मलाई कोरोना लाग्योभने ........

बिचार साउन २० 2077 ekhabarnepal
Download


                                                   डिल्लीराज आचार्य
ए, अझै वीरगन्जमा हुनुहुन्छ ? दुई दुई वर्ष भइसक्यो सरुवा पनि नहुने रैछ कि क्या हो ? होइन कसरी बस्नु भएको छ यस्तोमा पनि लगातार वीरगन्जमा ? अरुलाई जिम्मेवारी दिएर घर आउन मिल्दैन ? भयावह छरेन्त त्यहाँ त ? आलोपालो गरेर अफिस धाने पनि त हुने नि, ज्यानको त सबैलाई बराबरी माया हुन्छ होला नि ! सन्चै हुनुहुन्छ हैन ? केही भइहाल्यो कि भन्ने पिर ? ….. 
यसप्रकारका र यही अर्थ र भावका धेरे सवालहरु सुन्नु परेको धेरै भयो । नेपालमा कोरोनाको प्रभाव परेको सुरुको समयमा नै सबैभन्दा बढी सँक्रमण बढेको क्षेत्र हो प्रदेश नँ २ र त्यसमा पनि वीरगन्जको क्षेत्र । त्यसपछि क्रमशः सबैतिर केही न केही प्रभाव देखियो । हिजो आज फेरि कोरोना सँक्रमणको प्रभावले बीरगन्ज र यसको वरपरको खबर उसैगरी तातेको छ । फेरि उस्तै र अझ बढी चिन्ताका सवालहरु कानमा हानिएर आइरहेका छन् । 
कोरोना ब्याक्टेरिया होवोस वा भाइरस वा दुबैको समीश्रित रुप मलाई खासै चासो छैन । किनकि म चिकित्सक वा ततसम्बन्धी ज्ञान वा कर्मको क्षेत्रको प्राणी होइन । कोरोना कोभिड १९ (Covid-19) एक थरिको होवोस कि सात थरिको अथवा सयौँ थरिको । यो पनि मलाई सोधखोज गरिरहनु छैन । किनकि कोरोना सक्रमणको कारण र निदानका उपायहरुको खोजी र ब्यवस्थापन गर्ने सार्वजनिक जवाफदेहिताको पद मेरो होइन । कानूनका शब्दहरु पढ्ने र विवेकको मदानी चलाएर न्यायको भाका बोल्ने पदको मान्छे । कर्मक्षेत्रको सिमा बुझ्नु पर्ने, सिमाभित्र रहेर श्रम गर्नुपर्ने र धेरै सिमाहरुका बिचमा रहेर चल्नु पर्ने । त्यसैले सिमाहरुका बिचमा रहेर बस्नु मेरो जीवनकै कर्म र धर्म बनेको छ । असिमित स्वच्छन्दता पाएको भए, समयले दिएको कहरको यो बेला, के के भन्ने थिएँ, के के गर्ने थिएँ भन्ने लाग्दछ । तर फेरि सम्झन्छु, असिमित स्वच्छन्दता भएको भए केही बोल्थेँ, मन खोलेर लेख्थेँ, अझ जोड जोडले कराउदै उफ्रन्ते होला तर उफ्रदा उफ्रदा पनि केही नभएपछि आफै थच्कन्थे पनि होला भन्ने लाग्दछ । किनकि अरुले जे सुकै भनून आफूलाई लागेको मात्र ठीक भन्ने र आफू ठीक, अरु सबै बेठीक भन्ने बाहुल्यपूर्ण समाजको सँस्कृतिप्रायः बनेको बुझाइको अगाडि म पनि कसरी अलग भएर रहन सक्थेँ होला र ?
