कम्युनिष्ट विचारका सर्जक क.पुष्पलाल

राजनीति साउन ७ 2077 ekhabarnepal
Bal bhd acharya

  
बलवहादुर आचार्य

यो हप्ता नेपालको राजनीतिका दुई शिर्ष व्यक्तित्वहरु पुष्पलाल र बि.पि.कोइरालाको जन्म दिन परेकोले देशै भरी उहाँहरु र उहाँका विचार बैज्ञानिक समाजवाद र प्रजातान्त्रिक समाजवादका बारेमा चर्चाहरु भएका छन् । कतिपय मानिसहरु अव नेकपा र नेपाली कांग्रेस दुवै प्रजातान्त्रिक प्रणालीवाट राज्य संचालन गर्ने ठाउँमा पुगेकोले केही फरक भएन यी दुवै उस्तै उस्तै पार्टी हुन र यी पार्टीहरुको विचारमा केही भिन्नता रहेन भन्ने विचारहरु व्यक्त भएको पाइन्छ । राजनीतिक पार्टीमा कार्यनीति र रणनीति अर्थात लक्ष्य र लक्ष्य प्राप्त गर्ने बाटोको बारेमा सामन्य ज्ञान नभएकाहरुको लागि र भ्रमबस यी दुवै एकै हुन भनी नियतबस भ्रम श्रृजना गर्नेहरुको लागि यो विषय एकै होला । तर नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवाद र नेकपाको बैज्ञानिक समाजवादमा मूल अन्तर भनेको स्वामित्व अर्थात उत्पादन प्रणालीमा उत्पादन सम्वन्धको विषय हो जुन विषय समाज विकासको मेरुदण्ड पनि हो । नेपाली काँग्रेसको समाजवादले व्यक्तिवाद र धनी व्यक्तिहरुको स्वामित्वको अधिकारलाई सुनिश्चित गर्दछ भने बैज्ञानिक समाजवादले उत्पादन प्रणालीमा उत्पादन सम्वन्धलाई सामाजिक वा समुहको हितलाई सुनिश्चित गर्न वलत गर्दछ । नेपाली काँग्रेसको समाजवादले प्रजातान्त्रिक व्यवस्थामा अव सवैले स्वतन्त्रपूर्वक प्रतिष्पर्धा गर भन्दै ठुला पूँजीपति र श्रमजीवि अर्थात बाघ र विरालोका वीचमा प्रतिष्पर्धा गराउने नीति लिन्छ भने नेकपाको समाजवादले समाजमा पिछडीएको क्षेत्र समुदाय र जातजातीलाई राज्यको विशेष निगरानीमा राख्दै उनीहरुलाई राज्यले संरक्षण गर्दै प्रतिष्पर्धामा आउन सक्ने बनाउदछ । यहि नै पुष्पलाल र बि पि कोइरालाले अगुवाई गरेको समाजवादको मुल भिन्नता हो । जे भए पनि यी दुई महापुरुषहरुले नेपालमा रहेको राणा तथा निरंकुश व्यवस्थाको अन्त्य गरी नागरिकहरुलाई शासनमा हकदार बनाउनु पर्दछ भन्ने आन्दोलनको अगुवाइ र समाज विकासका दुई विपरित विचार प्रणालीको बारेमा गरेका अह्म योगदानलाई नेपाली समाजले सधै सधै संझना गरी रहनेछ । यस योगदानका लागि उहाँहरु प्रति नेपालको बौद्धिक समाजले हार्दिक श्रदासुमन अर्पण गरी रहनेछ । यसर्थ आजको यस अवशरमा उहाँहरु प्रति हार्दिक श्रदासुमन व्यक्त गर्दछु ।

