ने छ । यससंगै संघर्ष गर्ने बाँच्ने अबको बाध्यता हो मान्छेका लागि’’ भनेर विश्वस्वास्थ्य संगठनले हालै जारी गरेको बिज्ञप्ति ।                                                 
२०७७ साउन २५
 

प्राप्त प्रतिकृयाहरू

To Top