प्रदेश ५ बजेट कार्यान्वयनमा प्रथम, परिवर्तनको अनुभूति हुने गरी खर्च गर्न मुख्यमन्त्रीको निर्देशन

राजनीति साउन २० 2077 ekhabarnepal
Safe image

बुटवल, साउन २०
माननीय मुख्यमन्त्री शंकर पोखरेलले उपलब्धीका सूचकहरु देखिने गरी बजेट खर्च गर्न निर्देशन दिनुभएको छ ।
प्रदेश विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समिक्षा  कार्यक्रममा मन्त्रालयहरुको प्रस्तुतीपछि उहाँले नतिजामुखी र उपलब्धीका सूचकहरु देखिनेगरी बजेट खर्च निर्देशन दिनुभएको हो । “बजेट खर्च भएपछि के उपलब्धी भयो भन्ने प्रष्ट देखिनुपर्छ, नागरिकले परिवर्तनको अनुभूति गर्न पाउनुपर्छ—उहाँले भन्नुभयो ।
उहाँले गत आर्थिक वर्ष धेरै अप्ठारोका बीच राम्रो नतिजा निस्केको र त्यसका लागि काममा खट्ने सबैलाई धन्यवाद दिनुभयो । साथै उहाँले चालु आर्थिक वर्षमा अझ धेरै राम्रो गर्न संयोजनकारी सक्रियता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कोभिड—१९ले श्रृजना गरेको असहज अवस्थाका बाबजुद गत आर्थिक वर्ष २०७६। ०७७ मा प्रदेश सरकारको पूँजीगत खर्च ७९ दशमलव २९ प्रतिशत भएको छ । त्यसैगरी चालुतर्फ ६० दशमलव ५४ प्रतिशत भएको छ । यो हिसाबले कुल खर्च ७० दशमलव ०१ प्रतिशत भएको छ ।
सिंचाई र खानेपानीको दीगो व्यवस्थापनका लागि चुरे र भावर क्षेत्रमा जलाशय निर्माणलाई प्राथमिकता दिएर अघि बढ्न निर्देशन दिनुभयो । “ठूला खालका जलाशय निर्माण, गरौं, त्यस्तो गर्न सकिने क्षेत्रको पहिचान गरी योजना अघि बढौं, ती आयोजनाले नतिजा दिन्छन्—उहाँले भन्नुभयो । सेवा प्रवाहलाई छिटो र छरितो बनाउन र नागरिकको विश्वास जित्न प्रविधिको प्रयोगलाई ध्यान दिएर अघि बढ्न मुख्यमन्त्रीले निर्देशन दिनुभयो ।
 त्यसैगरी, उहाँले यातायात व्यवस्था कार्यालय नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने कार्यालय भएकाले सेवा प्रवाहलाई व्यवस्थित बनाउन निर्देशन दिनुभयो । उहाँले कपिलवस्तु र अर्घाखाँचीका लागि कपिलवस्तुमा कार्यालय स्थापना गरी काम गर्न सके बुटवल कार्यालयको चाप घटाउन सकिने भएकाले त्यतातिर ध्यान दिन आग्रह गर्नुभयो ।
कर्मचारी हेरफेर भदौ भित्र गर्न तथा कार्यसम्पादन र मुल्याङकनका आधारमा हेरफेर गर्न उहाँले निर्देशन दिनुभयो । रिक्त दरबन्दी मध्ये अत्यावश्यक र प्राविधिक जनशक्तिको सूची तयार गरी पूर्तिका लागि प्रदेश लोकसेवा आयोगलाई छिटो दिन मुख्यमन्त्रीले आग्रह गर्नुभयो ।
उहाँले कोभिडको दोश्रो चरण आएको त्यसले भारतमा संक्रमित र मृत्यु हुनेको संख्या बढेकोले त्यसको विश्लेषण गर्दै सामाजिक विकास मन्त्रालयले योजना र कार्यक्रम अघि बढाउन निर्देशन दिनुभयो । दोश्रो चरणमा लक्षण सहितका विरामीको संख्या बढेकाले उहाँले आइसियुको क्षमता  बढाउनुपर्ने बताउनुभयो ।
कोभिड १९ का कारण धेरैको रोजगारी गुमेकोले भारतीय श्रमिकको प्रतिस्थापन गरी रोजगारी श्रृजना गर्ने गरी काम अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

कोरोना महामारीका विचमा पनि प्रदेश ५ पूँजीगत बजेट कार्यान्वयनमा प्रथम भएको छ ।  प्रदेश योजना आयोगले तीन दिनसम्म बुटवलमा गरेको प्रदेश विकास समस्या समाधान समितिको बैठकपछि मंगलबार पत्रकार सम्मेलन गरि पूँजीगत बजेट कार्यान्वयमा ७ वटै प्रदेशमा पहिलो भएको जनाएको हो ।

प्रदेश सरकारको आन्तरीक राजस्वमा ३ अर्ब ४८ करोड ९१ लख रुपैयाँ संकलन गर्न सफल भएको छ । पत्रकार सम्मेलनमा प्रदेश ५ का प्रमुख सचिव तोयनारायण ज्ञवालीले कोरोना महामारीका विच पनि बजेट कार्यान्वयनमा ठूलो सफलता प्रांप्त गरेको दावी गरे ।

उनले विधि, प्रक्रियाका हिसाबले प्रदेश ५ ले उत्कृष्टता हासिल गरेको बताए । पत्रकार सम्मेलनमा योजना आयोगका उपाध्क्ष डा. इश्वर गौतमले कोरोनाले स्वास्थ्य क्षेत्रमा चुनौतीसँगै प्रदेशको स्वास्थ्य पूर्वाधारको स्तर उन्नतीमा उल्लेख काम गरेको बताए ।

तीन दिनसम्म भएको उक्त बैठकलाई मुख्यमन्त्री शंकर पोखरेलले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा ध्यान दिन आग्रह गरेका थिए । बैठकमा मन्त्री, मन्त्रालयका सचिव एंव महाशाखाका प्रमुखहरुको सहभागिता थियो ।

प्राप्त प्रतिकृयाहरू

To Top