पुष्पलालको राजनीतिमा प्रेरणाको श्रोत ः

क. पुष्पलाल वि स १९८१ असार १४ गतेका दिन बुवा भक्तलाल श्रेष्ठ र आमा तुल्सि कुमारीका माइला छोराका रुपमा रामेछापको भंगेरीमा जन्मनु भएको थियो । उहाँको माध्यमिकसम्मको शिक्षा नेपालको पुरानो स्कूल दरवार हाई स्कूल काठमाण्डौमा भएको थियो । उच्च शिक्षा अध्ययनका लागि त्रिचन्द्र क्याम्पसमा भर्ना हुनु भएका पुष्पलाल दाजु शहिद गंगालालको वि सं १९९७ सालमा हत्या गरियो । त्यसको पिडा तथा आक्रोसदेखि उहाँ देशको मुक्ति र नागरिकको स्वतन्त्रता एवं अधिकारका लागि समर्पित हुने प्रण गर्नु भयो । दाजुलाई राणाहरुले फासि दिने निधो भइसके पछि दाजुलाई भेटन जानु भएका बेला गंगालालले पुष्पलाललाई मलाई राणाहरुले मार्ने नै भए अव मैले नागरिकको स्वतन्त्रताको लागि उठाएको झण्डा अव तिमिले उठाउनु है भाई भनेको शन्देश नै पुष्पलालको राजनीति प्रतिको गहिरो प्रेरणाको श्रोत बन्यो र आजीवन यस बचनको पालनामै उहाले आफ्नो जीवन समर्पण गर्नु भयो ।

क) नेपालको राजनीतिमा क.पुष्पलालका योगदानहरु ः

सादा जीवन र उच्च विचारका सादक पुष्पलाल जीवन भर ज्यादै कठिनतम अवस्थामा पनि नेपाली नागरिकहरुलाई निरंकुश शासनवाट कसरी मुक्त गर्ने र उनीहरुको जीवनलाई कसरी एउटा असल नागरिकको रुपमा बाच्न सक्ने बनाउने सकिन्छ भन्ने कार्यमा लागिरहनु भयो । त्यसका लागि सिद्धान्त, नीति तथा कार्यक्रमहरु कसरी निर्माण गर्ने, उक्त सिद्धान्तलाई व्यवहारमा उतार्नका लागि के कस्तो संगठन बनाउने र नागरिकका अधिकार प्राप्तीका लागि कस्ता कस्ता संघर्षका योजना बनाउने भन्ने बारेमा निरन्तर कृयाशील रहनु भयो । उहाँले आफ्नो जीवनको अन्तिम घडीमा मृत्यु शैयामा पुग्ने बेलासम्म पनि सधेै देश र क्रान्तिका बारेमा चिन्तन मनन गर्दै आफ्नो जीवन नेपाली श्रमजीवि जनताको पक्षमा समर्पण गर्नु भयो । हामी बाचेकाहरु र कमरेड पुष्पलालले कल्पना गर्नु भएको राज्यसत्ताको वागडोर संचालन गरी रहेकाहरुले उहाँका योगदानको बारेमा चर्चा गर्ने र उहाँवाट सिक्नु पर्ने विषयहरु हाम्रा राजनीतिक जीवनमा कार्यान्वयन गर्न सक्यौ भने मात्र उहाँको स्मृति दिवशहरु मनाएको सान्दर्भिकता हुनेछ ।

१. नेपालमा कम्युनिष्ट विचारधारको विजारोपणः

पुँजीवादी शासनको साम्राज्य चलिरहेको बेलामा त्यसलाई चुनौती दिदै विकल्पमा महान दार्शनिक गुरु कार्लमाक्स र ऐगेल्सवाट प्रतिपादित भएको कम्युनिष्ट पार्टीको बैज्ञानिक समाजवादी सोच विश्वका कतिपय मुलुकहरुमा कार्यान्वयनमा आइरहेको बेलामा नेपालमा पनि उक्त विचारलाई फैलाउनु पर्दछ भन्ने सोचका साथमा २००६ सालमा कम्युनिष्ट पार्टीको घोषणापत्रको अनुवाद र वितरण गर्नु भयो ।