मेरो सुरु देखिको बुझाई कोरोना एक प्रकारको कडा आँठे राेग हो । हालसम्म नदेखिएको र औषति नभएको रोग हो । यसँसग जोगिएर बस्ने, भेट्याइहाले सँघर्ष गर्दै बाँच्ने र कोरोनाले जित्योभने मर्ने । यसका लागि प्रथमतः एसएमएस (सेनिटाइजर प्रयोग, मास्क प्रयोग सामाजिक दूरी कायममा) नियमलाई अनिवार्य पालन गर्नु पर्छ । आफूसँगै काम गर्नेहरुलाई पनि यो नियमको पालनाका लागि अभिप्रेरित गर्नुपर्छ । कार्यालयमा आउनेहरुका लागि पनि साबुन पानीको ब्यबस्था सहित एसएमएस नियम पालनाका साथ सेवा उपलब्ध गराउनु पर्छ । कोरोनाबाट जोगिन पर्ने बिषयमा सचेतनामूलक सागाग्रीहरु टाँस्ने, राख्ने र ततसम्बन्धमा अभिप्रेरित गराउनु पर्छ भन्ने नै रहयो । कोरोना अनिच्छित पाहुना रोग हो । यो अब सितिमिति टाढा जादैन र यसले सोचेर जसरी सजिलो गरी पनि हरेकको जीवनलाई खादैन र लादैन । अनुशासित भएर नबस्ने, होसियारीका नियमहरु पालन नगर्ने तर भित्रभित्र डरले थुरथुर हुनु यससँग छिटै जाने बाटो आफै खन्नु हो भन्ने बुझाइ रह्यो । विश्व स्वास्थ्य सँगठनले केही दिन अघस ‘’अब करिब एक दशक जति अवधिमा अब कोरोनासंग संघर्ष गर्दै बांच्ने हो’’ भन्ने सन्देश जारी गरेपछि ब्यक्तिगत बुझाई ठीकै रहेको लागिरहेको छ आफैलाई । 
पूर्वशतर्कता, परिवेशसँगको सावधानी र अनुशासित जीवन पद्दतिको कारणले कोरोना आजसम्म साथमा आउन सकेको छैन । कोरोनाले गाथलाई केही गरेको छैन । तर केही गर्दैन भनेर ढुक्क हुने अवस्था पनि छैन । अलिकति मौका पायो भने कोरोना आफूसंगै घरभित्रै पस्छ र आफूसँगै अरुलाई नजानिदोगरी यसले डस्छ भन्ने मभित्रको चेतनायुक्त दिमाग सधै चलायमान भइरहेको छ।  
मानसिक रुपमा सचेत र ब्यबहारिक रुपमा होसियारी बन्दै आवधिक रुपमा आरडिटी र पीसिआर गर्दा गर्दै र सबैप्रकारको होसियारी अपनाउँदा अपनाउदै पनि अर्थात यस त्यस त्यस कारणले पापी कोरना मलाई लाग्दैन भन्ने लाग्दालाग्दै पनि कोरोना लागिहाल्योभने के गर्ने ? भन्ने सवालले पटक पटक मलाई जिस्काइ रहन्छ र हिर्काइरहन्छ ।
अनि आफै जवाफ दिन्छु, लागि हाल्योभने पहिला सुन्दासाथ फिसिस्स रुन्चे हाँसो हाँस्ने छुँ । घरकीलाई केही होइन भनेर यसअघि मौका मौकामा आफसमा भएका ततसम्बन्धी प्रभावका कुराहरु पुनः स्मरण गराउने छुँ । जिल्ला सँकट ब्यबस्थापन केन्द्र र सम्ब्नधित चिकित्सकहरुको सल्लाह एवम निर्देशन अनुसार क्वारेन्टाइनमा जानका लागि आवश्यक सामाग्रीहरु तयार गर्न लगाउने छुं । एकपछि अर्को गर्दै सामानहरु छुट्यो कि भनी हेर्ने छुँ  । मलिन अनुहारले एक एक गर्दै सामानहरु जुटाइदिने घरकीलाई ‘’कोरोना फाइट, कोरोना फाइट’’ भन्दै हसाँउन प्रयत्न गर्ने छुँ । छोरो आफै चिकित्सक, उसैले भन्ने गरेको छ, ‘’लाग्छ जुनसुकै बेला पनि लाग्न सक्छ र धेरैलाई लाग्नेछ यो’’ । त्यसैले धेरै सम्झाउनु पर्ने छैन उसलाई । बरु उ आफैले सम्झाउने छ मलाई । छोरीहरु आ-आफ्नै रनक र छनकमा उत्तर र दक्षिणमा छन् । समयको खेलले फेसबुक र मेसेन्जरमा दिनहूँ भेट भएपनि सजिलो गरी सशरीर भेट हुने अवस्थामा छैनन् उनीहरु । स्वभाविक रुपमा घरकि पछि उनिहरुको चिन्ता बढी देखिने छ । तर दुबै मानकार र जानकार पनि छन् । विश्वस्त छुँ, उनीहरुमा कुनै प्रकारको बिचलन आउने छैन र बरु थप होसियारीका अध्यायहरु आउने छन् । 
