कोरोनाबाट मृत्यु हुनेको संख्या ५८, उपत्यकामा ६२ सहित २५९ संक्रमित थपिए 

स्वास्थ्य साउन २० 2077 ekhabarnepal
5e92ff0d5dafd 1

काठमाडौं,श्रावण २० । नेपालमा कोरोना भाइरस कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिका ५, आदर्शटोलका ७७ वर्षीयको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए । 

 मधुमेह तथा उच्च रक्तचापका बिरामी ती वृद्धा ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि कोसी अस्पताल भर्ना भएका थिए ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ६२ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि काठमाडौंमा उपत्यकामा एकदिनमा सबैभन्दा धेरै ५३ कोरोना संक्रमित थपिएका थिए । 
प्रवक्ता डा। गौतमले काठमाडौंका ४८, भक्तपुरमा १३ र ललितपुरमा एक जना कोरोना संक्रमित थपिएको बताए । 
नेपालमा मंगलबार थप २५९ संक्रमित थपिएका छन् । सात हजार ६ सय ८७ वटा पीसीआर परीक्षणमा मंगलबार २५९ जनामा पाजेटिभ देखिएको हो । अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । आजसम्म पीसीआर विधिबाट चार लाख ६ हजार पाँच सयवटा परीक्षण भएका छन् ।

अहिले देशभर जम्मा पाँच हजार नौ सय २५ संक्रमितको उपचार भइरहेको छ । जसमा प्रदेश १ मा ३३४, प्रदेश २ मा २४ सय २७, वाग्मती प्रदेशमा ७१६ र गण्डकी प्रदेशमा २६३ जना संक्रमित उपचाररत छन् । यसैगरी प्रदेश ५ मा ३३५, कर्णाली प्रदेशमा २९५ र सुदूरपश्चिम प्रदेशमा १५ सय ५५ जना उपचाररत रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकामा गरिएको परीक्षणमा ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । उपत्यका भित्रिने साँगा, नागढुंगा र फर्पिङ नाकाबाट १० हजार ८ सय ५३ नमुना संकलन गरिएकामा नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना गरी ४० जना जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा। गौतमले बताए ।

नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एक जना कोरोना संक्रमित थपिएका छन् । स्टार अस्पतालमा गरिएको पीसीआर परीक्षणमा काठमाडौका दुई जना र भक्तपुरका एक जनामा कोरोना देखिएको छ । 

भक्तपुर कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एक जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । मंगलबार देशैभर २५९ जनामा कोरोना संक्रमण देखिएको छ भने कुल कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको मन्त्रालयले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top