२. नेपाली समाजको पहिलो माक्र्सवादी विश्लेषण ः

कुनै पनि समाजको रुपान्तरणको लागित्यस सकाजको चिरफार आवश्यक हुन्छ भन्ने सोचका साथमा क पुष्पलालले सर्वप्रथम नेपाली समाजको सामाजिक अनुसन्धानका लागि ऐतिहासिक तथा भौतिकवादी सिद्धान्तका आधारमा नेपाली समाजको अध्ययन र अनुसन्धान गर्दै विश्लेषण गर्नु भएको थियो । यसै अनुसन्धानका आधारमा उहाँले नेपाली समाजमा विभिन्न बर्गहरुको विश्लेषण गर्दै नेपाली समाज अर्धसमन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको विश्लेषण गर्नु भएको थियो । यसै विश्लेषणका आधारमा नेपाली समाजको रुपान्तरणको लागि नीति तथा कार्यक्रम बनाउन योगदान रहेको थियो । नेपाली समाजको यहि विश्लेषणका आधारमा कम्युनिष्ट पार्टीले आफ्नो आन्दोलन संचालन गरि रह्यो भने नेकपा एमालेको आठौ महाधिवेशले बर्तमान अवस्थामा नेपाली समाजमा रुपान्तरण भई सकेको भन्दै नेपाली समाज मूलतः पुँजीवादी समाजमा रुपान्तरण भएको निश्कर्ष समेत निकालेको थियो । समाजको अवस्थाको विश्लेषणका आधारमा नै समाजको रुपान्तरणको कार्यक्रम बन्ने भएकोले यस विश्लेषणले अव नेपालको समाजिक रुपान्तरणको मुल कार्यक्रम समाजवादका आधारहरु निर्माण गर्दै समाजवादको बाटोमा अगाडी बढने समेत तय गरेको छ । यस विषयलाई नेपालको संविधानमा समेत दर्ज गर्न सफल भएको छ ।

३.नेपालमा कम्युनिष्ट पार्टीको विधिवत रुपमा स्थापना ः

नेपाली समाजको रुपान्तरणका लागि सहि विचारले मात्र हुदैन अव उक्त विचारलाई बोकेर हिडनका लागि बलियो र व्यवस्थित संगठनको आवश्यकता हुन्छ भन्ने सोचका साथमा सन् १९४९ अप्रिल २२ तदनुसार २००६ बैशाख १० मा ५ जना मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नु भयो भने बैशाख १२ गतेका दिन नेकपाको पहिलो पर्चा प्रकाशित गर्दै कम्युनिष्ट पाटीको सोच तथा विचारको बारेमा नेपाली जनतामा जानकारी गराउनु भयो । सन् १९४९ सेप्टेम्वर १५ मा नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र जारी गर्नु भयो । त्यस घोषणपत्रमा तत्कालिन नेपाली समाजको राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै नेपाल कम्युनिष्ट पार्टीको कार्यभार र नेपाली क्रान्तिका शत्रु तथा प्रतिकृयावादी तत्वहरुको साँठगाठका बारेमा विवेचना गरिएको थियो जसले नेकपालाई दिशानिर्देश गरेको थियो । त्यसै गरी उहाँले सिद्धान्त, संगठन र संघर्ष ३ सको राम्रो समन्वयवाट मात्र कम्युनिष्ट पार्टीले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दछ भन्ने महत्वपूर्ण विचार समेत प्रतिपादन गर्नु भयो ।

४. कम्युनिष्ट पार्टीको नीति तथा कार्यक्रमको निर्माणः

नेपाली कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनका लागि व्यवस्थित र बैज्ञानिक नीति तथा कार्यक्रमको बारेमा विभिन्न समयमा बहश छलफल भएको र यसैका आधारमा आन्दोलनमा उतार चढाव आएको थियो । यसै विषयमा आवश्यकता महशुस गरी कमरेड पुष्पलालले २०२५ सालको तेस्रो संमेलनवाट नेपाली क्रान्तिको नयाँ जनवादी कार्यक्रमलाई व्यवस्थित रुपमा प्रस्तुत गर्नु भएको थियो । यहि कार्यक्रम नै नेपालको कम्युनिष्ट आन्दोलनको मूल आधारको रुपमा अहिले विभिन्न कम्युनिष्ट पार्टीको कार्यक्रम निर्धारणको आधारको रुपमा रहेकोछ । यो नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा महत्वपूर्ण योगदान हो ।