वाल्यकालको टुहुरोपनमा आमाको ममता समेत दिने दिदी र त्यसपछिको स्नेहको हकदार दाजु कोरोनाले सबैभन्दा बढी आक्रान्त बनेको गोराहरुको मुलुकमा रहेकाले उनीहरुको पनि सशरीर भौतिक रुपमा नजिकबाट स्नेह पाउने समकालिन समय छैन । सूचना सम्प्रेषण र सहभाव प्राप्तिका लागि उही मेसेन्जर वा फेसबुककै सहारामा रहनु पर्नेछ । ततक्षण सम्झनु पर्ने घरतिर र माइती मावलीतिरका धेरै हुने छन् । जागिरमा सिढीँ चढ्न प्रतिस्पर्धा गर्नेहरु तर आदर तथा स्नेहले पनि बुझ्ने र हेर्नेहरु पनि छन् भन्ने मनमा लागिरहेको छ । जागिर नखाने तर पेशागत एवम अपनत्वको भावनाले सम्झी रहनेहरुको लामबन्दी पनि मेरो मानसपलटमा आइरहने छन् । सगै काम गर्ने सहकर्मी सहधर्मीहरु मध्ये कतिलाई सम्झन मन लाग्नेछ त्यस क्षणमा । यी सबैलाई फोन गरेर वा मेसेज गरेर मैले क्वारेन्टाइनको यात्राको आरम्मको कठीन सन्देश दिन सक्ने छैन । यी सबैको सम्झनाको एउटै बाटो हुने छ फेसबुकको स्टाटस । त्यहाँ मैले लेख्ने छुं, 
‘’आजदेखि म पनि अाईसुलेसनको बास तिर लागि रहेको छुँ । तपाइहरुको आशिर्वाद र शुभ कामना पाइरहेसम्म केही हुने छैन मलाई । तपाइहरुको सबै पूर्व होसियारीका साथ रहनु होला र कोरोना प्रभाव अब मावन जीवनको अनिच्छित अविरल यात्रा हो भन्ने सम्झिदिनु होला’’ । 
कतिले कोरोनालाई पुर्खाले भोगेको कोर (कुष्ठरोग) सम्झने अन्धविश्वासी मानसिकता सरह लिएका छन् । कोरोना त कुष्ठरोग जस्तै रोग हो । यो रोग जोकोहीलाई पनि लाग्न सक्दछ र यो रोग लाग्दैमा मरिहाल्ने वा यो रोग लाग्दैमा छि! छी! र धुर धुर गरिहाल्नु पर्ने भन्ने केही छैन । कोरोना लागेर मर्नेहरुको लाश नदीको किनारामा जलाउन नदिने वा आफ्नो इलाकाको नदी वा वनमा गाड्न पनि नदिने वा कोरोना लागेको आफन्त लाशको नजिक स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर जान पनि डराउनु पर्ने केही छैन । कोरोना बिरामी वा कोरोना लागेर मरेको मृतक प्रति जीवितहरुबाट हुने सबैखाले नकारात्मक सोँच र ब्यवहारहरुले मानवताको खिल्ली उडाइरहेको हुनेछ । आफू वा आफ्नै घरमा कोरोनाको संक्रमण पर्दाको मर्म बिर्सिरहेको हुनेछ । 
राज्यसरकार र सार्वजनिक जवाफदेहीताको पदमा रहेका सबैले बुझ्नुपर्ने बिषय हो कि ज्यान वा वैयक्तिक स्वतन्त्रता मात्र मावन अधिकारका बिषयहरु होइनन् । मृत्युपछि सम्मानजनक रुपमा दाहसँस्कार पाउनु मृतक र मृतकका आफन्तहरुको मानव अधिकारको बिषय हो । यसलाई मानव अधिकारको बिषय, सँबैधानिक हकको बिषय र मुलुकी देवानी संहिता २०७४ को दफा ३७ ले पनि संरक्षण गरेको छ ।
