असोजसम्म गाडी र लाइसेन्स नवीकरणमा जरिवाना नलाग्‍ने

राजनीति साउन १ 2077 ekhabarnepal
Pradesh 5 press meet

बुटवल, साउन १ 
प्रदेश ५ सरकारले यातायात क्षेत्रको शुल्क तथा दस्तुरमा लाग्ने विलम्ब शुल्क मिनाहा गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ का कारण भएको लकडाउनका कारण सवारी र लाईसेन्स नवीकरण गर्न नपाएका गाडी धनी र चालकलाई आउँदो असोज मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको हो।

यो निर्णयवाट व्यवसायीलाई थोरै भएपनि राहत मिल्ने विश्वास प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीको छ ।  गाडीधनी र चालकहरुले गाडी चलाउनै नपाई कर तिर्नुपरेकोले असारमसान्तपछि लाग्ने जरिवाना छुट गर्न माग गर्दै आएका थिए।

यो निर्णयसँगै प्रदेश सरकारले प्रदेश ५ मा गाडी नचलाएका व्यवसायीहरुले गाडी चलाउने विश्वास गरेको छ। एउटै जिल्लाभित्रमात्रै गाडी चलाउने विषयमा पनि छलफल भैरहेको छ, मन्त्री चौधरीले भने–कम्तीमा छोटो दुरीका भनिने बुटवल–बर्दघाट, बुटवल–तानसेन र बुटवल–वाणगंगासम्म र यस्तै अरु जिल्लामा नजिकका रुटहरुमा गाडी चलाउन पाउनुपर्छ भन्ने कुरा आइरहेका छन्, यसबारे पनि छिटै निर्णय हुन्छ।’

उनले व्यवसायीका अरु मागका विषयमा सरकारले छलफल गरिरहेको र छिटै निकास निकाल्ने बताए। ‘प्रत्येक जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीहरुसँग व्यवसायीको छलफल भैरहेकै छ, उनले भने–प्रमुख जिल्ला अधिकारीहरुले पनि प्रदेश सरकारसँग समन्वय गरेर निर्णय गर्ने भन्‍ने भएकाले हामी पनि यसबारे छिटै निर्णय गर्नुपर्छ भन्‍नेमै छौं।’

मन्त्रिपरिषदको बैठकले प्रदेश सभाका पदाधिकारीको सुविधामा हेरफेर गर्ने निर्णय गरेको छ। ‘प्रमुख प्रतिपक्षी दलको सचेतकलाई सत्तापक्षको सचेतक सरह सुविधा दिने भन्ने कुरा संसोधन हुन लागेको हो’–उनले भने।

यस्तै बैठकले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७५ दोस्रो संशोधन स्वीकृत गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका निकायबाट प्रदान गरिने सेवावापत लिइने सेवा शुल्क तथा दस्तुरहरुको दररेट स्वीकृत गर्ने निर्णय गरेको मन्त्री चौधरीले बताए।

यस्तै बैठकले कृषिमा सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रम सञ्चालन कार्यविधि २०७६ को पहिलो संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै सहकारी विकास कोष परिचालन कार्यविधि २०७७ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद वैठकले गरेको प्रवक्ता चौधरीले बताए।

प्राप्त प्रतिकृयाहरू

To Top