५. नेपालमा संयुक्त जनआन्दोलनकोे कार्यनीति तथा कार्यदिशा

नेपालको निरकुश शासन व्यवस्थालाई समाप्त गर्नका लागि संपूर्ण पंचायती व्यवस्था विरोधी शक्तिहरुलाई एक जुट बनाएर मात्र नेपालमा पंचायती तानाशाही तथा निरंकुश शासनको अन्त्य गर्न सकिन्छ । यसका लागि संयूक्त जनआन्दोलन नीति अवलम्बन गर्नु अनिवार्य छ भन्ने दुरदृष्टि राख्ने पुष्पलालको नीतिकै आधारमा ०४६ र ०६२ सालको जनआन्दोलनहरु सम्पन्न भई नेपालमा बहुदलीय र गणतान्त्रिक व्यवस्थाको स्थापना भएको हो । यो दुरदर्शी कार्यनीतिलाई पहिलो पटक व्यवहारमा कार्यान्वयन उहाँकै कुशल कार्यकर्ता कमरेड मदन भण्डारीले नेपालमा सफलताका साथ सम्पन्न गर्नु भएको थियो । यो क पुष्पलालको अर्को एउटा अत्यन्त दमहत्वपूर्ण योगदान हो ।

६. प्रगतिशील साहित्यको लेखन ः

कमरेड पुष्पलालले नेपाली प्रगतीशील साहित्य लेखनको क्षेत्रमा पनि महत्वपूर्ण योगदान गर्नु भएको छ । कमरेड पुष्पलालले दार्शनिक ऐतिहासिक तथा राजनीतिक क्षेत्रमा आफ्ना कलमहरु चलाउनु भएको पाइन्छ। राजनैतिक क्षेत्रका विषयहरुमा पार्टी अधिवेशनका दस्तावेजहरु, विभिन्न घोषणापत्रहरु, हाम्रो मुलवाटो, नेकपा र यसको कार्यपदति, राजनैतिक समिक्षा प्रतिवेदनहरु, नेपाली कम्युनिष्ट आन्दोलनको संक्षिप्त इतिहास, नेपाली जनआन्दोलन एक समिक्षा, नेकपाको १८ वर्षको क्रान्तिकारी संघर्षको सिहावलोकन एवं शिक्षा, दस्तावेजको अध्ययन कसरी गर्ने र तीन स को सिद्धान्त, नेपालको परराष्ट नीति आदी विषयका गहन लेख तथा पुस्तकहरु छन् भने दार्शनिक क्षेत्रका रचनाहरुमा कम्युनिष्ट पार्टीको घोषणापत्रको अनुवाद र नेपाली समाजको ऐतिहासिक तथा भौतिकवादी विवेचना, नेपाल कम्युनिष्ट पार्टीको घोषणपत्र, नेपालमा मातृसतात्मक समाज, नेपालमा राजतन्त्रको उद्भव, विकास र भविश्य, नेपालको नयाँ जनवादी क्रान्ति आदी विषयलाई नेपालको कम्युनिष्ट आन्दोलनमा दिएको अमुल्य योगदानको रुपमा लिन सकिन्छ ।

ख) कमरेड पुष्पलालवाट सिक्न पर्ने विषयहरुः

१. कुनै पनि विषयमा सोच बनाउदा उक्त विषयका बारेमा राम्रोसंग विवेचना र विश्लेषणका आधारमा मात्र निर्णयमा पुग्नु पर्दछ ।

२. कम्युनिष्ट पार्टी र पार्टीका नेताहरुले आफ्नो कार्यसंपादान गर्दा बर्गीय पक्षधरताको सधै ख्याल गर्नु पर्दछ र समाजमा पछाडी परेको क्षेत्र तथा जनसमुदायलाई केन्द्र विन्दुमा राखेर मात्र कार्ययोजनाहरु बनाउनु पर्दछ । विकास तथा उत्पादनको उपभोगमा सधै तल्लो वर्गका जनता र समाजलाई प्राथमिकताकासाथ अगाडी ल्याउनु पर्दछ ।