करिब पाँचमहिनाको अवधिमा अत्यन्तै धेरै कम मान्छेले आफूलाई कोरोना लागेको आफै सार्वजनिक गरेका छन् । केहीले कोरो सँक्रमित ब्यक्तिका रुपमा आफ्नो नाम सार्वजनिक गर्न स्विकृति दिएका छन् । आफै सार्वजनिक हुनेमा पत्रकार सुरेश विडारी, मेयर बिजय सरावगी, सभासद प्रदीप यादब, पत्रकार क्रान्ति र राजनीतिज्ञ एवम् समाज सेवी रहबर अन्सारीहरु यस अर्थात वीरगन्ज क्षेत्रका क्रमशः अग्रणी नामहरु हुन् ।  म ठानिरहेको छुं उनीहरु सबैले उत्तम काम गरे । कम्तिमा आफूसंग यसबिचमा आफ्नो नजिक आउनेहरु सबैलाई पूर्व सचेतनाको आग्रहमूलक सन्देश दिएर आफूहरुलाई निडर र मानवतावादी ब्यक्तिका रुपमा दर्ज गराएका छन् । उनीहरु सबै सबै प्रति मेरो नमन छ ।  पत्रकार सुरेश बिडारीले स्वास्थ्य लाभ गरेको धेरै भइसक्यो । अरुहरु सबैले सिघ्र स्वास्थ्य लाभ गरुन । कर्म क्षेत्रमा फर्केर अझ सशक्त जनसेवकमा ब्यवहारद्वारा आफूहरुलाई अनुप्रमाणित गरुन । मेरो यही हार्दिक शुभेच्छा छ । 
आफै कोरोना संक्रमितका रुपमा सार्वजनिक गर्नु नगर्नु वा अरुद्वारा नाम सार्वजनिक गर्न दिनु वा नदिनु सम्बन्धित ब्यक्तिको निजी हकको बिषय हो तर सबैले सोच्नुपर्छ सार्वजनिक गर्दा फरक पर्ने नपर्ने भनेको के हो ? कोरोना लागेको आफैले सार्वजनिक गर्दा मनमा हरि नहुने र कुभलो चिताउने एकाधले बल्ल खाएछ भन्लान् तर धेरै शुभचिन्तकहरुले सहानूभुति राख्ने छन् र स्वास्थ्य लाभको कामना गर्ने छन् । आ आफ्नो कोणबाट सहयोग गर्नेछन् । कर्मक्षेत्रमा आफूसँग रहेर काम गरेकाहरुले आफूहरुलाई सक्रंमित छ छैन भनेर ततकाल जाँच गराउने छन् । राज्य प्रशासनको स्वास्थ्य सेवामा लागि कन्ट्याक्ट ट्रेसिङ्का लागि सजिलो पर्ने छ ।  धेरै धेरै सकारात्मक पक्षहरु रहने छन् । देखिने छन् । 
कोरोना लाग्योभने सर्वप्रथम सार्वजनिक रुपमा जानकारी गराउनु मेरो पहिलो कर्तब्य हो भन्ने मेरो बुझाई रहेको छ । मैले त्यसो गरेँभने कम्तिमा अरुको बाँच्ने अधिकारको सम्मान गरेको हुने छ । मसँगको जीवन र जगतको सहकार्यमा रहेका तमाम आफन्त, मित्र, सहकर्मी र सहधर्मीहरु सबैको ध्यान आ-आफ्नो जीवन रक्षाको लागि पूर्व होसियारीतर्फ थप आकर्षित हुनेछ । यो नै मेरो जीवन यात्राको पछिल्लो तर मानवीय ब्यवहारको एक अर्को उदाहरण हुने छ । म कोरोना लागेर नहराएको र नडराएको हुने छुं । म जीवन र जगतसँगै रहेको प्रमाणित हुने छ ।  
अर्थात मलाई कोरोना लाग्यो भने सर्वप्रथम म सबैलाई सुसूचित गराउने छुं कि ‘’म अाईसुलेसनको यात्रा तिर लागें……’’ । त्यसपछि…..
                                                                              
 २०७७।४।१९                                   राधेमाइटोल, वीरगन्ज
 

प्राप्त प्रतिकृयाहरू

To Top