कोरोना महामारीले विद्यार्थीमा पारेको प्रभाव  

समाज साउन ६ 2077 ekhabarnepal
Indira aryal

इन्दिरा अर्याल 
“मानव स्वास्थ्यमा औषधिको असर” विषयमा अध्ययन गर्ने योजना बुनेकी रिया ढकाल अहिले निकै अलमलमा छिन् । एसइइ परीक्षामा नेपाल प्रथम हुने, छात्रवृत्तिमा नाम निकालेर विज्ञान विषय पढ्ने, त्यतिन्जेल नेपालमै यो विषयमा पढाइ भएमा नेपाल मै अन्यथा फिलिपिन्स गएर पनि पढ्ने र नेपाल फर्केर स्वास्थ्य सेवामा योगदान दिने उनको रहरमाथि अनेकौं प्रश्न खडा भएका छन् । 
एसइइ परीक्षा दिन नपाएपछि आफ्नो मेहनतको स्तर जाँच्न नपाइने चिन्ताले उनलाई असाध्यै पिरोलेको छ । ११ र १२ कक्षा पढ्नको लागि आफुले चाहेको ठाउँमा गएर पढ्न नपाइने पो होकि भन्ने अर्को प्रश्न पनि छ । अन्यौल, प्रश्न र निरासाको बीचमा उनले आफ्नो सपनाबारे चिन्तन गर्न थालेकी छन् । अवस्था जे भएपनि विज्ञान विषय लिएर राम्रो कलेजमा पढ्ने उनले बिचार छ । तर उच्चशिक्षाको लागि बलियो आधार एसइइको लागि विद्यालयद्वारा पठाइने नम्बरमा काठमाण्डौंका केही विद्यालयले मनोमानी तरिकाले पूर्णाङ्कभन्दा धेरै नम्बर पठाएको समाचार सुनेपछि भने उनलाई दिक्क लागेको छ । 
पछिल्लो २ वर्षदेखि दैनिक ६ घण्टा भन्दा वढी पढ्ने रियाको पढाइतालिका कोरोना महामारीले केही दिन प्रभावित भएपनि अहिले भने उनी पुरानै अवस्थामा फर्केकी छन् । उनी भन्छिन्—“पढ्ने स्कुलमा गएर मात्रै होइन रहेछ केही किताबका कुरा र त्यो भन्दा वढी इन्टरनेटको माध्यमबाट पढ्दै र सिक्दै छु ।” कोरोनाको कारण पढाइ रोकिएपछि केही दिन बिचलित उनले आफ्नो अवस्थालाई सहज बनाइन् । उनी एसइइमा ४ जीपीए ल्याउने मानसिकतामा थिइन् । त्यसको लागि गरेको मेहनतवाट सन्तुष्ट थिइन् । तर मेहनतको प्रतिफल नपाइने भएपछि नमिठो अनुभव छ । 
यो अनुभूतिलाई शब्दमा उतार्दै भनिन्—“एक हजार मीटरको दौडमा हिँडेको मान्छेलाई तीन सय मिटरमा रोकिनुपर्दा कस्तो हुन्छ ? अहिले त्यस्तै भएको छ मलाई । केही दिन त निदाउनै सकिन । मनमा छटपटी भयो । खानपनि मन लागेन । मेरो बाबा र आमा दुबै स्वास्थ्यकर्मी भएकोले मेरो अवस्था बुझेर सम्झाउनुभयो । म आफैले पनि आफ्ना कुरा भन्नसक्ने शिक्षकसंग फोनमा कुरा गरेँ । त्यसपछि बल्ल थोरै भएपनि मन हल्का भयो ।”  
उनी अहिले आफ्नो सपना र योजनाकै बाटोमा छिन् । इन्टरनेटको माध्यमवाट आवश्यक जानकारी ँिलदैछन् । । यसैबीच उनले संयुक्त राष्ट्रसंघको एउटा प्रतियोगितामा सहभागी हुने मौका पाइन् । उनी अहिले त्यही नेटवर्कका विभिन्न कार्यक्रममा सहभागी भएर नेतृत्त्व विकाससम्वन्धी कार्यक्रममा सहभागी हुन्छिन् । 
कोरोना महामारीका नकारात्मक प्रभाव धेरै छन् । इन्टरनेटको माध्यमबाट पढ्ने केही विद्यार्थीले अवसरको दुरुपयोग गर्दै मोबाइल तथा कम्प्युटरमा पप्जी लगायतका कम्प्युटरगेम खेलेर समय बिताइरहेका छन् । 