३. जस्तोसुकै परिस्थितिमा पनि आफ्नो र राष्ट्रको स्वाभिमानलाई बचाइ राख्ने र कुनै पनि कार्यमा मितव्ययी बन्नु आवश्यकछ ।

४. आफुसंग भएको साधनश्रोतहरुलाई व्यवस्थित रुपमा उपयोग गर्दै आत्मनिर्भर बन्न पहल गर्नु पर्दछ । अरुको मुख ताक्ने र आफ्नो साधनश्रोतको सदुपयोग गर्न नचाहने हानिकारक सोच हो ।

५ं कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु सधै आदर्श र उदाहरणीय पात्रको रुपमा प्रस्तुत हुन सकियो भनेमात्र समाजले कम्युनिष्ट पार्टीलाई सधै आशा भरोसाकासाथ विश्वास गर्दछ र पार्टीका सोच तथा अभियानमा जनता उत्साहका साथमा लागि पर्नेछन् । अझ शान्तीपूर्ण र शंसदीय वाटोवाट समाजको रुपान्तरणमा हिडेको पार्टीका लागि त यो अति आधारभूत विषय हो । अहिले यस विषयमा ज्यादै आलोचना भएकोछ र यसलाई कम महत्व दिने कार्य भएमा कम्युनिष्ट पार्टीका लागि ज्यादै हानिकारक हुनेछ ।

६. कुनै पनि लक्ष्य निर्धारण गरे पछि उक्त लक्ष्य प्राप्तिका लागि जस्तोसुकै समस्याहरु आए पनि दृढताकासाथ लाग्नु नै सफलताको आधार हो ।

७. जातीय, साम्प्रदायिक तथा क्षेत्रीयतावादी भावनावाट राष्ट्रको विकास संभव हुदैन यस विषयको बकालतले समाजमा अनावश्यक विवाद श्रृजना गर्नेछ ।

८. आफुले लिएका विचार अनुसारको व्यवहार गरियो भने मात्र समाज र जनताको असल नेता बन्न सकिन्छ अन्यता नेता तथा कार्यकर्ताहरु काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भने झै हुनेछन् अन्यथा जनताले उक्त नेतालाई वास्तविक नेताका रुपमा मान्ने छैनन् ।

९. मानिस जति ठूलो ओहदा र स्थानमा पुगे पनि आफ्नो धरातलाई सधै संझनु पर्दछ र आफ्नो आधारहरु र सहयोद्धाहरुसंग सधै सुसम्वन्ध कायम गर्ने र उनीहरुको क्षमता तथा योगदानको हरहमेशा सम्मान गर्नु पर्दछ ।ः

निश्कर्ष ः

पुष्पलाल र वि पि नेपालको राजनैतिक इतिहासका उज्वल नक्षेत्र हुन । उहाँहरुको नेपालको राजनीतिमा आआफ्नै महत्वछ र उहाँहरुलाई नेपालको इतिहासले सधै संझनेछ । यस सन्दर्भमा हामीले लिने शिक्षा भनेको हामीले इतिहासवाट सिक्नु पर्दछ, । आफ्नो कार्यकालको निश्चित समयमा आत्मसमिक्षा गर्नुपर्दछ, आलोचनावाट पनि सतर्क हुने र सकरात्मक विषय खोज्नु पर्दछ । आफुलाई भन्दा तलका र सहयोद्धाहरुमा जीवन्त सुसम्वन्ध कायम गर्नु पर्दछ र यसो गर्न सकियो भने मात्र राष्ट्र, जनता र कार्यकर्ताको असल मान्छे बन्न सकिन्छ । अन्यथा शक्तिमा रहदा त मानिसहरु अधिपछि हिडने र ज्यु हजुर गर्लान तर शक्तिवाट बाहिर पुगे पछि भने उसलाई सोध्ने र संझना गर्ने व्यक्ति विरलै पाइनेछ । कमरेड पुष्पलालको जन्म दिवशको यस अवशरमा हामी सवैमा यहि सन्देश प्रवाह गरोस कमरेड पुष्पलाल प्रति हार्दिक श्रदा सुमन ।

6 श्रावण, २०७७

प्राप्त प्रतिकृयाहरू

To Top