बुटवल उपमहानगरपालिका—१३ की मायाँ बेलबासेको अनुभवमा १२ कक्षा पढ्ने छोरा मोबाइलमा खेल्छ । गेमकै तालमा हाँस्छ, ताली पिट्छ, गाली गर्छ । खाने बेलामा खाँदैन । रातभर नसुतेर गेम खेल्छ । कहिलेकाही सुतेको वेलामा हाम फालेर एउटा वेडबाट अर्को वेडमा झम्टन पुग्छ । छोरीको अवस्था पनि फरक छैन । छोरी जतिवेला पनि टिकटक बनाउन व्यस्त हुने । प्रायः अभिभावकलाई छोराछोरी पढ्न जाँदा धेरै कम चिन्ता हुन्थ्यो । घरमा वस्दा विभिन्न समस्या सृजना भएका छन् । धेरैले त वल्ल विद्यालयको महत्व वुझ्दैछन् । विद्यालयमा अध्ययन गर्नेमात्र हैन, सस्कार, रहनसहनलगायत धेरै कुरा सिक्ने रहेछन् । 
यो समस्या कुनै एकजनाको मात्र हैन । आम अभिभावकहरुको हो । 
यद्यपि स्कुले विद्यार्थीहरूलाई बन्दाबन्दीले परिवार, छिमेक, आफन्त र समग्रमा समाज चिन्ने मौका भने जुटाईदिएको छ । उनीहरूले परिवारको अवस्था बुझ्दैछन् । दुःख सुखको अभ्यास गर्दैछन् । मिलेर संगै काम गर्ने र संगै आराम गर्ने जस्ता राम्रा अवसर उनीहरुलाई जुरेको छ । तर केही परिवारमा मोवाइल, इन्टरनेट, कम्प्युटर, टिभी र मोबाइलको अत्याधिक प्रयोगले संगै बस्दा पनि दुरी झन् बढिरहेको अवस्था छ । आफुले चाहेको समयमा भनेजस्तो कुरा हेर्न नपाउँदा केही किशोरकिशोरीहरू अनावश्यकरुपमा झर्किने, रिसाएर घर छोडेर हिँड्ने, बुवाआमालाई घुर्की—धम्की दिने जस्ता काम पनि भइरहेका छन् । यस्तो किसिमको अवस्था सिर्जना हुनु सम्बन्धित् परिवारको मात्रै नभएर सिंगो समाजकै चिन्ताको विषय हो । 
किशोरकिशोरीहरूको शिक्षा तथा स्वभावमा देखिएको यस्तो प्रवृत्तिको असर दीर्घकालसम्म पर्ने देखिन्छ । मनोरोग विशेषज्ञ डा.सन्दीप सुवेदी आफुकहाँ स्वास्थ्य समस्या लिएर आउने केही विद्यार्थीहरूमा मनोसामाजिक असर देखिएको औल्याउनु भयो । टाउको दुख्ने, खान मन नलाग्ने, निन्द्रा नलाग्ने, तर्सने, मुर्छा पर्नेजस्ता समस्याको स्वास्थ्य संस्थामा उपचार गराउँदा पनि निको हुन नसकेपछि स्वास्थयकर्मीहरूकै सल्लाहमा आफुकहाँ आउने गरेका किशोरकिशोरीमा विभिन्न प्रकारको मनोसामाजिक समस्या देखिने गरेको बताउँदै कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीमा यस्तो समस्या केही वढी रहेको उहाँले बताउनु भयो । परिवारमा अभिभावकले उनीहरूको रुचि, चाहना र आवश्यकता बुझि सकारात्मकरुपमा परामर्स दिँदा समस्या आफैपनि हल हुने बताउँदै खानपान, योग, ध्यान तथा घरायसी काममा उनीहरूलाई आफुसँगै व्यस्त राख्ने र अनलाईन तथा अन्य बैकल्पिक विधिद्वारा अध्ययन गर्ने कुरामा अझै निगरानी बढाउनुपर्ने सुझाव डा.सुवेदीको छ । केही किशोर किशोरीलाई भने औषधि नै चलाउनु परेको उहाँले खुलाउनु भयो । 
लकडाउन र अहिलेको अवस्थामा केही विद्यार्थीहरूले भने रहर लाग्दा सिर्जनशील काम गरेका छन् । बन्दाबन्दीले विद्यार्थीको पढाइ बिग्रियो भनेर अभिभावकमा पिरलो बढेकाबेला अरु वेलाभन्दा झन् बढी लेख्ने, पढ्ने, चित्र कोर्ने, गीत, कविता लेख्ने, गाउने, बाचन गर्नेजस्ता कामपनि गरेकाछन् । हामीलाई लाग्नसक्छ, हुनेखाने घरपरिवार र इन्टरनेटको सुविधा भएका परिवारका विद्यार्थीले पो गरे अरुले कहाँ सक्छन् र ? तर अवस्था त्यस्तो मात्रै देखिदैन । आर्थिकरुपमा बिपन्न र इन्टरनेटको सुबिधा नभएका घरका विद्यार्थीले पनि केही न केही सिर्जनाका काम गरेकाछन् । परीक्षा सकेर नतिजा नआउँदै कोरोनाको बन्दाबन्दी भएपछि पढाइ बन्द गरेका केही विद्यार्थीहरू चाँहिं यो वेला दैनिक ज्यालादारी काम गरेर पछिको पढाइको लागि खर्च जुटाउने काममा समेत लागेका छन् । 
देवदह माविको  कक्षा १० मा पढ्ने सरोज चिदी मगर आजकाल प्लाष्टिक, फालिएका सीसाका बोत्तल र धागोले घर सजाउने, राम्रा राम्रा कागजीफुल र गमला आदि बनाउनमा व्यस्त छन् । यस्तो काम उनले पहिले पनि गर्थे । बनाएका कागजी फुलहरू डेढसय देखि तीनसयसम्ममा बेच्थे र पढाइ खर्च जुटाउँथे । नजिकमा मेलामहोत्सब हुँदा अलि धेरै बनाएर बेच्न सकेको बेला घरखर्चको लागि बाआमालाई पनि केही पैसा दिन्थे । विद्यालयबाट हुने शैक्षिक भ्रमणमा उनले त्यही फुल बेचेको पैसाबाट नै पु¥याउँथे । यस कोरोना महामारीको बन्दको समयमा सरोजलाई फुल बनाउने राम्रो मौका जुरेको छ । उनी भन्छन्, “दश कक्षामा गएपछि कोचिङ्ग, ट्युसनमा धेरै खर्च हुन्छ । बिहानैदेखि साँझसम्म स्कुलमा हुँदा भोक पनि लाग्ला । नास्तापानीमा पनि खर्च होला । यी सबै कुराको बारेमा सोँचेर अहिले पढाइ नभएको वेलामा फुलको कामलाई निरन्तरता दिएको छु ।” विद्यालयका शिक्षकहरूले घरघरमा पुगेर गृहकार्यको प्रश्नपत्र बाँडेकोले सरोजले घरमा साँझविहान समय मिलाएर दैनिक ४ घण्टा पढाइलेखाइ गर्ने गरेका छन् भने अरु बेला फुल बनाउने काममा व्यस्त हुन्छन् । सरोजका अभिभावकलाई खाली बसेर छोरो बिग्रियो भन्ने महशुस हुन पाएको छैन । 
सरोजले आफुसँगै पढ्ने केही साथीहरूलाई पनि यो काम सिकाएर समयको सदुपयोग गर्न सिकाएकाछन् । विद्यालयले सुरुमा घरघरमै पुगेर गृहकार्य छोड्ने गरेकोमा अहिल भने विद्यालयमै बोलाएर अर्को साताको गृहकार्य दिने गरेको छ । आफ्नो पालोमा सरोज गृहकार्य बुझाउन विद्यालयमा आउँछन् । उनले सरहरूले दिने गरेको गृहकार्यभन्दा बढी पनि गर्ने गरेका छन् । “सरोज लगनशील छ” सरोजको प्रशंसा गर्दै शिक्षक मेघराज घिमिरेले बताउनुभयो । १२ कक्षा पास गरेर देश जनताको सेवाको नेपाल प्रहरी वा सेनामा भर्ती हुने सरोजको सपना छ । आफ्नो पढाइको खर्चकोलागि सकेसम्म आफुले नै केही गर्ने र पुगनपुग खर्चमात्र अभिभावकबाट लिन ऊनी मन पराउँछन् । 
अझैपनि कोरोनाको त्रास कायमै छ । केही किशोरकिशोरीले यो बेला राम्रा काम गरेको भएपनि ऊनीहरूको औपचारिक शिक्षामा भने ठूलो धक्का लागेको छ । विद्यार्थीहरू पहिलेको अवस्थामा विद्यालयमा गएर सजिलोसँग साथीसंग  रमाइ रमाइ पढ्न पाएका छैनन् । मनमा गुम्सिएका भावनाहरू  साथीहरूसँग साट्न पाएका छैनन् । असीमित सपना बुन्ने, आफुले जानेको र लागेको कुरा मात्रै ठीक हो भन्ने ठान्ने निकै उतारचढावको उमेर हो यो किशोरावस्था । त्यसैले यो वेला बन्दाबन्दीले आफैपनि अलमलमा परेका किशोरकिशोरीहरूलाई उपयुक्त मार्गदर्शन गर्न अभिभावक, शिक्षक र सरोकारवाहरूले अझै संवेदनशील भएर सोँच्नु र व्यवहार गर्नु आवश्यक छ । 

प्राप्त प्रतिकृयाहरू

To Top